Techie IT
आईतबार, वैशाख ७,२०८२

पदका लागि हारालुछ छ, यो राजनीतिको महारोग हो : चित्रबहादुर केसी


 

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पदको लागि हारालुछ हुनु राजनीतिको महारोग भएको बताउनुभएको छ ।
मंगलबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले पद पाउन हारालुछ गर्दा देशको दुर्दशा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पदका लागि हारालुछ छ । त्यसैकारण देशको दुर्दशा भइरहेको छ । यो राजनीतिको महारोग हो ।’

अध्यक्ष केसीले आफ्नो पार्टी पद नपाए रुँदै नहिँड्ने बताउनुभएको । तर, जहाँ जनाधार छ, त्यहाँ भने नछोड्ने उहाँले स्पष्ट पार्नुभयो ।

‘हामी पद नपाए पनि रुँदै हिँड्दैनौं’ केसीले भन्नुभयो, ‘जहाँ आधार छ, जहाँ सम्भावना छ, त्यहाँ हामीले छाड्दैनौं । हाम्रा नाजायज माग जनताले पनि बुझ्छन् । माग न्यायपूर्ण राख्नुपर्छ ।’

आफ्नो पार्टी सहमति भए गठबन्धनमा नभए एक्लै लड्न पनि तयार रहेको केसीले बताउनुभयो ।

उहाँले प्रतिगमनविरुद्ध गठबन्धनको अगुवाई राजमोले गरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले संसद् भंग गरेपछि २०७७ पुस ५ गते गठबन्धन अभियान सुरु गरेकै राजमोले हो । शेरबहादुर देउवा त ५ वर्ष केपी ओली र प्रचण्डले रजाइँ गरुन् भनेर बसेका थिए ।’

तर, कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन सार्न नहुनेमा उहाँको जोड थियो ।

‘गठबन्धनले चुनाव सार्नैहुन्न । २०५९ मा सार्दा २० वर्ष स्थानीय चुनाव धकेलियो । मुलुकको ५ अर्ब खर्च भइसक्यो’ केसीले भन्नुभयो, ‘चुनाव भएन भने लोकतन्त्रले हार्छ । सरकार षड्यन्त्रमा छ भने त्यो गलत हो । हारिन्छ भनेर चुनाव सार्न पाइन्न ।’

उहाँले संघीयता खारेजीको माग राजमोले नछाडेको पनि स्पष्ट पार्नुभयो ।

‘मुलुक बचाउने हो भने संघीयता खारेज हुनुपर्छ । संघीयता बोके चुनाव जितिने, नबोके हार्ने पनि होइन’ केसीको भनाई थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चित्रबहादुर केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545