कुरा हैन काम गरेर देखाउ सरकार

मोतीराज खनाल
नेपाल घुम्न आउने विदेशी पाहुनाहरुले यहाँको अन्तर्राष्ट्रिय विमानस्थल, बाटाका खाल्टाखुल्टी, यत्रतत्र छरिएका बिजुली र टेलिफोनका तार, अव्यवस्थित रूपमा बनाइएका सहरका घरहरु, बाटामा गाडीको जाम र विदेश जाने युवाको लर्को देखेर यहाँ नभएको महसुस गर्दा हुन् । ती पाहुनाहरुलाई वर्षमा दुई तिन पटक फेरिने सरकारबारे के थाहा । सरकार हुँदैमा बिकास हुने भए नेपालमा जति विकास अरू कुनै पनि देशमा हुँदैनथ्यो कि ? नेपालमा बनेका सरकार जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै भएको छ । जनताका दुःख ज्युँकात्युँ छन् ।
नेपाललाइ स्वर्ग बनाउँछु भन्ने कति आए ? देशको नाममा कति शपथ खाए ? ती शपथ लाग्ने भए अहिलेसम्म धेरैजसो नर्कमा पुगिसकेका हुन्थे । मैले गर्छु भनेर कुर्लनेले नै देशलाई खोक्रो बनाएर जान्छ । जो चोर उसैको ठुलो सोर भनेजस्तै काम नगर्ने अनि सतीले सरापेको देश भनेर उम्किन पाइन्छ ? विकास मोडलबारे अहिलेसम्म जनतासँग सल्लाह सुझाव लिएको थाहा छैन । विकासको ढाँचाका लागि देशका विद्वानहरुको समूहलाई बैठकमा डाकेर समृद्ध नेपालको खाका कोर्न सक्नेलाई राष्ट्रले सम्मान गर्नुका साथै पुरस्कारको व्यवस्था गर्ने हो भने सबैले आआफ्नो तरिकाले खाका कोर्ने थिए । राम्रो खाकाअनुसार काम गर्दै जाने हो भने नेपाल बन्न धेरै समय लाग्ने थिएन । यहाँ त विद्वान्हरुको खोजी कसैले गर्दैन । विकास निर्माणबारे सुझाव माग्दा आफ्नो कमजोरी अरूले थाहा पाउलान् भन्ने डरले बुझ्ने र सुझाव लिने काम गरिँदैन । यस्ता पाराले देशको विकास कसरी होला ? हाम्रो देशमा उद्योग कलकारखाना खुल्लान्, रोजगारी सिर्जना होला, बेरोजगार युवायुवतीले रोजगारी पाउलान् र समृद्धि आउला भन्ने कल्पना नगरे हुन्छ । शिक्षा, स्वास्थ्य, गास–बास–कपास गरिब जनताको पहुँचसम्म पुग्ला भन्ने आस गर्ने सबै आसमै बुढिनेछन् । पहिले खाली खुट्टा हिँडने यी नेताहरुले सहरमा महल ठडाएपछि जनताबारे किन सोधखोज गर्थे ।
आसेपासे नालनाता कुटुम्ब र चाकरीबाजहरुलाई जागिर लगाइदिएर करोडौं पर्ने गाडी मा हिँड्दैमा विकास हुन्छ ? चुनावका बेला ज्यू हजुरका साथै यो गर्छु त्यो गर्छु भन्दै फेहरिस्ता टिप्ने अनि जितेपछि सिन्को नभाँच्ने काम हुँदै छ । राणा शासन, पञ्चायती व्यवस्था गणतन्त्र सबैमा जनताका दुःख उस्तै । सत्तामा हुँदा सिन्को नभाँची अरुले काम गर्न नदिएको आरोप लगाउन लाज मान्दैनन् ।
काम गर्न नदिनेलाई कहिल्यै जनताको बिचमा उभ्याउने काम पनि गरिँदैन । उभ्याए त जनताले ठिक पर्दा हुन् । सेना, पुलिस, कर्मचारी प्रशासन शाखा, उपशाखा सबै सरकारकै मातहत हुन्छन् । काम गर्न दिएनन भन्दै हिँड्न लाज नहुने । काम नगर्नेलाई कारबाही गर्ने अधिकार उसमा छँदै छ तथापि भ्रष्टाचारी घुसखोरीहरुलाई कारबाही गर्न नसक्नु कसको कमजोरी होला ।
उनीहरुसँग गरिएको लेनदेनको भागबन्डाले रोक्ला । अरु कारण छैन ।
नेपालका नेताहरुको सम्पति जादु मन्तर गरे जस्तै बढिरहेको हुन्छ । यसबारे जानकारी जनताले पाउनुपर्छ । अझ अवैध रुपमा आर्जित सम्पत्ति ससुराली र नालनाताकोमा राखिएला ।
राजनितीक दललो खोल ओढेर गद्दारी गर्नेहरुलाई पनि यहाँ छुट छ । म यो दलको म ऊ दलको भन्दै चन्दा आतंकदेखि लुटतन्त्र चलाउने दलाल, शोषक, सामन्ति र पुँजीपति वर्गको संरक्षण गर्नेहरुले जनताको प्रतिनिधित्व गर्लान् भन्ने आस हराइसकेको छ । दिनका दिन युवायुवतीहरु विदेश पलायन हुँदै छन् । दैनिक हजारौं युवाहरुले पासपोर्ट बनाउँछन । नेपालमै बसेर केही गरौं, आफ्नै देशमा पसिना बगाऊँ भन्ने भावना हुँदाहुँदै पनि बिदेसिनुपर्ने बाध्यता छ । यहाँ बस्दा राज्यले काम दिन सक्दैन । जागिर पाइँदैन, चम्चागिरी गर्न जानिदैन । के गरेर बस्ने भन्ने आम युवाहरुको भनाइ रहेको छ । देशका बलिया खम्बा होनहार युवाहरु विदेश गएपछि देश कसरी अगाडि बढ्न सक्छ र ? काम गर्ने जनशक्ति कोही कामका लागि कोही पढाइका विदेश अनि गाह्रो काम गर्न नसक्ने बुढापाकाले काम गरेर कसरी हुन्छ देशको विकास ।
भएका जग्गा जमिन बाँझै राखेर विदेश जानेको लर्को छ । विदेशबाट पठाएको पैसाले सहरबजारमा एउटा घडेरी जोड्यो भने के के न ग¥या जस्तो गर्छन् । आफ्नो पुर्खौली जग्गाजमिनको अवस्थाबारे पत्तै छैन । सरकारको त्यतातिर ध्यान जान सकेको छैन । नेपालमा उत्पादित वस्तुहरु प्रयोग गर्न प्रेरित गर्ने, उद्योग कलकारखाना खोल्ने, बेरोजगार युवालाई रोजगारी दिने, बाटोघाटो मठमन्दिर बनाउने, कृषिमा क्रान्ति ल्याउन युवा परिचालन नगरी कसरी सम्भव हुन्छ र ? यो कुरा सरकारले बुझ्न जरुरी देखिन्छ तर सरकारको गाडीले बाटो पहिल्याउन सकेको छैन । सेना पुलिसहरु पनि विकास निर्माणमा लगाउनु जरुरी देखिन्छ ।
आफ्नै देशमा केही गर्छु भन्ने जोस जाँगर भएका युवाहरुलाई ऋण दिने काम गरे नगरेको निगरानी गर्ने यी सानातिना काम त गर्न सकिन्छ होला नि । छिटो भन्दा छिटो बेरोजगारी अन्त्य गर्ने बाटो अवलम्बन गर हैन भने विदेशबाट आएको रेमिट्यानसले देश धान्न कठिन हुनेछ । चाँडोभन्दा चाँडो गाउँ सुधार अभियान नचलाउने हो भने भयावह अवस्था आउने छ । श्री पशुपति नाथले सबैलाइ सद्बुद्धि प्रदान गरून् ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #मोतीराज खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्