Techie IT
शनिबार, वैशाख ६,२०८२

अन्तर्राष्ट्रिय युवा दिवस ः युवानीति कार्यन्वयनमा चुनौति


–शरद शर्मा
काठमाडौँ, २८ साउन ः नेपाल लगायत विश्वभरि नैआज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।
नेपालमा पनि ‘ विश्व अभियानका लागि युवा सहभागिता ः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको छ ।

यसबर्ष कोरोना भाइरस (कोभिड १९)को कारणले दिवस भर्चुअल रुपमा कार्यक्रम गरी मनाउन थालिएको हो ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा भर्चुअल रुपमा विहान ११ देखि दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्माओलीले सम्बोधन गर्नेहुने छ ।

दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्टिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन्१९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन गर्न हुन थालेका छन् । तर युवालाई उच्च प्राथमिकता राखेर सरकारले धेरै कार्यक्रम ल्याएपनि ति कार्यक्रम प्रभावकारी रुपमा कायन्वयन नहुदा युवा लाभान्वित बन्न सकेका छैनन ।

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

यस्तै सरकारले ल्याएको १५ औ योजनाको आधारपत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसंग जोडेको छ ।
यसैगरी युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् ।
नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पु¥याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ ल्याएको छ ।

युवामा नेतृत्व विकास र रोजगारको समस्या हल गर्न ल्याइएका नीतिगत तथा संरचनागत संस्थाले नतिजामुखी परिमाण दिन नसक्दा बेरोजगार, नीतिगत निर्णय, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता समस्या अहिले पनि रहेका छन् ।
कोभिड १९ को कारणले अहिले मुलुकमा लाखौ युवा वेरोजगार बन्नु परेको अवस्था छ । सरकारले ति युवालाई समेटेर रोजगारीका कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।
परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवाका मुद्दा सम्बोधनकै क्रममा रहेकोले युवाका क्षेत्रमा केही मात्रामा भएपनि सकारात्मक परिवर्तन देखा पर्न थालेको बताउनुहुन्छ ।
उहाँले युवाका क्षेत्रमा धेरै नीतिगत काम भएपनि कार्यन्वयनमा चुनौति रहेको बताउनुहुन्छ । “अहिले मुलुकमा युवाका क्षेत्रमा काम गर्नका लागि धेरै नीतिगत कानून बनेका छन् ”, उहाँले भन्नुभयो, “ तर ति नीति अनुसार कार्यक्रम कार्यन्वयन नहुँदा युवाका मुद्दा सम्बोधन गर्न भने चुनौति थपिएको छ ।”

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशिल र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्यायो । तर उक्त कार्यविधि पूर्ण रुपमा लागु नहुँदा हजारौ युवाले बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन । दुई बर्षमा २८ हजार ६८७ जना युवाले मात्र उक्त कर्जा पाएका छन् । यसबर्ष करिव ६४ अर्ब रुपियाँ कर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

परिषद्का उपाध्यक्ष ढुंगेलले युवाका मुद्दा सम्बोधन गर्न ल्याइएका नीतिगत कानूनलाई विस्तार कार्यन्वयन तिर लगिरहेको बताउनुभयो । परिषद् गठन पश्चात युवाका क्षेत्रमा धेरै काम भएको उहाँ बताउनुहुन्छ ।

परिषद्ले सङ्घ र प्रदेशमा नमूना युवा संसद् गठन गरी अभ्याससमेत गरी सकेको छ । यसैगरी परिषद्ले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लबसमेत गठन गरेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् ।

युथ एक्सन नेपालका अध्यक्ष मदन पोखरेलले राज्यले युवाका मुद्दा सम्बोधन गर्ने खालका कार्यक्रम ल्याए पनि कार्यन्वयनमा समस्या भएको बताउनुभयो । उहाँले नीतिगत रुपमा युवाका क्षेत्रमा रचनात्मक काम गर्ने खालका कार्यक्रम ल्याइएपनि कार्यन्वयन नहुँदा विदेशभूमिका लाखौ युवाले रगत पसिना बगाउनु परेको बताउनुहुन्छ ।
“नीतिगत रुपमा युवाका क्षेत्रमा धेरै नै काम भएको छन् । युवालाई स्वरोजगारमुखी बनाउनेदेखि उत्प्रेरणा दिने खालका कार्यक्रम रहेका छन,” उहाँले भन्नुभयो, “तर ति नीतिमा रहेका कार्यक्रम कार्यन्वयन गर्न नसक्दा युवाका क्षेत्रमा नतिजामुखी परिमाण दिन सकिएको छैन । त्यसैले ति नीतिलाई सहजै कार्यन्वयन गर्न खालका कार्यक्रम ल्याउनु पर्दछ ।”

उहाँले युवाका मुद्दालाई सम्बोधन गर्ने हो भने मुलुकको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्न सकिने बताउनुभयो ।
श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्कबाट वार्षिक पाँच लाख ३८ हजार विदेश जानेमा युवा अहिले तीन लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा युवा केही न केही रोजगारतिर लागेको देखिन्छ । यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल दुई प्रतिशत मात्र दक्ष जनशक्तिका रूपमा रहेका छन् ।

युवाका क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा १४५ स्थानबाट ७७ औँ नम्बरमा रहेको छ ।
१९.२ प्रतिशत युवा पूर्ण बेरोजगार रहेका, कृषिमा युवाको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था विद्यमान छ ।

राष्ट्रिय युवा सङ्गठनका संयोजक रामप्रसाद सापकोटाले राज्यले युवाका मुद्दामा खर्च गरेपनि परिमाणमुखी बनाउन नसकेको बताउनुभयो । उहाँले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारीमुखी बनाउने जस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको बताउनुभयो ।
“नीतिगत रुपमा युवाका मुद्दा धेरै छन,”उहाँले भन्नुभयो, “तर ति मुद्दालाई व्यवहारमा बनाउने कार्यक्रम छैनन ।”

नेपाल युवा संस्था (आयोन) का अध्यक्ष जगदीश ऐरले पहिले भन्दा युवाका क्षेत्रमा धेरै नीतिगत काम भएपनि कार्यन्वयन नहुँदा युवाका समस्या जहाँको तही रहेको बताउनुभयो । “,शुरुमा युवा दिवस मनाउँदा युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय नै रहेको थिएन”, उहाँले भन्नुभयो, “अहिले सरकारले नै दिवस मनाउन थालेको छ । दिवसलाई सार्थकता दिनका लागि युवाका क्षेत्रमा बनेका नीतिलाई कार्यन्वयन गराउनुपर्दछ ।”
उहाँले कोभिड १९ को कारणले धेरै युवा वेरोजगार भएको अवस्थामा सरकारले रोजगारीका प्याकेज ल्याउनुपर्ने बताउनुहुन्छ ।

नेपालमा यसआर्थिक बर्षमा संघीय सरकारले ६४ अर्ब ४९ करोड र प्रदेश सरकारले १२ अर्ब १९ करोड तथा स्थानीय तहले पनि करोडौ रकम युवाका क्षेत्रमा काम गर्ने भनेर छुट्टाएका छन् ।

परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले बजेट अनुसार कार्यक्रम प्रभावकारी कार्यन्वयन हुन सके युवाका क्षेत्रमा धेरै काम गर्न सकिने बताउनुहुन्छ ।
उहाँले राज्यले उच्च प्राथमिकतामा राखेर युवाका क्षेत्रमा बजेट विनियोजन गरेपनि एकद्धार प्रणालीबाट कार्यक्रम हुन नसक्दा चुनौति रहेको बताउनुहुन्छ ।
उहाँका अनुसार अहिले १८ वटा मन्त्रालयले युवाका क्षेत्रमा काम गरिरहेका छन । तर ति मन्त्रालयबीच समन्वय नहुँदा युवा लक्षित कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
ट्याग : #अन्तर्राष्ट्रिय युवा दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545