Techie IT
शनिबार, वैशाख ६,२०८२

मादी हत्या प्रकरण अपडेटः सुन र नगद ४ लाख ७१ हजार भेटियो

‘क्लु’ पत्ता लागिसकेको छ, छिट्टै अपराधी सार्वजनिक गर्छौः एसपी दाहाल


संखुवासभाको मादी–१ उम्रिङस्थित खोलागाउँमा भएको हत्या प्रकरणमा नयाँ तथ्य खुल्दै गएको छ ।
प्रहरीले उनीहरुको घरबाट ४ लाख ७१ हजार रुपैयाँ र केही सुनसमेत फेला पारेको जनाएको छ । धरानबाट खटिएका एसपी भीमबहादुर दाहालका अनुसार केही रकम र सुन भेटिएको जानकारी दिए । ‘घटनास्थलबाट करिब ७ तोला सुन र ४ लाख ७१ हजार रुपैयाँ नगद फेला परेको छ’, उनले भने । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमा ७ तोला सुन र त्यति नगद भेटेको उनले जानकारी दिए ।
हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ । ‘आज ९मङ्गलबार० ६ जनाकै शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौं’, घटनास्थलमा रहेका एसपी दाहालले भने, ‘शव आजमात्रै पुगिसक्छ, भोलि बेलुकासम्ममा पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि केही ‘क्लु’ भेटिन्छ र थप अनुसन्धान अगाडि बढ्छ भन्ने हो ।’
मङ्गलबार फरेन्सिकसहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणदेखि अन्य कुराहरु सङ्कलन गरिसकेको उनले जानकारी दिए ।

‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६ जनाको एकै प्रकारले हत्या गरेको देखिएको छ । ६ जनाको नै टाउकोमा चोट देखिएको छ, प्रायः सबैको टाउकोमै प्रहार भएको देखिएको छ, कस्तो वस्तुले टाउकोमा प्रहार भएको हो भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।
उनले केही ‘क्लु’ का आधारमा प्रहरी अपराधीको नजिक पुगिसकेको पनि दावी गरे । ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं, छिट्टै दोषी सार्वजनिक हुन्छ ।’ उनले भने ।
उनीहरुको शव विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या भएको हो । पार्वती घरभित्र नै खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । तेजबहादुर भेने घर बाहिर बाटोको भित्तामा मृत अवस्थामा भेटिएका थिए । बुहारी रञ्जना खोलामा, दुई नाबालिका बारी नजिकै घोप्टो परेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएका ‘केही सङ्केत’ अनुसार आर्थिक कारणले एकै परिवारका ६ जनाको हत्या भएको आशंका समेत गरेको छ । घटनास्थल पुगेको प्रहरीको अनुसन्धान टोलीका एक सदस्यले कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने ‘संकेत’ देखिएको जानकारी दिएका थिए । घटनास्थलमा नगदसमेत भेटिएकोले हत्याको पछाडि आर्थिक कारण नै जोडिएको हुनसक्ने विषयमा ‘गहन अनुसन्धान’ थालेको प्रहरी स्रोत बताउँछ ।
प्रहरी स्रोतका अनुसार ८० लाख मूल्य पर्ने जग्गा झापामा किनेको र सो जग्गा पास गर्ने सुरसारमा ती परिवार रहेको थियो । उनीहरुले केही रकम बैना समेत गरेको छिमेकीले जानकारी दिएका छन् । आर्थिक कारणले नै हत्या हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले स्रोतले जनाएको छ । उनीहरुले झापामा जग्गा किन्ने भनेपछि विदेशमा रहेकाहरुले केही रकमसमेत पठाएको छिमेकी बताउँछन् ।
उनीहरुको कसैसँग दुश्मनी नरहेको समेत छिमेकीहरुले बताएका छन् । उनीहरुको हत्या दुईजना भन्दा बढी समूहले हत्या गरेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोली समेत घटनास्थल पुगेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545