Techie IT
मंगलबार, वैशाख ९,२०८२

गंगबुका भण्डारी र बानियाटारका रिमालको सेटिङमा जुवा खेल्न बाध्य बनाइ ७९ लाख रुपियाँ झ्वाम


काठमाडौंमा तिहारका बेला रमेश भण्डारी र रामदेव रिमालको समूहले जुवामा एकजना जग्गा कारोबार गर्ने व्यापारीलाई ठूलो रकम ‘मुर्गा’ बनाएर झ्वाम परिदिएको खुलासा भएको छ ।

भाइटीकाको एक दिन पहिला कात्तिक ३० गते काठमाडौंको हात्तिगौडास्थित सुरेश केसी ‘दाह्र अंकल’को घरमा गंगबु बसपार्कका रमेश भण्डारी र बानियाटारका रामदेव रिमालले बुढानिलकण्ठका दिलीप लामालाई सेटिङमा जुवा खेल्न बाध्य बनाइ ७९ लाख रुपियाँ झ्वाम परिदिएका हुन् ।

दिलीप लामाले रमेश र रामदेवलाई नगद ५४ लाख तथा ५ लाख र २० लाख गरि दुई वटा चेक समेत दिएका छन् । दुई वटा चेक रामदेव रिमालको नाममा काटिएको छ ।

बुढानिलकण्ठ नगरपालिका–२ बस्दै आएका दिलीप लामा जग्गाको कारोबारी हुन् । दिलीप लामाले आफूलाई जुवा खेल्न बाध्य बनाएर रमेश र रामदेवसहितको समूहले ७९ लाख रुपियाँ खाइदिएको बताएका छन् ।

रमेश भण्डारी, रामदेव रिमालसहितको समूहले आफू सेटिङ गरेर जुवा खेलाइ ठगेर ७९ लाख रुपियाँ खाइदिएपछि पीडित दिलीप लामा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा काठमाडौंमा उनीहरूविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

कात्तिक ३० गते दिउँसो सवा १ बजेदेखि शुरु भएको जुवा मंसिर १ गते बिहान साढे १ बजेसम्म चलेको थियो ।

चाइनाबाट ल्याइएको मेसिनरी जडान भएको तास खेलाएर रमेश भण्डारीको समूहले दिलीप लामाको ७९ लाख रुपियाँ खाइदिएका पीडितले दैनिक नेपाललाई बताए ।

जुवा खेल्ने क्रममा दिलीप लामालाई रमेश, रामदेवको समूहले १८ वर्ष पुरानो ‘ग्लिनफिडिच’ रक्सी समेत खुवाएका थिए । दिलीपले आफूलाई रक्सीमा केही मिसाएर खुवाएको अनुभूति भएको बताएका छन् ।

रमेश भण्डारीले काठमाडौंको गंगबु नयाँ बसपार्कमा स्नुकर सञ्चालन गर्दै आएका छन् । रमेशलाई जुवा खेल्ने क्रममा बानियाटारका रामदेवले लगानी गर्ने गर्छन् । त्यो दिन पनि रमेशलाई रामदेवले नै लगानी गरेका थिए ।

रमेशले फोन गरेर दिलीप लामालाई फकाएर जुवा खेल्न बोलाएको आरोप दिलीपले लगाएका छन् । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा रमेश भण्डारी र रामदेव रिमालसँग सम्पर्क हुन सकेन ।

सेटिङको जुवामा भाग खानेहरूमा गंगबु बसपार्कका रमेश भण्डारी, बानियाटारका दिलिप रिमाल, बानियाटारका रामदेव रिमाल बानियाटारकै गोपाल पाण्डे, धापाखेलका विनोद घिमिरे, बालुवाटारका अशोक श्रेष्ठ रहेका छन् । दाह्री अंकलले भने हिस्सा पाउनेमा छन् ।

गत वर्षको तिहारमा काठमाडौंमा हाइप्रोफाइल जुवामा प्रहरीले छापा हानेको थियो । त्यस बेला बलराम सापकोटा ‘बले’सहितका ठूला नाम चलेका व्यक्तिहरू पक्राउ परेका थिए ।

यस पटकको तिहारमा प्रहरीले काठमाडौंबाट झिनामसिना जुवाडेहरू पक्राउ गरे पनि ठूलो जुवाडे पक्राउ गर्न सकेको छैन ।

तर, सेटिङमा जुवा खेलाएर लुट्ने समूहको पर्दाफास भएको छ । ‘दाह्री अंकल’को घरको यो जुवा काण्ड प्रहरीसम्म पुगिसकेको छ । रमेश भण्डारीसहितको समूहको जुवा काण्डका विषयमा थप समाचारहरू क्रमशः सार्वजनिक हुनेछ ।


क्याटेगोरी : विशेष
ट्याग : #जुवा खेल्न बाध्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545