Techie IT
बुधबार, माघ २३,२०८१

डीएसपी बढुवा सिफारिस : सिनियरलाई पन्छाएर जुनियरलाई अघि सार्दै

सिनियर डिएसपीलाइ अन्याय भयो : प्रहरी


नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) को बढुवा निकालेको छ । हिजो माघ ११ गते ३७ प्रहरी नायब उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षकमा बढुवा सिफारिस भयो । यतिबेला डीएसपी बढुवा सिफारिसलाई लिएर नेपाल प्रहरीको सांगठनिक भविष्यमाथि प्रश्न चिन्ह उठेको छ । शक्तिशाली नेताहरुको सिफारिसमा परेकाबाहेक अन्य प्रहरी अधिकारीहरु बढुवामा छुटेका छन् । इमान्दार र क्षमतावान प्रहरी अधिकृतलाई पाखा लगाएर नेता निकट प्रहरीलाई बढुवा गरिएको आरोप प्रहरी नेतृत्वमाथि छ ।

बढुवा समितिले फिल्डमा काम गरेका भन्दा नेताको चाकडी गरेका प्रहरीलाई अग्रस्थानमा राखेर बढुवा सिफारिस गरेको गुनासो प्रहरी अधिकारीहरुको छ । बढुवामा प्रहरी महानिरीक्षक यस्तो कमजोर कहिल्यै देखिएका थिएनन्,’ प्रहरी मुख्यालयका एक अधिकारी भन्छन्, ‘प्रहरी राजनीतिक नेतृत्वको कठपुतली बन्ने जोखिम देखियो ।’

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले राम्रा अधिकृतहरुको पक्षमा अडान लिन नसक्दा बढुवामा राजनीतिक नेतृत्व हावी भएको हो । यसले राम्रा प्रहरी अधिकृतहरु पछि पर्ने र खराब अधिकृतहरु अघि बढ्ने जोखिम बढेको छ ।

प्रहरीमा सांगठनिक सुधारका लागि चर्का भाषण गर्ने गृहमन्त्री रमेश लेखकले पनि राम्राभन्दा ‘हाम्रा’ प्रहरी अधिकारीलाई बढुवा गर्न दबाब दिएको प्रहरी मुख्यालय स्रोत बताउँछ ।

बढुवामा राजनीतिक हस्तक्षेप !
लामो रस्साकस्सीपछि ११ माघमा प्रहरी प्रधान कार्यालयले ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्यो । एसपी बढुवामा सिनियर र इमान्दार अधिकृतहरु छुट्दा केही जुनियरहरु भने बढुवामा पर्न सफल भएका छन् । २०६१ जेठमा भर्ना भएका मध्यबाट सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, दीपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही र किशोरकुमार श्रेष्ठ एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

यस्तै, उनीहरूकै वैकल्पिक टोली २०६१ असारमा भर्ना भएका कुलदीप चन्द पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन्। यही टोलीका मनोहरप्रसाद भट्ट, केशवकुमार थेबे, टेक बहादुर कार्की, फणिन्द्र प्रसाईँ, शरदकुमार थापा, युवराज खड्का र राजन चापागाईँ पनि एसपीमा बढुवा सिफारिस भएका छन्।

२०६१ सालमा भर्ना भएर २०७२ सालमै डीएसपी भइसकेका रविन कार्की, अनिलकुमार खड्का, महेन्द्र नेपाल, वीरेन्द्र थापा र ज्ञानेन्द्रबहादुर बस्नेत बढुवामा छुटेका छन्। यस्तै उनीहरूभन्दा १८ दिनपछि भर्ना भएका र सँगै डीएसपी भएका दीपेन्द्र पञ्जियार थारु र महेश थापालाई पनि बढुवामा हुनबाट बञ्चित भए । बढुवामा छुटेकाहरुमध्य पञ्जियार सर्लाहीमा हुँदा बिवादतमा मुछिएका पात्र हुन् भने अन्य काबिल प्रहरी अधिकृत हुन् । तर उनीहरूभन्दा १६ महिना जुनियर १० जना डीएसपीहरू एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। २०६२ सालमा भर्ना भएर २०७४ सालमा डीएसपी भएका मुकुन्द रिजाल, नवीन कार्की, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगम बहादुर कुँवर एसपीमा बढुवा सिफारिस भएका छन्।

यसअघि डीएसपी बढुवामा आफूहरूलाई अन्याय भएको उनीहरूको गुनासो थियो। अघिल्लो बढुवामा अन्यायमा परेका अनिल कुमार खड्का र रविन कार्की यसपटक पनि एसपी हुनबाट बञ्चित भएका छन् । उनीहरु भन्दा जुनियरहरुले एसपी बढुवा भएर एक कार्यकाल जिल्लाको नेतृत्व गरिसकेका छन् । २०६२ भदौमा भर्ना भएर २०७२ चैतमा एसपी भएको टोलीका १० जना नै एसपीमा सिफारिस भएका छन्। यो टोलीबाट पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्व्र पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने र श्यामकुमार सारू मगर यसपटक पनि बाजि मार्न सफल भएका हुन्।

प्रहरीको बढुवामा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले बढुवा समिति तथा प्रहरी मुख्यालयको भूमिका खुम्चिएको छ । कुनै पनि कारबाही नभोगेका व्यवसायिक अधिकृतको छवि भएका रविन कार्की, अनिलकुमार खड्का, महेन्द्र नेपाल, वीरेन्द्र थापा र ज्ञानेन्द्रबहादुर बस्नेत अघिल्लोपटक एसपी बढुवामा छुट्दा धेरैले उनीहरुमाथि अन्याय भएको भनेका थिए । २०७२ मा डीएसपी एसपीमा बढुवा हुँदा कार्की र खड्कालाई उछिनेर उनीहरुका ब्याचका केही बढुवा भएका थिए ।

बरु उनीहरु भन्दा पछि डीएसपीमा बढुवा भएका प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ सन्तोष तामाङ, राजन लिम्बू २०८० चैत २४ मा एसपी बढुवा सिफारिसमा परे । शक्तिकेन्द्रहरुको सिफारिसलाई आधार बनाएर एसपी बढुवा सिफारिस गरिएको आरोप उनीहरूमाथि लागेको छ । त्यतिबेला पनि आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सुचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई छुटाइएको भन्दै तीब्र असन्तुष्टि चुहिएको थियो ।

६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सुचीमा परेनन् । उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको थियो । नेपाल प्रहरीको डीआईजी, एसएसपी, एसपी बढुवामा पहुँचवालाहरुको बोलवाला हुँदा इमान्दार अधिकृतहरु चरम अन्यायमा परेका छन् । इन्सपेक्टरबाट डीएसपीको बढुवा सूची निकाल्दा पनि यस्तै राजनीतिक हस्तक्षेप हुने र धेरै अब्बल प्रहरी अधिकारी छुट्न सक्ने आंकलन गरिएको छ ।

कसरी हुन्छ बढुवामा चलखेल ?
प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङ्कनलाई बढुवाको आधार बनाएको छ । तर, नियमावलीले बढुवामा चलखेल गर्ने आधार पनि दिएको छ । एक सय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङ्कन, २० नम्बर ज्येष्ठता, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, ७.५ नम्बर शारीरिक व्यायाम तथा खेलकुद तथा २ नम्बर सरकारले प्रदान गरेको विभूषणको आधारमा दिइन्छ, जून नम्बरमा खासै चलखेल हुँदैन । बाँकी साढे १२ नम्बरमध्ये ७.५ नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ भने ५ नम्बर चुनौतीपूर्ण काम गरेबापत प्रहरी महानिरीक्षकले दिन्छन् । यही १२.५ नम्बरमा चलखेल हुने गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545