Techie IT
शनिबार, वैशाख ६,२०८२

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना हो : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन् । यसका माध्यमबाट स्वदेश तथा विदेशमा नेपालको विशिष्ट पहिचान बनाउन महत्त्वपूर्ण सहयोग पुग्दै आएको छ, भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्रष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व पनि हो ।”

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकको सम्मानबाट उहाँहरूको कामको योगदान हुनाका साथै नयाँ पुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पुरस्कृत प्रतिभाका माध्यमबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यस क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले प्रदान गर्ने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत स्रष्टा र साधकबाट मुलुकको श्रीवृद्धिमा थप प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।

मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको हो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545