सौराहालाई गुल्जार बनाएको एमाले सुनसान बनाएर फर्कियो

चितवन, १६ मङ्सिर : गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसाान बनेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताउनुभयो । महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन् । उहाँले भन्नुभयो, “सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ ।” रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उहाँले भन्नुभयो, “एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो ।” यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडाले बताउनुभयो । मङ्सिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो ।
त्यसो त मङ्सिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए ।” महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका घिमिरेले यो महाधिवेशन नभएको भए गत एक हप्ता सामान्य अवस्थामै बित्ने बताउनुभयो । सङ्घका अध्यक्ष दीपक भट्टराईले एमाले नेता कार्यकर्ता सबै फर्किएपछि सौराहा सुनसान भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कता कता एकान्तमा रहेजस्तो भएको छ ।” सामान्य चहलपहल भए पनि महाधिवेशनमा अत्यधिक भीडभाड भएकाले अहिलेको उपस्थिति सामान्य लागेको छ । उहाँको भनाइमा सौराहामा दैनिक १० हजार नेता कार्यकर्ता बसेका थिए । जसले गर्दा कपाल काट्ने शैलुन, चिया पसलदेखि ठूला होटलसम्म सबैको व्यापार राम्रो भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सौराहामा मात्रै रु २० करोडको व्यापार भएजस्तो लाग्छ ।” यसले अब सौराहाले जस्तोसुकै ठूलो कार्यक्रम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । व्यवस्थापनमा सुरुका दिनमा कठिन भए पनि व्यापार हुँदै जाँदा व्यवसायीमा उत्साह जागेको भट्टराईले बताउनुभयो । काठमाडौँ फर्किनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीलाई डाकेर उनीहरुको गुनासो सुनिसकेपछि आश्वासनसहित धन्यवादसमेत दिनुभएको भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, “हामीलाई हौसला प्राप्त भएको छ ।
” महाधिवेशन अवधिमा रु एक अर्ब हाराहारीको कारोबार भएको पार्टीको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो । पूर्वअर्थमन्त्री एवं सौराहासमेत समेटिएको चितवन क्षेत्र नं १ का सांसद पाण्डेको अनुमानमा आधाभन्दा बढी खर्च चितवनमै भएको छ । देशैभरबाट चितवन आएका नेता कार्यकर्ताले सवारीसाधनलाई नै रु ५० करोड हाराहारी खर्च गरेको भन्दै उहाँले अरु खर्च खानपान, बसाई, घुमफिरमा गरेको उहाँले बताउनुभयो । महाधिवेशनका कारण सौराहासँगै भरतपुर, मेघौली, पटिहानीलगायत चितवनका होटलसँग छिमेकी जिल्ला नवलपरासीको कावासोतीयताका होटल तथा रेष्टुराँमा समेत राम्रो कारोबार भएको छ ।
समग्रमा जिल्लाको आर्थिक कारोबारमा महाधिवेशनले ठूलै सहयोग गरेको सांसद पाण्डेले बताउनुभयो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले महाधिवेशनले प्रचारात्मक काममा निकै सहयोग पुगेको बताउनुभयो । एमाले नेता कार्यकर्ता फर्किएसँगै सुनसान बनेको सौराहामा प्रतिनिधिले धेरै घुम्ने मौका यस पटक नपाएका कारण पुनः आउने अपेक्षा गरिएको उहाँको भनाइ छ । सौराहाको पर्यटकीय महत्वका बारेमा स्वदेश र विदेशमा सन्देश प्रवाह गर्न महाधिवेशन सफल बनेको छ । आगामी दिनमा यसले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा व्यवसायीले राखेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #महाधिवेशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्