Techie IT
मंगलबार, वैशाख ९,२०८२

स्थानीयवासीको अवरोध हटेपछि उठ्यो काठमाडौं उपत्यकाको फोहर


काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य सोमबारदेखि पुनः सुरु भएको छ ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य सुरु भएको हो । अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ । राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउने छ ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन ।

दश दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

उनले २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको सुनाइन् ।

सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटक–पटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ ।

उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।


क्याटेगोरी : विशेष, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545