Techie IT
बुधबार, माघ २,२०८१

संखुवासभामा रहेको मकालु आरोहणको ६५ वर्ष, यस्ता छन् आठ रोचक तथ्य


६५ वर्षअगाडि आजकै दिन मकालु हिमालको पहिलोपटक सफल आरोहण भएको थियो। ८४६३ मिटर उचाइको यो हिमाल संखुवासभा जिल्लामा छ।

विश्वको पाँचौं अग्लो शिखर मकालुको पहिलो आरोहण दल फ्रान्सको थियो। सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलोपटक शिखरमा पुगेका थिए।

उनीहरु मकालु हिमालको पश्चिम मोहडाबाट शिखर चुम्न सफल भएका थिए। प्रथम आरोही दुवै जीवित छैनन्। सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि भएको आरोहणले मकालु आरोहणको सफलता आममानिसमा चर्चाको विषय बनेन। यद्यपि, मकालु आरोहणका केही तथ्य भने अत्यन्तै रोचक छन्। यी हुन् राेचक प्रसंग ः

१. सगरमाथाका प्रथम आरोहीले आरोहण गर्न नसकेको हिमाल

सुन्दा सामान्यजस्तो लाग्छ। तर, सगरमाथा शिखरमा सबैभन्दा पहिले तेन्जिङ नोर्गेसँगै पुगेका एडमन्ड हिलारीले मकालुको आरोहण गर्न सकेका थिएनन्। उत्तरपश्चिम मोहडाबाट आरोहण गर्न खोजेका हिलारी २३ हजार फिट उचाइमा पुगेर फर्किएका थिए। लियोनर टेरीको पुस्तक ‘कन्किस्तादोर्स अफ द युजलेस’ मा यसबारे उल्लेख छ।

२. चो ओयु अर्थात् चौथो अग्लो शिखर त्यागेर पाँचाैं अग्लो मकालु आरोहण

फ्रान्सेली टोलीसँग त्यति बेला पहिलोपटक आरोहण गरेर कीर्तिमान कायम गर्न चो ओयु र मकालु बाँकी थिए। सगरमाथा आरोहण भइसकेको थियो।

माउन्ट केटुदेखि कञ्चनजंघाजस्ता विश्वका दोस्रो र तेस्रोे शिखर आरोहणको अनुमति क्रमशः इटाली र बेलायती टोलीले पाइसकेका थिए। तर, फ्रान्सेली टोलीले चो ओयु नरोजेर मकालु नै रोज्यो।

पुस्तकमा टेरीले चो ओयु एक हिसाबमा सगरमाथाको दक्षिणी खण्ड मात्रै भएको तर्क गरेका छन्। चो ओयुको तीन चौथाइ रुट स्विस र बेलायतीले पत्ता लाइसकेकाले आरोहण गरेर कीर्तिमानी कायम नहुने उनको ठहर थियो।

पहिलोपटक मकालु शिखर चुमेपछि जिन कोजी।

३. तेस्रो प्रयासमा सफलता

फ्रान्सेली आरोहण दल तेस्रो प्रयासमा मात्रै शिखर चुम्न सफल भएको थियो। त्यसअघि हिलारीले प्रयास गरेका थिए।

उनीअगाडि सन् १९५४ मा अमेरिकी आरोहण दलले पश्चिमपूर्वी मोहडाबाट शिखर पुग्न प्रयास गरेको थियो। दुवै असफल भए। अन्ततः पश्चिम मोहोडाबाट कोजी र टेरीको टोली आरोहण गर्न सफल भयो।

४. अन्नपूर्ण शिखरमा पहिलोपटक पुग्ने दलकै सदस्यबाट आरोहण

१९५० को जुन ३ मा एक फ्रान्सेली आरोहण दलले अन्नपूर्ण हिमालको शिखर चुम्यो। मौरिस हरजग पहिलोपटक शिखरमा पुगेका थिए। त्यो आरोहण अन्नपूर्णको मात्रै थिएन, आठ हजारभन्दा अग्लो शिखरमा मानवले पाइला राखेको पहिलो क्षण थियो।

त्यही टोलीका एक सदस्य थिए लियोनर टेरी। टेरीले आफ्ना साथी जिन कोजीसँग मकालुको शिखरमा पाइला राख्ने ऐतिहासिक सफलता पाए।

makalu-base-camp

५. आरोहण दल आधार शिविर आएलगत्तै नाम्चेतर्फ

मकालुको प्रथम आरोहण गरेपछि टोली संखुवासभामा अडिएन। उनीहरु तीन दिनको पैदल यात्रामा नाम्चे पुगेको टेरीले पुस्तकमा लेखेका छन्। नाम्चेसम्म पुगे पनि थामेमा रहेको गुम्बाको एक उत्सवमा सहभागी हुन नसकेको उनले उल्लेख गरेका छन्।

६. मकालु अर्थात् ‘ठूलो देवता’

मकालु हिमाल अन्तर्राष्ट्रिय हिमालको क्षेत्रमा मात्रै जोडिएको नाम हैन। स्थानीय आदिवासी भाषा र संस्कृतिसँग पनि जोडिएको हिमाल हो। मकालुलाई कुलुङ राईले सेसेलुङ भन्ने गरेको निनाम कुलुङ ‘मंगले’ ले एक अनलाइनमा लेखेका छन्।

यस्तै शेर्पा भाषामा पनि मकालुको आफ्नै नाम भएको मकालु हिमाल क्षेत्रमा व्यवसाय गर्ने दावा छिरिङ बताउँछन्। उनका अनुसार शेर्पा भाषामा मकालुलाई मारखालोग्यु र खेम्पालुङ भनिन्छ।

मारखालोग्युको नेपाली अर्थ दक्षिणतर्फ फर्किएको तथा खेम्पालुङको अर्थ ठूलो देवता हो।

७. एक आरोहीको तस्बिर छैन

शिखरमा पुगेको तस्बिरमा टेरी देखिँदैनन्। उनको आत्मकथामा पनि कोजीको मात्रै तस्बिर छ। कोजी शिखरमा उभिएको र उत्तरी मोहोडातर्फ शिखरबाट देखिएको दृश्य मात्रै पुस्तकमा प्रकाशित छ।

पुस्तकमा मात्रै हैन अन्य कुनै माध्यममा पनि टेरी शिखरमा पुगेको तस्बिर छैन। यसबारे टेरीले आरोहण दलमा व्यावसायिक फोटोग्राफर नभएकाले आफंैले फोटो खिच्ने जिम्मा पाएको बताएका छन्। आफूले अरुको खिच्दा आफ्नो भने खिच्न नपाएको उनको भनाइ छ।

८. विश्वको साहसिक क्षेत्रका सय पुस्तकको सूचीमा मकालु आरोहणको कथा

नेसनल ज्योग्राफिक च्यानलको एडभेन्चर म्यागाजिनले विश्वका साहसिक पर्यटन क्षेत्रका १०० सदावहार पुस्तकका सूची निकालेको छ। उक्त सूचीमा मकालु आरोहण पहिलोपटक गर्ने विश्व प्रसिद्ध आरोही टेरीको पस्तक ‘कन्किस्तादोर्स अफ द युजलेस’ सूचीकृत भएको छ।

यो पुस्तक पचासीऔँ स्थानमा छ। पुस्तकमा टेरीले युरोपको आल्प, नेपालका अन्नपूर्ण र मकालु आरोहणका साहसिक क्षणहरुलाई लिपिबद्ध गरेका छन्।

विश्वको पाँचौं अग्लो शिखर मकालुका प्रथम आरोही टेरीको पुस्तक सदाबहार पुस्तकमा परे पनि सगरमाथाका प्रथम आरोही हिलारीको पुस्तक ‘भ्यू फ्रम समिट’ भने सूचीकृत भएको छैन।


क्याटेगोरी : पर्यटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
10°
Partly Cloudy
6:54 am5:31 pm +0545