काठमाडौं महानगरमा क्यूआर कोडबाट खुल्ने नयाँ लिफ्टः क-कसले चढ्न पाउँछन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयको पार्किङ एरियामा दुईवटा लिफ्ट छन् । तीमध्ये नयाँ लिफ्टको छेउछाउ कोही पुग्यो भने त्यहाँ रहेका नगरप्रहरीहरू चनाखो भइहाल्छन् ।
महानगरको पार्किङ एरियादेखि नै फोटो-भिडिओ खिच्ने अनुमति प्रशासन प्रमुखसँग लिनुपर्ने रहेछ । पार्किङ एरियामा फोटो/भिडिओ खिच्न नपाइने सूचना त कतै छैन, तर पनि अनुमति लिनुपर्ने नगर प्रहरीले बताए ।
पछिल्लो समय मेयर बालेन्द्र साहको कार्यकक्षमा उक्लिनका लागि छुट्ट लिफ्ट बनाइएको चर्चाले व्यापकता पाएपछि यस्तो नियम बनाइएको हामीले अनुमान लगायौं ।
महानगरका दुईवटा भवन छन् । दुईवटै भवनलाई एउटै बनाइए पनि आधा भाग मेयर-उपमेयर, प्रशासकीय अधिकृत, वातावरण विभागलगायतलाई छुट्याइएको छ भने अर्को आधा भागमा विभिन्न विभाग, शाखा, महाशाखाहरूको कार्यकक्ष छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भएको भवन ६ तलाको छ । महानगरमा सबैभन्दा बढी सेवाग्राही उनीहरूलाई नै भेट्न पुग्छन् ।
उपमेयर सुनिता डंगोलको कार्यकक्ष तेस्रो तल्लामा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको चौथो तल्ला र मेयर बालेन साहको कार्यकक्ष ५ औं तल्लामा छ । यी जनप्रतिनिधिको कार्यालयमा पुग्न भर्याङ वा लिफ्टको प्रयोग गर्न सकिने विकल्प छ । भर्याङको छेउमा भएको लिफ्ट नदेख्ने केही सेवाग्राही हिँडेरै जनप्रतिनिधिको कार्यकक्षमा पुग्छन् भने केही नयाँ बनेको लिफ्टबाट जान खोज्छन् । तर, नयाँ लिफ्टमा सर्वसाधारणलाई चढ्ने अनुमति छैन । यो प्राय ‘लक’ हुन्छ ।
लिफ्टको ढोकाबाहिर ‘क्यूआर कोड’ राखिएको छ । कसैले झुक्किएर बटम थिच्न खोजे नगर प्रहरीले ‘यो तपाईंहरूको लागि होइन’ भन्दै फर्काइदिन्छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर स्वयंले एक अन्तर्वार्तामा महानगरमा मेयर साहको लागि मात्रै छुट्टै लिफ्ट बनाइदिएको हालै बताएका थिए । यो लिफ्ट अरु कसैले पनि प्रयोग गर्न नमिल्ने दाबी उनले गरेका छन् ।
उनको आरोपको वास्तविकता बुझ्न नेपाल प्रेसकर्मी महानगर पुग्दा भर्याङ छेउमा रहेको लिफ्टमा सेवाग्राही र कर्मचारीहरूको भिड थियो । कोही भ्याङबाटै हिँडिरहेका थिए । तर, नजिकै रहेको नयाँ लिफ्ट भने न सेवाग्राहीले न त कर्मचारीले प्रयोग गरिएको देखियो । लिफ्टमा क्यूआर कोड, ल्यान्डलाइन फोनसमेत राखिएको थियो । जोसँग उक्त छ पासवर्ड छ उसले मात्र प्रयोग गर्न सक्ने बनाइएको रहेछ ।
त्यहाँ खटिएका एक नगर प्रहरीलाई यो लिफ्ट कसले प्रयोग गर्ने हो भनेर सोध्दा ‘मेयर सा’वले हो’ भन्ने जवाफ दिए । उपमेयरहरूले प्रयोग गर्नुहुन्न ? भनेर सोध्दा उनी अक्मकाए । स्पष्ट जवाफ दिन चाहेनन् ।
महानगर प्रवक्ता भन्छन्- मेयरबाहेक अरु चढेको देखेका छैनौं
काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धरले मेयर बालेन साहले आफ्नो कार्यकक्षमा जानको लागि मात्रै डेडिकेटेड लिफ्ट बनाएको बताउँछन् ।
‘उहाँले आफूले मात्र प्रयोग गर्ने गरी लिफ्ट बनाएको अवस्था छ । सर्वसाधरण कसैले पनि त्यसमा चढ्न सक्दैनन् ।’
आफूले उक्त लिफ्ट मेयर साह बाहेक अरुले प्रयोग गरेको नदेखेको उनले बताए ।
‘जनताको करबाट निर्माण गरिएको लिफ्ट हो, तर सर्वसाधारणले प्रयोग गर्न पाउँदैनन् । त्यो लिफ्ट सिधै मेयरको कार्यकक्षअघि खुल्छ । मेयरलाई महानगरकै त्यहीँकै कर्मचारीले समेत आए-गएको नदेख्ने गरी बनाइएको छ । मेयर भनेको त जनताको गुनासो सुन्नुपर्ने मान्छे होला नि । त्यसरी जनतासँग लुकेर बस्ने, बेग्लै लिफ्ट चढ्ने मेयर जनताप्रेमी हुन्छ ? उहाँ किन सर्वसाधरणसँग फेस गर्न सक्नुहुन्न ?’, प्रवक्ता मानन्धरले प्रश्न गरे ।
मेयरको सचिवालय भन्छ- महानगरका ‘टप थ्री’ ले प्रयोग गर्छन्
महानगरकै कार्यलयमा राखेको लिफ्टको विरोध गर्नुपर्ने कुनै कारण नभएको मेयर साहको सचिवालय बताउँछ ।
बालेनका स्वकीय सचिव भूपदेव साह भन्छन्, ‘व्यक्तिको घरमा भए एउटा कुरा, यो सरकारी भवनमा राखेको हो । मेयर साह बागदरबार हुँदै बनेको हो । प्राइभेट घरमा राखेको जसरी नचाहिँदो प्रचार गर्न खोजिएको छ ।’
उक्त लिफ्ट मेयर, उपमेयर र प्रशासकीय अधिकृतले प्रयोग गर्ने उनले बताए ।
‘यो लिफ्ट सबै तलामा जान्छ । जो पनि आउन पाउँछ । त्यसमा सिन्डिकेट छैन । पुरानो लिफ्ट जतिबेला पनि व्यस्त हुन्छ । मेयरलाई भेट्न उच्चस्तरीय गेस्टहरू आउँदा सेवाग्राहीहरूसँगै त्यो लिफ्टमा चढाउन समस्या हुने भएकाले नयाँ बनाइएको हो,’ साहले थपे ।
महानगर स्रोतका अनुसार भने मेयर कार्यालय आउँदा सेवाग्राहीले नघेरुन् भनेर बेग्लै लिफ्ट बनाइएको हो ।
‘सेवाग्राहीलाई सचिवालयले कुनै काम हुँदैन भनेर फर्कादिन्छ । तर, उनीहरू मेयर-उपमेयरलाई भेटेरै जाने भर कुरेर बस्छन् । मेयर-उपमेयर आइसकेपछि पछि-पछि लागेर डिस्टर्व हुन सक्ने भएकाले यो लिफ्ट बनेको हो,’ सचिवालय स्रोतले भन्यो ।
अर्को उद्देश्य चाहिँ महानगरमा आउने कोही विशिष्ट अतिथिलाई लिफ्ट वा भर्याङ चढ्दा सेवाग्राहीले फोटो-भिडिओ नखिचुन् भन्ने पनि रहेको मेयर सचिवालयको दाबी छ ।
यो लिफ्ट गत साउनमा तयार भएको थियो ।
‘मेयरको ठाडो आदेशले बनेको होइन । त्यतिकै त कसैले पनि बजेट खर्च गर्दैन । वडाध्यक्षहरूले नै भन्नुभएको हो । दुईवटा लिफ्टले आउने-जाने मान्छेलाई पनि पुग्दैन,’ सचिवालयका एक सदस्यले भने ।
राजनीतिक पूर्वाग्रह राखेर जे कुरामा पनि प्रश्न उठाइएको उनको दाबी छ ।
‘जो-जोसँग पासवर्ड छ, उसले प्रयोग गर्न पाउँछन् । तीनजनाकै सचिवालयले पासवर्ड लिएको छ । बजेट उहाँहरूले पास गर्नुभएको हो । उता लिफ्ट नहुँदा हिँडेरै माथि जानुहुन्थ्यो ।
नकारे प्रशासन प्रमुखले
महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेले मेयर, उपमेयर र प्रशासकीय अधिकृतले नयाँ लिफ्ट प्रयोग गर्ने गरेको जानकारी दिए । मेयर साहले मात्रै लिफ्ट प्रयोग गर्ने हल्ला सत्य नभएको उनको भनाइ छ ।
काफ्लेले भने, ‘हाम्रो बिल्डिङ लामो छ । ठूलो पनि छ । एउटा लिफ्ट पहिल्यै थियो । तर, त्यसले नपुगेर अर्को थप्नै पर्ने भयो । जुन एरियामा थिएन, त्यहीँ थपेको हो । निर्माण विभागले गरेको हो । उपमेयर र प्रशासकीय अधिकृतले पनि त्यही लिफ्ट प्रयोग गर्नुहुन्छ । भिडभाड नहोस् भनेर थपेको हो । लिफ्ट सानो भएको हुँदा सर्वसाधारणलाई प्रयोग गर्न दिने अवस्था छैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगरमा क्यूआर कोडबाट खुल्ने नयाँ लिफ्टः क-कसले चढ्न पाउँछन् ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्