‘पार्टीभित्र मौलाएको अवसरवादलाई परास्त गर्न जरूरी’: महासचिव पोखरेल

स्याङ्जा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले राष्ट्रलाई सङ्कटमा धकेलेको बताउनुभएको छ ।
नेकपा (एमाले) स्याङ्जा जिल्ला कमिटीद्वारा शनिवार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले सत्ता स्वार्थमा परेर देशलाई दुरगामी असर पर्ने खालका निर्णयहरू गर्दै गएकाले देश सङ्कटमा पर्ने खतरा बढ्दै गएको बताउनुभयो ।
आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न एमाले सक्षम रहेको कुरा स्थानीय तहको निर्वाचनबाट पुष्टि भएको बताउँदै उहाँले कार्यकर्तालाई एकताबद्ध भएर संगठन विस्तारको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
महासचिवले भन्नुभयो– ‘नेकपा (एमाले) ले आफ्नो शक्ति स्थानीय तहको निर्वाचमा देखाइसकेको छ, सारा दुनियाँ एकातिर र एमाले अर्कोतिर हुँदा पनि एमालेले सबैभन्दा बढी लोकप्रिय मत ल्याएर जनतामा आफ्नो दह्रो उपस्थिति देखाइसकेको छ । यो नै मुलुकको पहिलो शक्ति एमाले भएको प्रमाण हो ।”
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेर करका दरमा गरेको हेरफेर र नागरिकताका विषयमा गरिएको व्यवस्थाले नै अहिलेको सरकारले कसका लागि काम गरिरहेको प्रस्ट भएको महासचिव पोखरेलको भनाइ थियो ।
‘नेपाली काँग्रेसका विरूद्धमा नेकपाले पाएको जनमत कांग्रेसको पाउमा लगेर बुझाउने प्रचण्ड र माधव नेपाल नयाँ रायमाझीको रूपमा प्रकट भएकाछन् । उनीहरूको यस कदमको पक्कै पनि इतिहासले मूल्याङ्कन गर्ने छ ।’
देशमा समृद्धि र विकासको लागि एमालेको विकल्प नभएको बताउँदै उहाँले बाटो विराएर समाजवादीमा गएका र माओवादीका कार्यकर्तालाई देश विकासको मूल प्रवाहमा जोडिन एमालेमा फर्किन आह्वान समेत गर्नुभयो ।
महासचिव पोखरेलले विगतका कमी कमजोरीहरू सच्याउँदै पार्टीको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । महासचिव पोखरेलले पार्टीभित्र हरेक नेता–कार्यकर्ता अवसरवादबाट प्रभावित भएको चर्चा गर्दै अव अवसरवादलाई परास्त गर्नैपर्ने वताउनुभयो ।
उहाँले आगामी संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहमा गरेजस्तो बेइमानीलाई पार्टीले छुट नदिने बटमलाइन सुनाउनु भएको छ ।
‘निर्वाचनमा जुन पार्टीले बहुमत हासिल गर्छ, त्यसैले राज्यसत्ताको नेतृत्व गर्छ’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘चुनाव एमालेले जित्छ भने सर्वहारा श्रमजीवी बर्गको पक्षमा काम गर्छ । काँग्रेसले जित्यो भने दलाल पुँजीपति बर्गको पक्षमा काम गर्छ । यो सच्चाइलाई हामीले बुझ्ने कि नबुझ्ने ?’
महासचिव पोखरेलले निर्वाचनलाई सामान्य चुनावका रूपमा मात्रै लिने गल्ती नगर्न सवै नेता कार्यकर्तालाई सचेत गराउनुभयो ।
‘चुनाव सामान्य होइन, यो निकै ठूलो महत्वको छ । राजनीतिको दिशा बदल्ने चुनाव हो आउने चुनाव । हामीले समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न चुनाव जित्नैपर्छ, चुनाव जित्न हामीभित्र रहेको अवसरवादलाई परास्त गर्न जरूरी छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले कम्यनिष्ट आन्दोलनका नेता नै अवसरवादको शिकार भएको भन्दै अव एमालेभित्र त्यस्तो काम हुन नहुने बताउनुभयो ।
‘एउटा कमरेड किन विचलित हुन्छ ? वैचारिक कामको अभावमा विचलित हुन्छ । वैचारिक काममा जति महत्व दिन्छौं, त्यत्ति नै हामीभित्र रहेको अवसरवादलाई परास्त गछौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
‘अवसरवाद कस्तो हुन्छ भन्ने कुरा माधव नेपाललाई हेरे पुग्छ । जीवनभर पार्टी सत्तामा रहेका नेपालले अवसरवादकै कारण कलङ्कको टीका लगाए । आफैले आफैलाई सिध्याए । आफैले बनाएको पार्टी सत्ताका लागि फुटाए ।’
कार्यक्रममा पार्टी सचिव तथा गण्डकी इञ्चार्ज पदमा अर्यालले एमालेको विजयबिना मुलुकका सपना पूरा नहुने भएकाले व्यक्तिगत स्वार्थमा अल्झने गल्ती नेता कार्यकर्ताबाट हुन नहुने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #पार्टीभित्र मौलाएको अवसरवादलाई परास्त गर्न जरूरी, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्