कर्णाली प्रदेश सरकार र प्रतिपक्षि एमालेबीच चार बुँदे सहमति

वीरेन्द्रनगर । दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चार बुँदे सहमति भएको छ ।
गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ ।
कर्णाली सरकार र प्रतिपक्षी एमालेबीच बजेट विवादका कारण अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न सर्वदलीय सहमति भएको छ ।
सर्वदलीय बैठकले चार बुँदे सहमति गरेको हो । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमाथि प्रतिपक्षी एमालेले आपत्ति जनाएपछि प्रदेशसभाको बैठक दुई सातायता अवरुद्ध हुँदै आएको थियो ।
बजेट छलफलका क्रममा असार १२ गतेदेखि एमालेले प्रदेशसभा अवरुद्ध गरेको थियो । पटक—पटक सर्वदलीय बैठक बसे पनि विवाद समाधान हुन सकेको थिएन । शुक्रवारदेखि भने संसद् बैठक सञ्चालन भएको छ ।
सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेको हो ।
चार बुँदे सहमतिमा रु १५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका साना सिँचाइबाहेक अन्य नयाँ योजना कार्यान्वयन नगर्ने सहमति भएको छ ।
यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने सहमति भएको छ ।
त्यसैगरी ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ को सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुष्ट रूपमा फिर्ता लिने सहमति भएको छ । त्यो शीर्षकमा विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधिसम्मत योजनाहरू छनोट गरिसक्नुपर्ने भनिएको छ ।
त्यस्तै, रातो किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउने सहमति भएको छ । सहमति भएसँगै बजेटमाथिको दफावार छलफलको बाटो खुलेको हो ।
एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूले उठाएका मुद्दामा सहमति जुटेपछि बैठक सञ्चालन भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले सर्वदलीय सहमतिपछिको प्रदेशसभा बैठकमा सरकारले विगतका सहमति कार्यान्वयन नगरेकाले अहिलेको परिस्थिति उत्पन्न भएको बताउनुभयो । सरकारसँग सहमति भएता पनि कार्यान्वयनमा भने आशङ्का र अविश्वास गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
अहिले भएका सहमति साझा धारणाका आधारमा आएकाले सरकारले विगतको जस्तो प्रवृत्ति नदोहोर्याउन सरकारलाई सचेत गराउनुभयो ।
गत वर्ष पनि लामो समय प्रदेशसभा अवरोध गरेको प्रतिपक्ष दल एमाले र सरकारबीच सात बुँदे सहमति भएको थियो । सो सहमतिसमेत कार्यान्वयन नभएको भन्दै यसअघि देखि नै पटक पटक सदन अवरुद्ध हुँदै आएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने मुख्यमन्त्री रोजगार कार्यक्रममा खासै समस्या नरहेको बताउनुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेशसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्