असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

काठमाडौँ। मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढेको छ ।
प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूत रूपमा पूर्णता दिने, कहीँ कतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।”
प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ–आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ । मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ । राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिक रूपमा अनुरोध गर्नेछ ।
यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पु¥याएर देखाउने काम भइरहेको छ । उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिकीकरण गर्नुभएको थियो ।
सचिव डा रेग्मी भन्नुहुन्छ, “खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक सङ्ख्या परिषद्बाट केही दिनमै सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ ।”
खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको सङ्ख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेलउत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ । पहिलोपटक प्रादेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन् ।
प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को टिमबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो । यस पटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ ।
प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पु¥याउनेछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलले जानकारी दिनुभयो ।
नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिताका खेल
नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् । त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् ।
प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको थियो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्णधारीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । चार सय आठ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकको यसअघि नै तय भइसकेको छ ।
पोखरा घुम्नका लागि अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको प्रतियोगिताले पोखराको सौन्दर्य प्रवद्र्धन गर्न थप योगदान पु¥याउनेछ ।रासस
क्याटेगोरी : खेलकुद
ट्याग : #नवौँ राष्ट्रिय खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्