Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपाले मंसिर ८ गते बृहत जनसभामा गर्ने


नेपाल राष्ट्रिय प्राध्यापक संगठन , चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिले नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते पार्टी पुनर्स्थापना दिवस विशाल आयोजना गर्न लागेको जनसभामा सहभागी हुन अपिल गरेकेा छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठन , चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन खतिवडाले विज्ञाप्ति जारी गरी जनसभामा सहभागि हुन आम प्राध्यापक, विद्यार्थी, अभिभावक तथा देशभक्त, प्रगतिशिल जनसमुदायमा अपिल गरेको हाे ।

विश्वविद्यालयमा खुलेआम शैक्षिक कार्यक्रमका प्रश्नपत्रहरु विक्री हुने गरेकेा भन्दै  विज्ञप्तीमार्फत उपप्राध्यापक पदका परीक्षाहरुमा समेत कथित वरिष्ठ प्राध्यापकहरुले पैसा लिएको, नजिकका आफन्तले समेत उत्तरपुस्तिका जाँच गरेको र उत्तीर्ण गराएको आरोपमा मुद्दाहरु विचाराधिन अवस्थामा विश्वविद्यालयको मर्यादा र प्रतिष्ठा जोगाउन सम्पूर्ण इमान्दार प्राध्यापक तथा विद्वत वर्ग सचेत रहन आवश्यक रहेकेामा जाेड दिएकाे छ ।

विज्ञाप्ति यस प्रकार रहेको छ –

“बर्तमान नेपालको सार्वजनिक शिक्षा प्रति सरकार सरकार अनुदार हुँदै गएको प्रतित हुन्छ । एक पछि अर्को विश्वविद्यालय स्थापनामा दलीय प्रतिस्पर्धा नै चलेको छ तर विद्यमान विश्वविद्यालयहरुको सञ्चालन र व्यवस्थापन समस्याका वारेमा कुनै पहल गरीएको छैन । संसदवादी दलहरुको भागवण्डामा विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरुको चयन हुने गर्छ । स्थानीय र विश्ववजारलाई समेत आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरु निर्धारण गर्नुको साटो विश्वविद्यालय पदाधिकारीहरु समेत भ्रष्टाचारको समाचारमा आउनु लज्जास्पद छ ।
विश्वविद्यालयमा खुलेआम शैक्षिक कार्यक्रमका प्रश्नपत्रहरु विक्री हुन्छन् । यतिसम्म की उपप्राध्यापक पदका परीक्षाहरुमा समेत कथित वरिष्ठ प्राध्यापकहरुले पैसा लिएको, नजिकका आफन्तले समेत उत्तरपुस्तिका जाँच गरेको र उत्तीर्ण गराएको आरोपमा मुद्दाहरु विचाराधिन अवस्थामा छन् । अव हाम्रा विश्वविद्यालयको मर्यादा र प्रतिष्ठा जोगाउन सम्पूर्ण इमान्दार प्राध्यापक तथा विद्वत वर्ग सचेत रहन आवश्यक छ । भरखरै त्रिभुवन विश्वविद्यालय विश्वका प्रतिष्ठित एक हजार विश्वविद्यालयको समुहमा पर्न गएको प्रचार भएको छ । विगतमा ८ हजार भन्दा माथिकाको सूचीमा पनि पूछारमा आएको त्रिवि एक वर्षका अवधिमा नै कसरी सातौ हजार विश्वविद्यालयहरुलाई उछिन्न सक्यो ? रातारात जादुगरी सफलता कहाँवाट भयो ? अर्को तर्फ त्यस्तो सूचीमा आउन महँगो शुल्क बुझाउने गरी रकम कहाँवाट आयो ? नेपाली जनताबाट उठेको करले व्यक्तिगत ख्याति र ओहोदाका लागि त्यति ठुलो रकम खर्चने तर विश्वविद्यालयको स्तरोन्नति, पुर्वाधार निर्माण तथा व्यवस्थापनमा किन खर्च भएन ?
नेपाल संस्कृत विश्वविद्यालयमा भरखरै विभिन्न विषयका प्राध्यापकहरुको दलीय भागवण्डामा भएको नियुक्ति, मध्यपश्चिम तथा सुदुरपश्चिम विश्वविद्यालयमा समायोजनमा परेका सामुदायिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुको नियुक्ति सम्वन्धी विवाद, विश्वविद्यालय हैसियतको विपिस्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्टाचार सम्वन्धी आरोप–प्रत्यारोप गर्ने पदाधिकारी र कुनै राजनैतिक दलको कार्यकर्ताको तलव निकासाको विषयमा भएको विवादका कारण त्रिवि सिनेट नै वस्न नसकेको उदाहरणले हाम्रा विश्वविद्यालयहरु दलहरुका सिण्डिकेटवाट चलेका प्रशासनहरु हुन् वा राष्ट्रिय गौरवका शैक्षिक प्रतिष्ठानहरु हुन छुट्याउन नै गाह्रो भएको छ । विश्वविद्यालय भित्र मौलाएको यी प्रतिनिधिमुलक घटनामात्र हुन । यसर्थ सवै देशभक्त, प्रगतिशिल, वामपन्थी तथा लोकतान्त्रिक प्राध्यापकहरुलाई विश्वविद्यालयहरुमा देखिएका तमाम् विकृति विरुद्ध एकजुट हुन अपिल गर्दछौं ।
देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रुपले संकटबाट गुज्रदै गएको प्रतीत हुन्छ । कथित संसदबादले सुविधाभोगी नयाँ वर्गको उदय भएको छ र त्यो शासक वर्गको तावेदारी गर्दै जनताको जनजिविका माथी नै असह्य पिडा थोपरी रहेको छ । करका दरहरु थपिएका छन् र बृद्धि गराइएका छन् । आधारभुत स्वास्थ्य र शिक्षाबाट सर्वसाधारण वञ्चित हुन परेको छ । ब्यापारघाटा दक्षिण एशिया कै तुलनामाउच्चतम विन्दुमा छ र त्यसलाई पुरा गर्न वाह्य ऋणको विकल्प छैन र देशलाई कंगाल वनाउने दिशातर्फ आर्थिक नीति सुझबुझका साथ ल्याएको झै लाग्दछ । वलात्कार, हत्याका जघन्य घटनाहरु दुईतिहाईले बृद्धि भएकोझैं लाग्दछ । भ्रष्टाचारी र हत्याराको संरक्षणमा राज्य नै लागेको विषय त ३३ केजी सुनकाण्ड र निर्मला पन्त वलात्कार हत्याकाण्डले नै प्रष्ट पारेकोछ । छिमेक नीति र क्षेत्रीय संगठन सार्कनीतिमा समेत सरकार असफल भएको छ भने अन्तराष्ट्रिय मञ्चमा शक्तिराष्ट्रहरुको पदचाप पछ्याएको देखिन्छ । अन्तराष्ट्रिय कुटनैतिक रुपले असफल र घरेलु मामिलामा समेत शान्ति सुरक्षा कायम राख्न नसक्ने, देशको सीमा वेच्ने र कालापानी, लिम्पियाधुराको क्षेत्र नै देशको नक्सावाट हटाउन उद्यत दक्षिण र पश्चिमासँग लम्पट यो सरकार निकम्मा सावित भै सकेको छ । झन अव त विखण्डनवादीलाई संरक्षण गर्ने तर देशभक्त र प्रगतिशिल शक्तिलाई व्यवस्था अनुकुल नभएको भनि पञ्चायतकै शैलीमा व्यवस्था विरोधीको विशेषण भिराएर नेता कार्यकर्तालाई व्यापक धरपकड गरी थकाउन र थर्काउन उत्प्रेरित विद्यमान सरकारको कायर रवैया प्रति जति निन्दा गरे पनि कम हुन्छ ।
अहिले जसरी सरकार विरुद्ध सडकमा रहेका शक्तिहरुसँग वार्ताको स्वाँग रचिएको छ , यो केवल लोकतान्त्रिक आवरणमा सत्ता टिकाउने चालबाजीमात्र हो भन्ने कुरा जग जाहेर छ । यद्यपि इमान्दार प्रयासबाट हिजो थाति रहेका जनयुद्ध र जनआन्दोलनका मागहरुमा सरकार छलफल गर्न तयार छ त ? यिनै सवै विषयहरुमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आगामी मंशिर ८ गतेको बृहत जनसभामा सहभागि हुन सवै प्राध्यापक, विद्यार्थी, अभिभावक तथा देशभक्त, प्रगतिशिल जनसमुदायमा अपिल गर्दछौं ।”


क्याटेगोरी : विशेष
ट्याग : #नेकपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545