Techie IT
सोमबार, वैशाख ८,२०८२

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता


अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ । स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर ८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । सम्मेलनका क्रममा सभामुख सापकोटाले आइपियु सभा तथा असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताउनुभएको थियो ।

सभामुख सापकोटाले शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित नरहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उहाँले आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको बताउनुभयो । संविधान निर्माण, समावेशी, समानुपातिक प्रनिधित्वलगायत लोकतन्त्रका उपलब्धिलाई आफूले सविस्तार अन्तर्राष्ट्रिय समुदायको माझ राखेको उल्लेख गर्दै उहाँले सम्मेलनमा नेपालको प्रतिनिधित्व सही ढंगबाट भएको बताउनुभयो ।

संविधान निर्माणपछि नेपाल लोकतान्त्रिक मार्गमा निरन्तर अघि बढिरहेको मुलुकका रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको आफूले पाएको उहाँले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने धारणा राख्नुभयो । उहाँले संसद्को कामकारबाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्नेसमेत बताउनुभयो । सभामुख नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, सचिव गोपालनाथ योगीलगायत सहभागी हुनुहुन्थ्यो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545