Techie IT
सोमबार, वैशाख ८,२०८२

आज सत्ता गठबन्धनको बैठक : मुख्य एजेण्डा चुनावी तालमेल


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

उक्त गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । ३० वैशाखमा स्थानीय तहको निर्वाचन तय भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545