Techie IT
मंगलबार, वैशाख ९,२०८२

ताइवान मुद्दामा नेपालले चीनको निरन्तर समर्थन गर्ने विश्वास छ : राजदूत यान्छी


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् ।

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे वुधबार बिहान एक टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी छन् ।

‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ उनले भनेकी छन्, ‘यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’

चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र तथा साझेदार रहेको बताउँदै यान्छीले भनेकी छन्, ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन ।’

उनले नेपालले चीनलाई समर्थन गर्ने विश्वास व्यक्त गरेकी छन् । ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन्,’ उनले भनेकी छन्, ‘एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

पेलोसीले ताइवानको भ्रमण गर्नु चीन अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको बताएकी छन् । ‘यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्दछ । यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँछ,’ उनले भनेकी छन्, ‘चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ, र संयुक्त राज्य अमेरिकालाई गम्भीर विरोध र कडा विरोध गरेको छ ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #ताइवान मुद्दा, #होउ यान्छी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545