सत्ता गठबन्धनले लगायो महानगर र उपमहानगरमा भागबण्डाको टुङ्गो

काठमाडौं । पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट भागबण्डा टुङ्ग्याएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गठबन्धन दलबीच कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बैठकको सहमति छ ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौं महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।
एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ ।
साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ । सो सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्