Techie IT
शनिबार, वैशाख ६,२०८२

मजदुर वर्गको हितमा एमाले सधै प्रतिवद्ध छ: अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले मजदुर वर्गको हितका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको बताउनुभयो ।
पार्टीको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आजबाट ललितपुरको गोदावरीमा शुरू भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको बताउनुभयो ।

मजदुर वर्गको हितमा काम गरिरहेको एमालेलाई कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियावादीले गठबन्धन वनाएको उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले विगतमा मजदुरहरूकै बल र शक्तिमा क्रान्ति सफल भएको बताउनुभयो ।
मजदुरहरूबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदैआएको चर्चा गर्दै उहाँले मजदुर फुटाउने काम शासकले गरे पनि पुनः मजदुर एकताबद्ध भएर ठूला–ठूला क्रान्ति सफल भएको उदाहरण प्रशस्त रहेका छन् भन्नुभयो ।

विगतमा अक्टोवर क्रान्ति, श्रमिक वर्गको आन्दोलन सफल हुनुको कारण मजदुरबीचको एकता भएको अध्यक्ष ओलीले भनाई थियो ।
उहाँले मजदूर वर्गको सामाजिक सुरक्षा र न्यायका लागि एमालेले काम गर्दैआएको चर्चा गर्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल पार्न मजदूरको साङ्गठनिक एकता र योजनाबद्ध अग्रगामी प्रयासबाट सम्भव हुने अध्यक्ष ओलीले बताउनुभयो ।

यो अभियान सम्भ्रान्त वर्गको नभई मजदुर र श्रमिकहरूको अभियान भएको बताउँदै अध्यक्ष ओलीले निरपेक्ष गरीबीको रेखामुनी रहेका वर्गलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान चाहिएको विचार व्यक्त गर्नुभयो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन समारोहमा जिफन्टका पूर्व अध्यक्ष नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545