Techie IT
मंगलबार, वैशाख ९,२०८२

नेपालटार-डाँडागाउँ सडक स्तरोन्नति कार्य: १२ गते रातिदेखि १६ गतेसम्म बन्द


काठमाडौं, फागुन १२ । लामो समयदेखि अन्योलमा रहेको नेपालटार-डाँडागाउँ सडक स्तरोन्नति कार्यले गति लिने भएको छ। स्थानीयको दबाव, नगरपालिका र वडा कार्यालयको समन्वयमा निर्माण कम्पनीले सो सडकखण्डमा पिचको लागि बेस हाल्ने काम सुरु भएको हो।

वडा नं. ११ का अध्यक्ष कविराज बस्नेतका अनुसार, सोमबार, मंगलबार र बुधबारसम्म बेस हाल्ने काम सम्पन्न गरिनेछ भने शुक्रबार सम्याउने कार्य हुनेछ। “बेस हालेपछि सुक्न ७ देखि १० दिन लाग्छ, त्यसपछि मात्र पिच गर्न सकिन्छ,” उनले भने । मौसम अनुकूल रहेमा फागुन मसान्तभित्रै कार्य सम्पन्न गरिनेछ। पानी परेमा केही ढिलाइ हुनसक्ने उनले जानकारी दिएका छन्। ।

यसअघि सो सडकखण्ड भासिने समस्या थियो । जसका कारण १७-१८ ट्रिपर ग्राभेल हालिएको थियो। स्थानीय बासिन्दाले ढल निकासको समस्या औंल्याएपछि डाँडागाउँदेखि ढल निकासको योजना बनाइएको हो। वडा अध्यक्ष बस्नेतका अनुसार कम्प्याक्सन नभएका कारण अघिल्लो वर्ष पिच गर्न सकिएन । “पिच टिकाउनको लागि उचित तयारी गर्नुपर्छ,” उनले भने ।

नगरप्रमुख कृष्ण हरि महर्जनले सडक सुधार कार्यलाई प्राथमिकतामा राखिएको बताउँदै भने, “बजेट व्यवस्थापनको प्रक्रियामा केही ढिलाइ भए पनि अब काम छिट्टै सम्पन्न गरिनेछ।” उनका अनुसार, १ करोड ५६ लाख रुपैयाँको ठेक्कामा नेपालटार पुलदेखि माथिसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। नेपाल विद्युत प्राधिकरणको सबस्टेशन फुटुङ-नेपालटारमा अन्डरग्राउन्ड केबल बिछ्याउने कार्य ढिलाइ भएको, दशैंमा कामदार अभाव भएको र मंसिरमा सबबेस हाल्न नसक्दा सडक स्तरोन्नति ढिलाई भएको हो ।

सडक बन्द रहने

तारकेश्वर नगरपालिका, वडा नं. ११ अन्तर्गत नेपालटार पुलदेखि डाँडागाउँ जाने सडकखण्डमा स्तरोन्नति कार्य जारी रहेकाले उक्त सडक मिति २०८१ फागुन १२ गते राति १०:०० बजेदेखि २०८१ फागुन १६ गतेसम्म बन्द गरिनेछ। नेपालटार पुलदेखि डाँडागाउँ र शुभकामना चोकतर्फ जाने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। वैकल्पिक मार्गहरूमा लोकतान्त्रिक चोक, मनमैजु पुल हुँदै बसपार्क, छन्त्याल संघको बाटो, शिव मन्दिर हुँदै पिपलडाँडा खेलमैदान मार्ग रहेका छन्।

कार्यालयले सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै, सडक सुधार कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपालटार-डाँडागाउँ सडक स्तरोन्नति कार्य: १२ गते रातिदेखि १६ गतेसम्म बन्द


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545