Techie IT
शनिबार, वैशाख ६,२०८२

भरतपुरको विकास आइकन ६ लेन सडक- शिलान्यास र उद्घाटनको संयोग ओलीलाई, धर्मसंकटमा रेनु


चितवन । चितवनको भरतपुर महानगरपालिकाको ६ लेन सडक अहिले यहाँको विकास देखाउने विकास आइकन बनेको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडकको बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ ।

 

सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।

सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । मेडियनमा दुबो लगाउने र आकर्षक फूलहरूका बिरुवा रोपिएको छ । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रसलगायत लाइनिङका काम गरिएको छ ।

 

भरतपुरको सहरको विकास आइकन मानिएको सडक निर्माण त लगभग पूरा भइसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार अब ट्राफिक लाइटको काम बाँकी छ ।

तर, योसडक भरतपुरको विकास आइकन मात्रै होइन यहाँको राजनीतिक जसको तानातानमा समेत परेको छ । रमाइलो त के छ भने ६ लेन सडक निर्माण थालनी र नेकपा फुटको थालनी एकै समय भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष मध्ये एक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७७ माघ १७ मा प्रधानमन्त्रीको हैसियतमा उनले सडक विस्तारको शिलान्यास गरेका थिए ।

नेकपा फुटको संघारमा रहेको त्यो समयमा तत्कालीन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको पहिलो कार्यकाल चलिरहेको थियो । आफ्नो क्षेत्र भित्र राष्ट्रिय आयोजनामा समेटिएको सडक विस्तारको शिलान्यास समारोहमा मेयर दाहाल उपस्थित भइनन् । शिलान्यासपछि तत्कालीन प्रधानमन्त्री ओलीले नै मञ्चबाट भाषणको क्रममा उपस्थित नागरिकहरूलाई सोध्दै व्यङ्ग्य गरेका थिए, अहिले तपाईँहरूको मेयर कहाँ हुनुहुन्छ थाहा छ ? उहाँ आज पिकनिक खान जानुभएको छ ।

शिलान्यासमा मेयर अनुपस्थित भए पनि सडक निर्माणको काम अघि बढ्यो । डिभिजन सडक कार्यालयले संघीय बजेटमा सडक निर्माण अघि बढायो । २८ महिनाभित्र काम सक्ने गरी २०७७ असोज २६ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक पटक म्याद थप गर्दै काम सम्पन्न गर्दा सडक विस्तार २०८१ पुसमा सम्पन्न भएको हो । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार २०७९ माघमा सडक विस्तारको काम सकिनुपर्ने थियो ।

 

सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अहिले सडक निर्माणको काम ट्राफिक लाइट जडान बाहेक सम्पन्न भएको छ । संयोग के भयो भने यस सडकको उद्घाटन गर्न पुनः प्रधानमन्त्रीको हैसियतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै आउने भएका छन् । भोलि अर्थात् वैशाख ५ गते यो सडकको उद्घाटन लगायतका केही औपचारिक कार्यक्रमका लागि प्रधानमन्त्री ओली चितवन आउँदैछन् ।

प्रधानमन्त्री चितवन आउने भएपछि माओवादी विचारधारा राख्ने मानिसहरूले रेनु दाहालको अगुवाइमा सम्पन्न गरेको सडक भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना गरिरहेका छन् । भने एमाले लगायतका अन्य दलहरूले संघीय सरकारको बजेटमा भएको सडक विस्तारलाई एउटा मेयरले गरेको विकास भन्न नहुने तर्क गरिरहेका छन् ।

अहिले पनि एमाले माओवादीको सम्बन्ध सङ्लिएको संकेत देखिएको छैन । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले त चितवन नै आएर नयाँ वर्षसँगै यो सरकार फेरिने समेत दाबी गरेर काठमाडौँ समेत फर्किन भ्याएका छैनन् । यस हिसाबले हेर्दा यो सडक विकास आइकन मात्रै होइन भरतपुरको राजनीतिक प्रतिस्पर्धाको समेत आइकनको रूपमा मानिएको छ ।

नेकपा एमालेका जिल्ला नेता तथा कार्यकर्ता प्रचारात्मक शैलीका कार्यक्रम गरिरहेका छन् । उनीहरूले उक्त कार्यक्रमको पूर्व सन्ध्यामा आज दिउँसो सोही सडक क्षेत्रमा मोटरसाइकल र्‍यालीको समेत आयोजना गरेका छन् ।

यही पृष्ठभूमिममा प्रचण्डकी छोरी समेत रहेकी भरतपुर महानगर प्रमुख रेनु दाहाल प्रधानमन्त्री आउने सडक उद्घाटन समारोहमा उपस्थित होलिन्, नहोलिन् भन्ने आशंका पनि छँदैछ । मान्छेहरूले अहिले पनि रेनु दाहाल उक्त कार्यक्रममा सहभागी हुन्नन् भन्ने आँकलन गरिरहेका छन् ।

मेयर रेनु सडक उद्घाटनमा जान्छिन् ?

भरतपुरको ६ लेन सडक एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गत भरतपुरमा रहेको सडक डिभिजन कार्यालयमार्फत निर्माण गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडक क्षेत्रमा पर्ने ६ किलोमिटरको सबै काम डिभिजन सडक कार्यालय भरतपुरमार्फत गरिएको हो । जसमा सडक विस्तार, सडक बत्ती, हरियाली लगायतका काम भएको छ ।

उनका अनुसार सडकमा ट्राफिक लाइट जडान गर्नका लागि टेण्डर आह्वान गर्न लागिएको जानकारी दिए । ट्राफिक लाइट जडान पनि संघीय बजेटमार्फत हुने जनाउँदै उनले अहिले भने भोलिको उद्घाटनको तयारीमा रहेको नेपाल प्रेसलाई बताए ।
संघीय सरकारमार्फत भएको काम जुन कार्यालय मातहत भएको हो उसैको आयोजनामा उद्घाटन हुने प्रचलन छ । भोलिको उद्घाटन पनि सडक डिभिजन कार्यालयले नै गर्दै छ ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको प्रमुख सिनियर डिभिजन इन्जिनियर लामिछानेले बताएका छन् ।

यसैबीच जिल्लाका सबै जनप्रतिनिधिलाई पनि निमन्त्रणा पठाइसकेको उनले जानकारी दिए । हामीले चितवनका निर्वाचित जनप्रतिनिधि, स्थानीय पालिकाका प्रमुख, राजनीतिक दलका प्रमुख सबै जनालाई निमन्त्रणा पठाइसकेका छौँ, उनले भने, ‘सबैजनाले सहभागी हुने बताउनुभएको छ ।’

नेपाल प्रेससँगको कुराकानीले डिभिजन प्रमुख लामिछानेले भरतपुर महानगरपालिकाको मेयरलाई पनि निमन्त्रणा पत्र पठाइसकेको बताएका थिए । तर, बिहान साढे ११ बजेसम्म भने आफूले निमन्त्रणा पत्र नपाएको मेयर दाहालले बताएकी छन् ।

देशको प्रधानमन्त्री आउने कार्यक्रममा म नजाने कुरै भएन, भरतपुर महानगरका मेयर दाहालले नेपाल प्रेससँग कुरा गर्दै भनिन्, ‘मैले निमन्त्रणा पाइसकेको छैन । आधिकारिक निम्ता पाएँ भने कार्यक्रममा सहभागी हुनेछु ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धर्मसंकटमा रेनु, #भरतपुरको विकास आइकन ६ लेन सडक- शिलान्यास र उद्घाटनको संयोग ओलीलाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Rain
5:33 am6:31 pm +0545