Techie IT
शनिबार, वैशाख ६,२०८२

यसरी मनायो टोखाले ४२ औंँ पुष्पलाल स्मृति दिवस (फोटो फिचर)


काठमाडौं । नेकपा टोखा नगरपालिकाले आज एक कार्यक्रम गरेर ४२ औँ स्मृति दिवस मनाएको छ । आज बिहान मनोहर माध्यमिक विद्यालयमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

आजको कार्यक्रम टोखा नगरपालिका भित्रका वडा कमिटिहरुले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रममा टोखा नगर पाटी कमिटि, वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेकपाका जिल्ला सदस्यहरुको समेत उपस्थिति रहेको थियो । पुष्पलाल स्मृति कार्यक्रमको मुल ब्यानरमा आज कम्युनिस्ट पार्टीका माक्स–एंगेल्स–लेनिन–स्टालिन–माओको पाँच टाउकालाई राखिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ स्मृति सभाको प्रमुख अतिथिमा नेकपा बागमती प्रदेस कमिटि सदस्य कल्पना शर्माले कम्युनिस्ट पार्टीमा एकता–सङ्घर्ष–रुपान्तरण हुँदै जानुपर्ने बताउनुभयो । उनले पुष्पलालको मार्गदर्शनअनुसार पार्टी नेतृत्व नहिँडेको बताइन । शर्माले नेकपालाई एकतावद्ध बनाउने कुरामा अहिले नेतृत्व वर्गमा समस्या आएको बताउनुभयो । दुश्मनसँग लड्ने बेलामा पार्टी फुट्नु हुँदैन । गुटगत राजनीतिले पार्टीलाई कहिल्यै जित हासिल गर्दैन ।

कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य धर्म डंगोल, नवराज ढकाल र नेकपा टोखा नगर पार्टी कमिटि अध्यक्ष दिपक बानियाँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन टोखा नगर कमिटि सदस्य सुदर्शन थापाले गरेका थिए । कार्यक्रमको सभापतित्व वडा नं. १० का अध्यक्ष नन्दलाल अधिकारी थिए ।

वडा कमिटिहरुले कार्यक्रम गर्नलाई नगर कमिटिलाई धेरैपटक भन्दा पनि नगरेपछि वडा कमिटिहरु मिलेर गर्न बाध्य भएको नेकपा टोखा नगर कमिटि सदस्य सुदर्शन थापाले बताउनुभयो । कार्यक्रमा बोल्दै वडा नं. ५ का अध्यक्ष जग्गनाथ ढकाल, वडा नंं. ९ का अध्यक्ष जेपी नेपाल र नेकपा जिल्ला पार्टी कमिटि सचिवालय सदस्य धर्म डंगोलले पुष्पलाल स्मृति दिवसको बारेमा मन्तव्य राखेका थिए ।

वडा नं. ५ का अध्यक्ष जग्ग्नाथ ढकालले पुष्पलाल स्मृतिको अवसरमा पुष्पलाल दिवस मनाउन पार्टी केन्द्रको निर्देशन आवश्यक छैन । नेकपाको जनप्रतिनिधिहरुले जनताको शिर झुक्ने गरि काम गर्न नहुने बताए । पैसा कमाउने भए राजनीति गर्नेहोइन व्यापारी बन्दा हुन्छ । जनप्रतिनिधि भएर पैसा खाने काम गर्न नहुने बताए । यस्ता बेथिति नेकपाका जनप्रतिनिधिभित्र पनि छन् ? जनताको पक्षमा सुशासन कायम भएको छ कि छैन ? पार्टी कार्यकर्ताहरुले जनप्रतिनिधिहरुको मूल्याङ्कन गर्न आवश्यक छ । अहिले भटाभट पैसा खानेहरुले पछि फेरि टिकट किनेर उम्मेदवार बन्न सक्छन् ? हिजोको कुरा गरेर पूर्व एमाले आफ्नो मात्र कुरा गर्ने, पूर्व माओवादीले आफ्नो मात्र कुरा गरेर पार्टी एकता नटिक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष जेपी नेपालले कम्युनिस्ट पार्टी भनेको विधी र पद्धतिमा चल्ने पार्टी हो । आज हामीले विधी, पद्धति र अनुशासन भुलेका छौं । हामीहरु विचलित भएका छौं । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु भनेका आर्दशवान, नैतिकवान रहनुपर्छ । टोखा नगर कमिटि क्रियाशिल भएर जुझारु कार्यकर्ताहरुलाई कामको जिम्मा दिनुपर्छ । कमरेड पुष्पलाल, मनमोहन अअधिकारी, मदन भण्डारीलाई कहिल्यै भुल्नु हुँदैन । जनयुद्धका क्रममा सहिद भएका योद्धाहरुको सपनालाई कहिल्यै भुल्नु हुँदैन जसले परिवर्तनका लागि आफ्नो जीवनलाई बलिदान दिएका थिए । एउटै ठूलो कम्युनिस्ट पार्टी बनाउने महान् अभियानमा हामी लाग्नुपर्छ ।

कार्यक्रममा बोल्दै धर्म डंगोलले आजसम्म कम्युनिस्ट पार्टीहरु विभिन्न टुक्रा–टुक्रामा विभाजित मात्र भएका छन् । माक्र्सवादको सिद्धान्नअनुसार कम्युनिस्ट पार्टीमा एकता–सङ्घर्ष–रुपान्तरण हुनुपथ्र्यो तर नेपालको कम्युनिस्ट आन्दोलनमा एकता–सङ्घर्ष–फुट भएको छ । आजको कम्युनिस्ट एकता नेताको राइँदाईको लागि एकता होइन । यो नयाँ नेपाल निर्माण गर्दै समाजवाद स्थापनाका लागि दुई ठूला पार्टी एकता भएको हो । पार्टी एकतालाई लात हान्दै नेतृत्वले हिँड्न खोजेको देखिन्छ, त्यसकारण नेताहरुलाई खबरदारी गर्न आवश्यक छ । हामी अहिले समाजवाद प्रारम्भ भएको देख्न चाहन्छौं । अहिले नेताहरु समाजवाद उन्मुख कार्यक्रम ल्याएर समाजवादमा पुगने विषयमा छलफल नगरी पदका लागि मात्र छलफल भइरहेको छ ।

कार्यक्रमका सबै वत्ताहरुले पार्टी फुट हुनबाट जोगाउनुपर्छ भन्दै बोलेका थिए । गुटगत राजनीति गर्न नहुने बताएका थिए । सभापति नन्दलाल अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #पुष्पलाल स्मृति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545