अमेरिकाबाट नेल-हतकडी लगाएर धपाइएका नेपालीलाई ऋण तिर्ने पिरलो, घर जान चाहेनन्

काठमाडौं । ऋण तिर्नु त कता कता, अमेरिका बसाइँभर खान, बस्नकै पिर । त्यसमाथि खुट्टामा नेल र हातमा हतकडीसहित स्वदेश फिर्ता आउनुपरेको पीडा ।अवैध आप्रवासीका रूपमा अमेरिकामा बसेका ९ नेपालीले प्रहरी बयानका क्रममा त्यस्तो कुरा बताएका हुन् । उनीहरूलाई बुधवार त्यहाँको जीपीर २३ विमानबाट काठमाडौं उतारिएको थियो ।
शुरुमा विमानस्थल अध्यागमनलाई जिम्मा लगाइएका उनीहरूलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोमा दिनभरि बयान लिइयो र आफन्तको जिम्मामा उनीहरूलाई छाडियो ।
ल्याइएकामध्ये ८ जनालाई अमेरिकी अध्यागमनद्वारा चार्टर गरिएको जीआरपी २३ विमानबाट र एक यात्रु अन्य यात्रुसरह निजी खर्चमा काठमाडौं ओर्लिएका थिए । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ९ जनालाई नै प्रहरीमा बुझाएको छ ।
अमेरिकाको अध्यागमन कानुनअनुसार अवैध रूपमा उक्त मुलुकमा बसेका आप्रवासीलाई आफ्नै देश फर्किनका लागि केही समय चेतावनी दिने गरिन्छ । चेतावनी दिँदा पनि अटेर गरी बसेमा खुट्टामा नेल र हातमा हत्कडी बाँधेर सम्बन्धित मुलुकको अध्यागमनलाई बुझाइन्छ । जीआरपी २३ विमानबाट आएका ८ जनाले अमेरिकी सरकारको पटक पटकको चेतावनीलाई वास्ता नगरेपछि उनीहरू यातनापूर्वक फिर्ता पठाइए ।
‘चेतावनी दिँदैमा फर्किनुपर्थ्यो नि त’, भन्दै फर्किएका मध्ये एक जनालाई बयान लिने प्रहरीले सोधे । उनले भने, ‘उतै मारिदिएको भए ऋणको चिन्ता हुने थिएन, जिउँदै ल्याएर छाडिदियो, अब कता जाने ?’
आएकामध्ये सबैको बयानका भाषा फरक छन्, तर आशय उही छ, ‘लुक्नु र भाग्नुको उपाय थिएन, फर्किने कुरा त सोचेकै थिएनौँ ।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ९ जनामध्ये थोरै रकम खर्च गरेर अमेरिका जानेको ४० लाख रुपैयाँ खर्च भएको थियो । बढी खर्च गरेर अमेरिका जानेमा एकजनाले ७० लाख तिरेको बताए ।
‘कसैले पनि ऋण तिरेका छैनन्, बरु नेपालमा बस्ने परिवारका सदस्यले शुरु ऋण फर्स्यौट गर्न अन्य ऋण गरेका कारण सबैमा एक किसिमको तनाव देखिन्थ्यो’, ती प्रहरीले बताए ।
अमेरिकामा वैधानिक रूपमा बस्ने कागजात मिलेको र काम गर्न पाएको भए एक वर्षमा उनीहरूले ऋण तिर्न सक्थे । तर, फर्काइएका मध्ये कतिपय त गएकै दिनदेखि अमेरिकी हिरासतमा राखिएका थिए ।
प्रहरीसँग एकजनाले भन्दै थिए, ‘जस्तो गएँ, त्यस्तै आएँ ।’ उनले भने, ‘जाँदा बरु अलिकति पैसा थियो, अहिले त त्यो पनि छैन ।’
उनीहरू नेपालमा उतारिनासाथ विभिन्न सञ्चार माध्यमबाट अध्यागमनमा बुझाइएको नामको सूची सार्वजनिक गरिँदा समस्या भएको उनीहरूले बताए । प्रहरीले सञ्चारकर्मीहरूले कुरा गर्न चाहेको सुनाएपछि उनीहरूले अस्वीकार गर्दै त्यस्तो कुरा भनेका हुन् ।
‘यो समाचार सुनेर गाउँमा भएका आफन्त त्यसै पनि विक्षिप्त हुने भए’, फर्किएका एकले भने, ‘त्यसमाथि हाम्रो ठेगाना, फोटो र भिडियो नै देखाइदिएपछि हामी त मर्नु न बाँच्नुका हुन्छौँ ।
बुधवार फिर्ता आउनेमध्ये एकजना डोटी जिल्लाका, पूर्वी र पश्चिम रुकुमका दुई–दुईजना, रोल्पाका एक र दाङका तीनजना थिए । प्रहरीले आफन्तको जिम्मा लगाउने भनेपछि कतिपयले आफन्त नै बोलाए । तर, अधिकांशले साथीलाई बोलाए । ‘उनीहरू मानसिक रूपमा एकदमै तनावग्रस्त अवस्थामा देखिन्थे’, अनुसन्धानमा संलग्न ती प्रहरीले भने, ‘सबैलाई ऋण तिर्ने चिन्ता थियो ।’
अल्बानियामा नेल खोलियो, काठमाडौंमा हत्कडी
अमेरिकाबाट उडान शुरु हुँदा सबैका हातमा हत्कडी र खुट्टामा नेल बाँधिएको थियो । पूर्वीयुरोपेली मुलुक अल्बानियामा जहाजको इन्धन भर्न अवतरण गरिँदा त्यहाँ एक घण्टा जहाज होल्ड भयो ।
त्यसक्रममा उनीहरूको खुट्टाबाट नेल हटाइयो । हातको हत्कडी भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि मात्रै खोलिएको फर्किएका नेपालीले प्रहरीलाई बताए ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्दा उनीहरूले हात र खुट्टामा रहेको नेल र हत्कडीको डाम नै देखाए । नियमित उडानबाट फर्किएका एक जनाबाहेक सबै भोकै थिए । चार्टर जहाजमा आउनेहरूलाई पानी र केही फलफूलबाहेक केही नदिइएका कारण उनीहरू भोकै अवस्थामा रहेको ती प्रहरीले बताए ।
घर फर्किन कसैले चाहेनन्
पासपोर्टमा उल्लेखित स्थायी ठेगानामा फर्किने चाहना कसैले पनि देखाएनन् । तीमध्ये केहीका परिवार काठमाडौं र स्थायी ठेगाना आसपासका शहरी भेगमा बसोबास गर्ने भन्दै उनीहरू त्यहीँ जाने भनिरहेका थिए । कतिपयमा आफू फर्किएको चिन्ताले परिवारका सदस्यमा मानसिक चिन्ता बढ्ने भन्दै आएको खबर पनि नपाए हुन्थ्यो भनेजस्तो गरिरहेका थिए ।
उजुरी गर्दैनौँ
फिर्ता ल्याइएकामध्ये सबैले अमेरिका जानुपूर्व विभिन्न ‘दलाल’ लाई पैसा बुझाएको स्वीकारे । तर, कसैले तिनको नाम बताएनन् । ‘उनीहरूको काम अमेरिका छिराउने थियो, हामी छिरेर पनि आयौँ’, एकजनाले भने, ‘अब कुन मुखले पैसा फिर्ता माग्न जानु ?’ प्रायःले यस्तै जवाफ दिएको र कसैका विरुद्ध उजुरी नगर्ने बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकाबाट नेल-हतकडी लगाएर धपाइएका नेपालीलाई ऋण तिर्ने पिरलो, #घर जान चाहेनन्
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्