Techie IT
शुक्रबार, वैशाख ५,२०८२

संखुवासभामा एमालेको घोषणापत्र झुटै झुटको दस्तावेज : दीपक खड्का


सिलिचोङ– पाँचदलीय गठबन्धनबाट संखुवासभामा प्रतिनिधिसभाका साझा उम्मेदवार दीपक खड्काले जिल्लामा प्रतिस्पर्धी एमालेले सार्वजनिक गरेको घोषणापत्रमा झुटै झुट रहेको बताएका छन्।

सिलिचोङ गाउँपालिकाको ताम्कुमा मंगलबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै खड्काले योगमाया विश्वविद्यालय संखुवासभामा ल्याउन अवरोध सिर्जना गर्ने एमालेका तत्कालीन सांसद राजेन्द्र गौतमले उल्टै विश्वविद्यालय आफूले ल्याएको भन्दै झुटो प्रचार गरेको उल्लेख गरे।

‘योगमाया विश्वविद्यालयलाई संखुवासभामा ल्याउन अवरोध गर्ने राजेन्द्रजी अनि ल्याउने हामी। उल्टै मैले ल्याएँ भनेर दाबी गर्नुभएको छ,’ खड्काले भने। यस्तै, अरुण तेस्रो जलविद्युत आयोजना तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पहलमा पुनः शुरु भएको उल्लेख गर्दै खड्काले पूर्वप्रधानमन्त्री केपी ओली उक्त आयोजना शुरु गराएको भनेर एमालेको घोषणापत्रमा झुटो प्रचार गरिएको बताए।

यस्तै, टुटे देउरालीबाट खाँदबारी जोड्ने सडक स्वर्गीय गिरिजाप्रसाद कोइरालाले शुरु गराएको र राजेन्द्र गौतमले आफूले गराएको भनेर झुटो प्रचार गरिरहेको उनले बताए।

‘२०७० सालपछि हामीले शुरु गराएका जिल्लाका रणनीतिक महत्त्वका आयोजनाहरू किन धमाधम काटियो। १५ बेडका अस्पतालहरू किन पाँच बेडमा झारियो ?’ खड्काले प्रश्न गरे।

आगामी पाँच वर्ष जनताको सेवक बनेर काम गर्नका लागि चुनावी मैदानमा होमिएको खड्काले खुलाए। ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको संरक्षण र संखुवासभाको विकासका लागि हामी चुनावी मैदानमा छौं,’ उनले भने, ‘प्रकृतिको भरपुर उपयोग र पर्यटनको विकास गर्दै जिल्लामा समृद्धि भित्र्याउँछौं।’

सभालाई सम्बोधन गर्दै पर्यटन व्यवसायी मिङ्मा शेर्पाले सिलिचोङमा पहिरो जाँदा सांसद नहुँदा पनि राज्यभन्दा पहिले निजी खर्चमा हेलिकोप्टरमा पुगेर खड्काले पीडित र विस्थापित परिवारलाई सहयोग पु¥याएको स्मरण गराए। र, सिलिचोङबाट शतप्रतिशत भोट खसालेर आगामी पाँच वर्षमा सिलिचोङवासीको अझ बढी सेवा गर्ने अवसर दिन आग्रह गरे।

गठबन्धनबाट प्रदेशसभातर्फका उम्मेदवार तथा माओवादी केन्द्रीय सदस्य राजेन्द्र कार्कीले खाँदबारी, मानेभञ्ज्याङ, हेलुवाबेंसीबाट सिलिचोङ जोड्ने सडक र अरुण नदीमा मोटरेबल पुल निर्माण आफूहरूको मुख्य प्राथमिकता रहेको खुलाए।

 


क्याटेगोरी : निर्वाचन बिशेष, राजनीति, विशेष, समाचार
ट्याग : #hot, #गठबन्धन, #नेकपा ( माओवादी केन्द्र, #नेकपा (एस ), #नेपाली कांग्रेस, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545