Techie IT
सोमबार, वैशाख ८,२०८२

व्यक्तिगत प्रयासमा तिलोत्तमाको मैदानमा फ्लडलाइट झलमल, कीर्तिपुरमा सरकारकाे अझै अलमल


रुपन्देही । नेपालमै पहिलोपटक क्रिकेट मैदानमा फ्लड लाइट जडान भएपछि क्रिकेट खेलको संरचनामा नयाँ आयाम थपिएको छ । निजी क्षेत्रबाट बन्दै गरेको मैदानमा करोडौं लगानी गरेर केही समयमा नै यो लाइट जडान भएपछि काठमाडाैंको कीर्तिपुरस्थित मैदानमा थप दवाव श्रृजना भएको छ ।

 

अष्ट्रेलिया बस्ने गुल्मीका विनोद कुँवरले निजी लगानीमा निर्माण गरेको रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको हाे । स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लडलाइट जडान सम्पन्न भएको जनाएर यसको भौतिक पूर्वाधारमा नयाँ कामको सुरुवात भएको जनाएका छन् ।

नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको उनले जनाएका छन् । यद्यपि यसको सबै कामको खर्च विवरण नजोडिएकाले र क्यानबाट यसको पूरै स्वीकृत नभइसकेकाले खर्चको विवरण अहिले भन्न नमिल्ने जनाएका छन् ।

 

‘अहिलेसम्म करिब ७ करोड यसको लागि खर्च भइसकेको छ, तर सबै जाँचपास नभएकोले खर्च केही बढ्नपनि सक्छ’ उनले भनेका छन् । नेपालमा रहेका कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट अहिलेसम्म जडान नगरिएको उनले जनाएका छन् । यो लाइट जडानसँगै सोमबारदेखि लाइट टेस्टिङको काम सुरु हुने उनको भनाइ छ ।

२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । यसको परीक्षण तत्काल सकिए अब केही समयमै यहाँ हुने प्रधानमन्त्री कप छनौट प्रतियोगिता पनि रातको समयमा खेलाउन सकिने कुँवरले बताए ।

‘अहिले यो मैदानको ५ क्षेत्रमा यस्तो लाइट जडान भएको छ, यहाँ कुनै पनि खेलाडी, अम्पायर र क्यानले लाइट कम भएको जनाए अर्को राख्न मिल्नेगरी स्पेस राखिएको छ’ उनले भने–‘हामीले अन्य अन्तर्राष्ट्रिय स्तरका मैदान हेरेर त्यसैका आधारमा लगानी गरेर निर्माण गरेकाले धेरै समस्या आउँदैन भन्ने लागेको छ, सबैको माया र सद्भावले काम अघि बढेको छ, हामीले लक्ष्य राखेको १ वर्षअघि नै यो मैदान तयार गर्ने सोँचमा छौं, म र मेरो श्रीमति अष्ट्रेलिया बसेर कमाएर यहाँ लगानी गरिरहेका छौं ।’

नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेञ्जिङ रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए ।

५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने उनले बताए । यो मैदानमा गत वर्षको फागुनयता एक सयभन्दा बढी खेल भैसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । भारतबाट पनि केही क्लब स्तरीय टीम आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भैरहेको उनले बताए ।

‘मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार–चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स चेजिङ रुम र मिडिया बक्ससहित बनाइरहेका छौं । अहिले तेस्रो तलाको काम भैरहेको छ तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौं,’ उनले भने, ’यसपछि हामी प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौं ।’

कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।

सामाजिक सन्जालमा विनोदले मैदानमा फ्लड लाइट जडान भएको खबर राखेपछि निकै धेरै खेलप्रेमीले उनलाई सम्मान गरेका छन् । उनीहरुले सरकारले यति धेरै वर्ष लगाएर गर्न नसकेको काम गरेर खेल क्षेत्रमा ठूलो गुन लगाएको जनाएका छन् ।

खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नेपालमै पहिलो पटक यो मैदानमा रातीमा पनि सहजै खेल्नमिल्नेगरी गरिएको व्यवस्थापनले खेललाई उज्यालोतर्फ लगेको बताउँछन् ।

नेपाली क्रिकेटका पूर्व अन्र्तराष्ट्रिय खेलाडी अहिलेका प्रशिक्षक शक्ति गौचनले एक्ट्राटेकमा भपिएको भौतिक प्रगतिले समस्त क्रिकेटप्रेमीलाई उत्साह थपेको र यो सहित लुम्बिनीमा हुने प्रधानमन्त्री कप छनौटले अब यो क्षेत्रलाई अझै राम्रो गर्ने जनाएका छन् ।

‘यहाँ संरचनाले नै क्यानलाई यहाँ खेल राख्न सहज भएको हो, खेलका लागि पहिलो आवश्यकता भौतिक संरचना हो, रुपन्देहीमा ती आधार बन्दै गएका छन्’ उनले भनेका छन् ।

कीर्तिपुरमा पटक पटक टेण्डर स्थगित

यसअघि सरकारले नै कीर्तिपुरस्थित टियु खेलमैदानमा फ्लड लाइट गर्ने धेरै पटकको घोषणा कार्यान्वयनमा जान सकेको छैन । यसका लागि धेरै पटक नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) लागि परेका छन् । तीन वर्ष पहिला नेपालले आईसीसी विश्वकप लिग–२ को खेल खेल्दै गर्दाबाट नै यसको कार्य सुरु भएको थियो तर अहिलेसम्म कार्यान्वयनमा जान सकेको छैन ।

टेण्डरका लागि बोलपत्र आव्हान गरेपनि दुई पटक रद्द भएर तेस्रोपटक माघ ६ गतेसम्मका लागि खोलिएको थियो । पहिले राखेपले हेरेपनि अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको हो । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ धरौटी तोकिएको थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुट्याएकामा फ्लडलाइटको १० करोड खर्च नभई फिर्ता भएको थियो ।

आर्थिक वर्ष २०८१र८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ । तर किर्तिपुरको मैदानमा यो लाइट जडानका लागि धेरै लागत लागेपनि यही प्रकृतिको मैदानमा त्योभन्दा निकै कम मूल्यमा रुपन्देहीमा जडान भएपछि सरकारलाई चुनौती थपिएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कीर्तिपुरमा सरकारकाे अझै अलमल, #व्यक्तिगत प्रयासमा तिलोत्तमाको मैदानमा फ्लडलाइट झलमल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545