Techie IT
मंगलबार, माघ ८,२०८१

मेरो गाउँ


रमेश तिमल्सिना

आँखाले केही नयाँ देखुञ्जेलमात्र रहेछ यो सहरको रौनक । जब आखा पुरानो हुन्छ तब त्यहि पुरानो गाउँ नयाँ लाग्ने रहेछ ।

यो मेरो नितान्त व्यक्तिगत अनुभव नै हो । यो अनुभव मेरो निजी क्रियाबाट जन्मिएको हो । कत्ति ठिक कत्ति बेठिक त्यो अरूमा भर पर्ने कुरा हो तर मेरो विचार ठिक हो यो मेरो विचार हो । नयाँ आँखाले त्यहि देख्यो जहाँ अनगिन्ती मान्छेहरू, ठूलाठूला महलहरू र अटसमटस सहर । म सुरूसुरूमा रमाएँ, घुमेँ, यात्रा गरिरहेँ रमाइलो लाग्यो खुसी भएँ यत्ति । तर अस्तित्वको मामलामा त भताभुङ्ग पाएँ । कसैले कसैलाई चिन्दैन यहाँ, आफ्ना भन्नेहरूको स्वार्थीपन धेरै छ यहाँ ।

दया,माया,प्रेम,सद्भाव,सरसहयोगजस्ता मानवीय भावनाहरू बिकाउ छन् यहाँ । पैसामा जे पनि गर्छ यो सहर । ऊ त बिकिसकेको छ र त अरूलाई बिकाउन चाहन्छ । केही नयाँ झैँ गर्छ, मान्छे त्यतै तान्छ अनि अन्त्यमा ॐ तत् सत् ।  खै त यो सहरको अस्तित्व ? मेरो गाउँ बरू सानो छ, बुढाबुढीहरू धेरै छन्, युवाहरू छैनन् तर स्वतन्त्र त छ, अस्तित्व त पूर्ण नै छ अझैसम्म ।न कसैको हस्तक्षेप न त कसैको प्रभाव नै । म भन्दिनँ सबै परिपूर्ण नै छ तर मेरो गाउँमा केही अभावमा रहेर सङ्घर्ष गर्नुमा धेरै नै मजा छ । अभाव त केमा हुन्न र रु कसमा हुन्न र रु अभावको अभाव पनि त पूर्ण नै त हो ।

यहाँ सम्मान, इज्जत, प्रतिष्ठा स्वभाव बनी हरेकको मनभित्र रहेको छ । यत्ति त भन्न सक्छु कि मेरो गाउँलाई आकाशले उज्यालोबाट कहिल्यै रोक्दैन, चन्द्रमालाई शीत झार्न गारो हुँदैन । मृत्यु पनि यहाँ खुलेर मरिरहेको छ, रमाउन उसलाई पनि मन छ र त ऊ पनि सुन्दरतामा रमाइरहेको छ ।खुसी लाग्छ प्रेमको परिपूर्ण अवस्थामा सजिएको आफ्नै गाउँ देखेर । सुखी त नहोला तर पनि दुःखमा खुसी हुन सिकेको छ । आफ्नो बाआमाको वास्ता नगर्ने यो सहरको दुनिँयामा मेरा सातपुस्ता त अझै जीवन्त भएको महसुस भइरहन्छ ।

मेरो सातपुस्ता अघि बाले रोप्नुभएका वर्षौँ पुराना वरपिपलका रूखहरू अझै शीतलता दिन बसिरहेकै छन् । त्यहि चौताराहरू छन् जुन सबैलाई अहिलेसम्म आह्वान गरिरहेकै छ । खुलेर,खेलेर बाँच्न सिकाएको त्यहि माथिको वन अझै खुल्न सिकाइरहेको छ । यिनै त हुन् मेरा बाआमाका अमर इतिहास जुन अहिलेसम्म मेरा नयनका प्रत्यक्ष विषय बनिरहेका छन् । गाउँ त सधैँ शान्तभावमा बोलिरहन्छ कि “ल हेर् तेरा बाआमाले जन्माएको म” भनेर । हुन पनि किन नहोस् त कति मिहिनेत थियो होला, कति बाधा, अप्ठ्याराहरू थिए होलान् ।

तर लाग्छ मन्त्र बोलिरहेको छ मेरो गाउँले । म त केवल सुन्ने बहाना गरिरहेको त छु । अस्तित्व त भावना नै त हो तर लाग्छ मेरो गाउँमात्र यसको जीवन्त उदाहरण हो मेरा बाआमाले ढिकी, जाँतो धन्न बनाउनुभएछ र त अहिले घमण्ड गर्न पाइन्छ आधुनिक विज्ञानको आविष्कारको दुनिँयामा । मैले देखिनँ होला पहिला कसरी नुनतेल पुग्थ्यो भनेर, कसरी घरहरू बन्थे भनेर तर म यत्ति पनि अबुझ छु जस्तो त लाग्दैन । मैले त मेरै आमा, हजुरआमाबाट सानोमा कथाजसरी सुनेको छु । दन्त्यकथा जस्तै गरी कलाले सिँगारेर सुनाउनु हुन्थ्यो मलाई ।

अहिले दुध डेरीबाट आउँछ भन्ने जनमानसमा त म धेरै बुझ्ने र जान्ने छु । यो मेरो अहम्ता अनि घमण्डीपन नै हो । त्यस्ता दुःखका कुराहरू साटासाट गरेर पुस्तान्तरण भएर त्यहि ठाउँमा मैले सुन्ने सौभाग्य प्राप्त गरेँ त म धन्य भएँ । अहिले के के जाति समाजवादका परिभाषा बनाउनेहरूले पनि सुनून् कि मेरो गाउँमा तिमीहरूको समाजवाद असफल हुन्छ, हस्तक्षेप गरेर सिङ्गोलाई टुक्र्याउने काम नहोस् । समाजवादभन्दा माथि मानवताको भावनामा अडिग छ मेरो गाउँ । बरू आउ एक कप चिया र एक छाक खाना खुवाउँला ।
केवल अब मेरो इच्छा यही छ कि यो बेकामे सहरबाट चाँडै गाउँ फर्कन सकूँ । अरू सबैलाई आह्वान गर्न सकूँ । सबै अब गाउँ फर्केर आऊन् र केही गरून् ।

परदेशीहरू रातदिन सम्झेर बसिरहेका अवस्थामा गाउँमा रातदिन खुसीसँग बस्न सकून् । सरकारप्रति अनुरोध छ कि गर्नुपर्ने केही छैन बश इमान्दारिता र उत्तरदायी बनिदिनु । यति भए बन्छ मेरो गाउँ । खुसी हुन त जानेकै छन् नि मान्छेहरू बश भरोसाको आड लगाइदिनू ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #ramesh timalsina, #मेरो गाउँ, #रमेश तिमिल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
15°
Fair
6:53 am5:36 pm +0545