एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ ।
ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने छ ।
माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ ।
पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैँडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ । जुलुसमा सहभागिताका लागि नेतृत्वकर्तालाई निर्देशनसमेत जारी गरिएको छ ।
उनीहरुलाई के–कसरी सहभागी गराउने, व्यवस्थित र मर्यादित बनाउने भन्नेबारे निर्देशन दिइएको हो । नेकपा एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ । एमालेको १०औँ महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । उनीहरु बस्नका लागि सौराहास्थित क्षेत्रीय होटल सङ्घसँग तीन हजार पाँच सय जना अट्ने कोठा सम्झौता गरिएको छ । सौराहामा ६ हजार ५०० जना अट्ने क्षमता छ । अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको सङ्घले जनाएको छ । प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरू हुने अनुमान गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्