Techie IT
बिहीबार, माघ ३,२०८१

सभामुखद्धारा एसपीपीसम्बन्धी सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन रुलिङ


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदहरूले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भए पनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठाउनुभएपछि सभामुख सापकोटाले त्यस बारेमा स्पष्ट पार्न सरकारलाई रुलिङ गर्नुभएको हो ।

बैठकले आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न रहेकोबारे छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिनका लागि थप गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

यस्तै, बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

यसअघि, आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको तीन महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराउनुभयो ।

सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यस तर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक साउन ६ गते शुक्रबार दिउँसो १ः०० बजे पुन बस्ने छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी, #सभामुख, #सभामुख अग्निप्रसाद सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545