निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका: काठमाडौं र महेन्द्रनगरबाट तीन पक्राउ

बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा ।
सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।
केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ ।
घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडे
घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडेका थिए । प्राय उनीहरू भारत बस्थे चारमध्ये केही विगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको समेत प्रहरी स्रोत बताउँछ ।
लागूऔषध दुर्व्यसनीहरू नियमित गइरहने क्षेत्रमा निर्मलाको शव भेटिएको थियो । पक्राउ परेकाहरू पनि लागूऔषध दुर्व्यसनी भएकाले उनीहरूको संलग्नताको सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।
काठमाडौंमा पक्राउ परेका प्रदीपको घर निर्मलाको घरबाट करिब तीन किलोमिटर दुरीमा पर्दछ । लामो समयदेखि लागूऔषध दुर्व्यसनी भएको र उनका बुबा–आमा समेत भारतमा बस्दै आएको सिआइबीका एक अधिकारीले बताए ।
रानीबारीकै शैलीमा पर्दा खुल्ला निर्मला प्रकरणको ?
रानीबारी हत्याकाण्डको अनुसन्धान १४ वर्षसम्म उपलब्धिहीन थियो । विभिन्न टोली र समिति खटाए पनि प्रहरीले इन्जिनियर दम्पतिको हत्यारा पत्ता लगाउन सकेको थिएन । तर, नाटकीय रुपमा प्रहरीले तीन वर्षअघि दोषीलाई पक्राउ गरेको थियो ।
सो घटनाका अभियुक्तको सूचना प्रहरीले भट्टीबाटै प्राप्त गरेको थियो । अभियुक्तहरू मनराज गुरुङ र प्रमेश चौहानले एक भट्टीमा आफूहरूले एक दम्पतीको हत्या गरेपनि पैसा नपाएको विषयमा चर्चा गरेका थिए । उनीसँगै त्यहाँ रहेका व्यक्ति पछि ठगीमा मुद्दामा पक्राउ परे । उनले त्यससम्बन्धि विवरण सिआईबीको हिरासतमा खुलाएका थिए । लगत्तै दुवैजना पक्राउ परे । अदालतले पनि उनीहरूलाई जन्मकैदको फैसला सुनाएको छ ।
३१ असार २०६९ मा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको हत्या भएकोमा अभियुक्तहरू १४ वर्षपछि अर्थात् १ चैत २०७१ मा पक्राउ परेका थिए ।
अहिले निर्मलाको बलात्कारपछि हत्यामा पनि प्रहरीले त्यस्तै ‘क्लु’ भेटाएको छ । तर, हरेक व्यक्ति पक्राउ पर्दा सार्वजनिक इजलास बस्ने गरेकोले पछिल्लो अनुसन्धानमा पनि प्रहरी आफैँ सर्तक छ । त्यसैले डिएनए परिक्षणको रिपोर्टमै प्रहरीको सफलता निर्भर हुनेछ ।
गत १० साउनमा साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको प्रारम्भिक चरणमा प्रहरीले अनुसन्धानमा लापरबाही गर्दा अभियुक्त पत्ता नलागेको आरोप लाग्दै आएको छ । महत्वपूर्ण प्रमाण समेत नष्ट गरेकाले प्रहरीप्रति अविश्वास छ । दोषी पत्ता लगाउन माग गर्दै दबाबमूलक आन्दोलन भइरहेको छ ।
आइजिपी आफैं सोधपुछमा
निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।
घटनामा उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ ।नयाँपत्रिकाबाट
क्याटेगोरी : विशेष
ट्याग : #निर्मला पन्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्