Techie IT
शनिबार, वैशाख ६,२०८२

 राष्ट्रियसभाबाट नागरिकता सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ बहुमतले पारित


काठमाडौँ । राष्ट्रियसभाबाट नागरिकता सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ बहुमतले पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारितका लागि सभा समक्ष पेश गर्नुभएको थियो ।

विधेयकका सम्बन्धमा ३२ जना सांसदहरुले सात समूहमा संशोधन प्रस्ताव राख्नुभएको थियो  ।

बैठकमा  समूहका तर्फबाट सांसदहरु गोपीबहादुर सार्की(अछामी), खिमलाल देवकोटा, भगवती न्यौपाने, बेदुराम भुसाल, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल र विमला राई(पौडेल)ले संशोधन प्रस्ताव राख्नुभएको थियो ।

बैठकमा संयुक्त संशोधन प्रस्तावकर्ता सांसदहरु खिमलाल देवकोटा, भगवती न्यौपाने, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल र विमला राई(पौडेल)ले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

बैठकमा सांसदहरुले वैवाहिक अङ्गीकृत नागरिकताका  सम्बन्धमा महिला र पुरुष दुबैलाई समान नियम लागु गर्नुपर्ने र नागरिकता सम्बन्धी प्रावधान कसिलो बनाउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा गृहमन्त्री खाणले नागरिकता नहुँदा सरकारी सेवा उपभोग गर्नबाट वञ्चित नेपाली नागरिकलाई तत्काल नागरिकता दिनु सरकारको कर्तव्य भएको भन्नुहुँदै बाँकी विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै, आजै राष्ट्रियसभाबाट अन्य चार वटा विधेयक पनि पारित भएका छन् ।

बैठकले शपथ सम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको छ भने  राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७५माथि प्रतिनिधिसभाको संशोधन स्वीकारसहित पुनः सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, बैठकले खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले पेश गर्नुभएको खानेपानी तथा सरसफाइ विधेयक,२०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन र राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन,२०७९ सम्बन्धी समितिको प्रतिवेदन पनि सभा समक्ष पेश भएको छ ।

समितिका सभापति दीलकुमारी रावल थापा(पार्वती) ले दुवै प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।

यस्तै, बैठकमा  विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक,२०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन,२०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन,२०७७ र सङ्क्रामक रोग ऐन २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन,२०७८ पेश गर्नुभयो ।

यस्तै,बैठकले  प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक साउन २३ गते सोमबार दिउँसो १ः०० बजे बस्ने छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #२०७९ बहुमतले पारित, #breaking, #राष्ट्रियसभा, #राष्ट्रियसभाबाट नागरिकता सम्बन्धी (पहिलो संशोधन) विधेयक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545