हात्तीगौँडामा के गर्दैछन् रवि ? पर्सामा मुद्दा चलाउन विलम्ब कि गडबडी

काठमाडौं । फागुन ६ गते काठमाडौं जिल्ला अदालतमा पहिलो तारेखका लागि उपस्थित भएयता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ‘गुमनाम’ छन् । सहकारीको बचत अपचलनको अनुसन्धान क्रममा झण्डै तीन महिना हिरासतमा रहँदा उनीबारे निरन्तर ‘अपडेट’ दिने दीपक बोहोरा र प्रमोद न्यौपानेको टीम पनि चुपचाप छन् यतिबेला ।
रविमाथि कास्की, काठमाडौं, रुपन्देही र चितवनमा एकपछि अर्को गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको सरकारले सानो पाइला सहकारी प्रकरणमा पर्सामा पनि मुद्दा चलाउने भनिएकोमा अहिलेसम्म पक्राउ पुर्जी जारी भएको छैन । पर्सामा रविविरुद्ध मुद्दा दर्ता गर्न सरकार किन हच्कियो भन्ने प्रश्न पनि उठेको छ ।
कहाँ के गर्दैछन् त लामिछाने ?
रास्वपा सहप्रवक्ता एवं लामिछानेको सचिवालय संयोजक प्रतिभा रावलका अनुसार उनी काठमाडौंको हात्तीगौँडास्थित निवासमा परिवारिक समय बिताउनुका अतिरिक्त पार्टीको भावी दिशा र दशाबारे समग्र सिंहावलोकन गरिरहेका छन् ।
रावल भन्छिन्, ‘पर्साको मुद्दा दर्तामा अस्वाभाविक ढिलाई भएपछि उहाँ स्थापनायता पार्टीको समग्र पक्षको गम्भीर समीक्षा गरिरहनुभएको छ । मूल नेतृत्वले नै गरिरहेको यो समीक्षाले विगतका कमीकमजोरी सुधार र भविष्यको रणनीति तयारमा स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा छ ।’
राजनीतिक सक्रियतामा अदालती बन्देज नभए पनि लामिछाने न पार्टी गतिविधिमा देखिएका छन्, न उनले सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । उनको निष्क्रियता र मौनताबारे सार्वजनिक चासो पनि बढिरहेको छ ।
रास्वपाका सहकोषाध्यक्ष एवं लामिछानेका निकट सहयोगी दीपक बोहराका अनुसार पर्साको मुद्दामा थुनछेक आदेश आएपछि पार्टी गतिविधिमा फर्किने तयारी थियो । तर, मुद्दा दर्तामै शंकास्पद विलम्ब गरिएका कारण केही समय निष्क्रिय जस्तो बस्नु परेको हो।
बोहराले भने, ‘सभापतिज्यू पार्टी नेताहरूसँग नियमित सम्पर्क र संवादमा हुनुहुन्छ । आवश्यक सल्लाह, सुझाव र निर्देशन दिइरहनुभएको छ । उहाँसँगकै परामर्शमा पार्टीका निर्णय र गतिविधि भइरहेका छन् । भौतिक उपस्थितिमात्रै नदेखिएको हो । त्यो पनि छिट्टै देखिनछ ।’
पर्सामा किन भयो विलम्ब ?
पर्सा प्रहरीले डेढ महिनाअघि नै रवि लामिछानेलगायत विरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सहकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर, सरकारी वकिलले अनुसन्धान पूर्ण नभएको भन्दै फाइल फिर्ता गरिदियो । प्रहरी त्यसयता अनुसन्धान चलिरहेको र सरकारी वकील अनुसन्धान प्रतिवेदनको प्रतिक्षामा रहेको बताउँछ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले भने अनुसन्धानमा थप केही कुरा खुलाउनुपर्ने भन्दै कागजपत्र संकलनको काम अनुसन्धान अधिकृतबाट भइरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भइसकेको छ ।
उजुरीमा प्रदिवादी बनाइएका व्यक्तिसँगको बयानको काम सकिएर एक चरण जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ताको लागि पेश भएकोमा सरकारी वकिलको कार्यालयले थप केही बुँदासहित अनुसन्धान गर्न भनेपछि उक्त कार्य भइरहेको उनले बताए ।
मुद्दालाई पूर्ण बनाउनका लागि थप प्रमाण संकलनको कार्य भइरहेको र अनुसन्धान तथा प्रमाण संकलनको कार्य सकिएपछि जतिसक्दो चाँडै अदालतमा मुद्दा दर्ताको लागि सरकारी वकिलको कार्यालयमा फाइल बुझाइने प्रवक्ता डीएसपी भट्टले जानकारी दिए ।
प्रहरीको प्रतिवेदन आएपछि मात्रै मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयले गर्नेछ । महान्यायाधिवक्ता कार्यालयबाट पनि थप केही निर्देशन नआएको सरकारी वकिलको कार्यालयका एक अधिकारीले बताए ।
अदालतमा मुद्दा दर्ता गरिहाल्दा अन्यत्र झैँ धरौटीमा मुक्त भएपछि राजनीतिक गतिविधिमा सक्रियता बढाउने, सरकारविरुद्ध चर्का अभिव्यक्ति दिएर सर्वसाधारणको थप सहानुभूति बटुल्ने र सांसद पदको निलम्वनविरुद्ध कानूनी उपचारसमेत खोज्न सक्ने भएकाले राजनीतिक नेतृत्वकै निर्देशनअनुसार मुद्दा दर्तामा ढिलाई गरिएको आशंका लामिछाने निकटहरूले गर्दै आएका छन् ।
सानो पाइला सहकारी प्रकरणमा दोस्रो पुरक जाहेरी परेपछि लामिछानेविरुद्ध अनुसन्धान भइरहेको हो । संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आएपछि मात्रै राजनीतिक स्वार्थमा लामिछानेविरुद्ध जाहेरी दिन लगाइएको आक्षेप रास्वपाका नेताहरूले लगाउँदै आएका छन् ।
सानो पाइला सहकारी प्रकरणमा पर्सा जिल्ला अदालतमा २०८० असोज २३ गते १३ जनाविरुद्ध मूल र २०८० फागुन २ गते १३ नै जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो । रवि लामिछानेलगायत विरुद्ध मुद्दा दर्ता गर्न अहिले भइरहेको भनिएको अनुसन्धान तेस्रो हो ।
रवि लामिछानेलाई रातारात उठाएर पोखरा पठाएकोमा बदनामी व्यहोरेका एसपी गौतम मिश्र अहिले पर्सा प्रहरीको नेतृत्वमा छन् । चितवनमा सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएलगत्तै गौतमलाई माघ ११ गते पर्सा पठाइएको थियो । मिश्रलाई रविविरुद्ध अनुसन्धान गर्नकै लागि चितवन पठाइएको र चितवनपछि पर्सामा पनि सोही प्रयोजनका लागि पठाइएको आरोप छ ।
रविको मुद्दामा शुरुदेखि नै नजिकबाट हेरिरहेका अवकाशको मुखमा रहेका एक उच्च अधिकारीले भने, ‘चितवनमा प्रहरी महानिरीक्षकको गैरकानूनी आदेश मानेर रविजीलाई रातारात पोखरा पठाएर संगठनकै बदनाम गरे पनि ‘बक्सिस’का रूपमा पर्सा पठाइएका मिश्रले त्यहाँ पनि सत्ताकै आदेशमा अनुसन्धान जारी रहेको बहाना बनाएर मुद्दाको प्रक्रियालाई लम्ब्यारहेका हुन सक्छन् । सामान्यतया चितवनबाट पर्सामा सरुवा गरिन्न । जिल्ला कमाण्ड गरेपछि अर्को जिल्ला कमाण्डमा पठाउने विरलै हुन्छ । तर, चितवनमा केही महिनामात्रै बिताएका मिश्रलाई रविजीविरुद्धकै अनुसन्धानमा विशेष ‘टास्क’ दिएर पर्सा पठाइएको आशंकालाई सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन नै बुझाउन विलम्ब गरिनुले बल दिएको छ ।’
रविका वकिलले पनि पछिल्लो विलम्बप्रति आशंका व्यक्त गरेका छन् । यसमा सरकारको नियत र सम्भावित प्रतिक्रिया निर्णायक मानिएको छ ।
रविका कानून व्यवसायी नारायणदत्त कँडेलले भने, ‘चार जिल्लामा रफ्तारका साथ मुद्दा लगियो । तर, पर्सामा अनुसन्धान नै सकिएको छैन भनिँदैछ । एकैपटक सुरू भएको अनुसन्धान सकिएर अन्य जिल्लामा मुद्दा दर्ता भई थुनछेक आदेश आएर पनि कास्की र काठमाडौंको हकमा पहिलो तारेखसमेत गइसक्यो । तर, पहिले नै दस्तावेजीकरण भइसकेका कागजातका आधारमा प्रतिवेदन बनाउनु पर्ने पर्सा प्रहरीले भने अनुसन्धान नै सकिएको छैन भनिरहेको छ। अन्य ‘तत्व’ बाट प्रभावित नभएको भए अनुसन्धानका लागि मात्र यतिधेरै समय लाग्नु पर्ने होइन ।
लामिछानेको सचिवालयमा रहेर सञ्चार संयोजन गरिरहेका प्रमोद न्यौपाने भने यसलाई सरकारको दबाब र प्रभावको निरन्तरतामा बुझ्नुपर्ने बताउँछन् ।
‘यो ढिलाइले प्रहरीका तल्ला युनिटको नियिमत काममा पनि माथिल्ला निकायले दबाब र प्रभाब पार्छन् भन्ने आशंकालाई थप बल दिएको छ। नत्र दुई-दुईपटक मुद्दा लगिसकेको विषयमा पर्सा प्रहरीले मात्रै अनुसन्धानको बहानामा समय ‘किल’गर्ने हिम्मत गर्न सक्दैन ।’
‘अन्य जिल्लामा छिटो मुद्दा लैजान दबाब थियो, पर्सामा ढिला गर्न’ न्यौपानेले अगाडि भने, ‘अन्यत्र रवि लामिछानेविरुद्ध गरिएको बलजफ्तीका कारण पुगेको क्षतिले सरकार पर्साको हकमा केही संयमित हुन खोजेको हो भने बेग्लै कुरा !’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हात्तीगौँडामा के गर्दैछन् रवि ? पर्सामा मुद्दा चलाउन विलम्ब कि गडबडी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्