काठमाडौं टावर भत्काइदिने महानगरको तयारी ! बालेनले निर्णय लिइसकेको सचिवालयको दाबी

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गइरहेको छ । सरकारसँग टकराव बढिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उक्त टावर नै भत्काइदिने योजना बनाएका छन् ।
मेयर शाहले भ्यूटावरमा भ्रष्टाचार भएको आरोप लगाउँदै भत्काउने तयारी गरेका हुन् । यसमा सरकारको पनि मिलेमतो रहेको आशंका उनले गरेका छन् ।
मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव साहले भ्यूटावर भत्काउन लागिएको बताए । यसलाई नभत्काएसम्म भित्री कुरा बाहिर नआउने भएकाले यो निर्णय लिइएको उनको भनाइ छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमित तवरबाट काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप मेयर शाहले लगाएका थिए ।
सोही आरोपमा छानबिन गर्ने भन्दै उनले गुरागाईंलाई कार्यालय आउन दिएका छैनन्, तर आफैंले गठन गरेको छानबिन समितिले गुरागाईं निर्दोष रहेको निचोड निकालेपछि बालेनले प्रतिवेदन नै बुझ्न मानेनन् । त्यसपछि महानगरकै तीन विभागीय प्रमुखहरुलाई प्रतिवेदन लेख्न लगाएका थिए । उक्त प्रतिवेदनले पनि प्रशासकीय अधिकृतलाई भ्रष्टाचार आरोप लगाएको छैन । न काठमाडौं टावर भत्काउने सुझाव नै दिएको छ ।
स्वकीय सचिव साहले भने काठमाडौं टावरको विषयमा छानबिन गर्न बनाइएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजेको दाबी गरे ।
उनले भने, ‘सम्बन्धित जुन जुन विभागले राय पेश गरेको छ, त्यहीअनुसार नै काठमाडौं महानगरपालिका अघि बढ्न खोजेको हो । सरकार आफैं भ्रष्टाचार, लेनदेन र जनताको पैसामा खेलवाड गरिरहेको छ ।’
मेयर शाहलाई बुझाएको रायमा काठमाडौं टावर भत्काउनुपर्ने कुरा उल्लेख नभएको विषयमा प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिएनन् । बरु उनले भ्रष्टाचारको पोल खोल्न नै टावर भत्काउनुपर्ने तर्क गरे ।
उनी भन्छन्, ‘नेपाल सरकारले आफूले गर्नुपर्ने दायित्व पूरा नगरेको अवस्थामा महानगरपालिकाले भ्यू टावर भत्काइसकेपछि मात्रै यसमा कस-कसको सलंग्नता छ भन्ने पोल खुल्छ । त्यसको लागि महानगरपालिका अगाडि बढ्ने छलफल भएको छ । हामी भत्काउने तरखरमा छौं ।’
पीपीए मोडलको संरचना निर्माणको अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने साहले बताए । समितिले टावरको बारेमा अध्ययन गरिरहेको र छिट्टै प्रतिवेदन आउने उनको भनाइ छ ।
उनी भन्छन्, ‘यसको पहिल्यैदेखि एउटा अध्ययन प्रक्रिया चलिरहेको छ । प्रकिया टुंगिनेबित्तिकै हामी अगाडि बढ्छौं । जहाँ-जहाँ छलफल हुनुपर्ने हो, त्यहाँ-त्यहाँ छलफल हुन्छ ।’
महानगरकै प्रवक्ता अनभिज्ञ
महानगरका प्रवक्ता नवीन मानन्धर भने मेयरको योजनाप्रति बेखबर देखिएका छन् । उनले भ्यू टावर भत्काउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
उनले भने, ‘मलाई थाहा भएसम्म यस विषयमा कुनै छलफल भएको छैन । मेयरकै सचिवालयभित्र मात्र छलफल भएको भए अर्कै कुरा ! नत्र कुनै पनि छलफल भएको छैन ।’
भ्यू टावर अहिलेसम्म नियमानुसार नै बनेको मानन्धरले उल्लेख गरे ।
उनले भने, ‘अहिलेसम्मको संरचना भनेको त नियमसंगत ढंगबाट बनिरहेको हो नि ! बाँकी बनाउन दिइएको नक्सापासको मात्रै विवाद हो । बनिसकेको संरचना यत्तिकै भत्काउन मिल्दैन होला ! अरु हामीलाई थाहा भएन ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं टावर भत्काइदिने महानगरको तयारी ! बालेनले निर्णय लिइसकेको सचिवालयको दाबी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्