Techie IT
मंगलबार, वैशाख ९,२०८२

कांग्रेसबाट तारकेश्वर मेयरका अकांक्षीहरुलाई उपसभापतिका प्रत्यासी भण्डारीको खुल्ला पत्र


काठमाडौं । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने विभिन्न राजनीतिक दलहरुको दौडधुप चलेको छ । उनीहरुले हरेक योजना बनाएर चुनावी तयारीमा जुटेका छन् ।

यसै सन्धर्वमा नेपाली कांग्रेसबाट तारकेश्वर नगरपालिकाको नगर उपसभापतिका प्रत्यासी लक्ष्मीराज भण्डारीलाई पनि चुनावले निक्कै छोएको छ । उक्त नगरमा विभिन्न राजनीतिक दलका नेताहरुले मेयर पदमा दाबी गर्दै आएका छन् । यसै विषयलाई लिएर युवा नेता भण्डारीले कांग्रेसबाट तारकेश्वर मेयरका अकांक्षीहरुलाई खुल्ला पत्र लेखेका छन् ।

यस्तो छ उनको मेयरका अकांक्षीहरुलाई खुल्ला पत्र

आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदको आकांक्षा गरिरहनुभएका श्रद्धेय नेताहरु ! नेपाली कांग्रेसको प्रत्यासी नगर उपसभापतिका रुपमा तपाइँहरुलाई आज यो खुला पत्र लेख्दैछु । हुन त मैले पार्टीका विभिन्न फोरमहरुमा यो सवाल उठाएपनि हुने हो तर, सबैले थाहा पाउनेगरी खुला पत्र नै प्रेषित गर्नु उपयुक्त ठानेर यो पत्र लेखेको हुँ ।

मेयर पदका आकांक्षी आदरणीय नेताहरु, पत्र छोटो बनाउँने प्रयास गरेको छु । लामो पत्र लेख्दा मेयरको दौडमा रहनुभएका तपाइँहरुलाई पढ्ने फुर्सद नहोला भन्ने ठानेर पत्रलाई छोटो बनाएको हुँ । म ज्यादा भूमिका नबाँधी तपाईँहरुलाई सिधै केही प्रश्न गर्न चाहन्छु । तर, यी प्रश्न मेरा मात्रै होइनन् यो नगरका सबै जनताका प्रश्न हुन् ।

यो नगरका मेयर रामेश्वर बोहोराले ५ वर्षसम्म भू माफिया पोस्दा भ्रष्टाचार गर्दा, विकासलाई बेवास्ता गर्दा तपाई कहाँ हुनुहुन्थ्यो ?
कोरोना कालमा जनतालाई जीवन चलाउँन नै धौधौ परिरहेका बखत तपाई के गर्दै हुनुहुन्थ्यो ? यो बीचमा तपाईले जनताका लागि के के काम गर्नुभयो ?

ठूला नेताको पछि लागेकै भरमा टिकट त आउला तर जनताका यी र यस्ता प्रश्नको चित्त बुझ्ने जवाफ दिइ मन जित्न नसके मत कसरी प्राप्त होला ?

चुनावको मुखमा मेयरको आकांक्षा व्यक्त गरिरहनुभएका तपाईँहरु एकले अर्कालाई होच्याउन, नङग्याउन, सार्वजनिक स्थान, सामाजिक सञ्जाल, चिया पसल लगायतमा व्यस्त हुनुहुन्छ । के यस्ता गतिविधिले हामी चुनाव जित्ने आधार तयार पारिरहेका छौँ ?

रुख र चार तारा भनेर संधै लागिपर्ने सच्चा कार्यकर्ताको मनोबल गिराउने काम तपाइँहरु जानी नजानी किन गरिरहनुभएको छ ? देशैभर गठवन्धनको माहोल रहेका बखत अन्य दलसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा आफ्नै दलभित्र सहमति, सहकार्य गर्न नसक्ने तपाईहरुबाट सिँगो तारकेश्वर कांग्रेसले के आशा गर्ने ?

यी लगायतका तमाम प्रश्नको जवाफ दिँदै तपाइँहरुले मम भन्न आवश्यक छ । त्यत्ति मात्रै गरेको खण्डमा तारकेश्वर नगरपालिकामा कांग्रेसको जीतको झण्डा फहराउन कोही कसैले रोक्न सक्दैन । किनकी तारकेश्वरका जनताका मन मन रुख छ अनि नशा नशामा कांग्रेस छ । जयनेपाल !

लक्ष्मीराज भण्डारी
नगर उप सभापतिका प्रत्यासी


क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545