Techie IT
बुधबार, वैशाख १०,२०८२

गाउँ-गाउँमा डढेलो रोकथाम अभियान


लमजुङ, फागुन ५ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ–गाउँमा डढेलो तथा आगलागी रोकथाम सम्बन्धी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । सिमा जोडिएको मनाङको जंगलमा दुई सातादेखि डढेलो फैलिहेका बेला मर्स्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो ।

डढेलो तथा आगागीका घटनाहरु रोकथामका लागि सबै वडाका गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्यहरू भइरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिनुभयो ।

पालिकाको नौवटा वडाका गाउँ तथा टोल टोलमा पुगेर डढेलोबारे सचेतना कार्यक्रम भैरहेको रोजगार संयोजक एवं कार्यक्रम अधिकृत नन्दराज गुरुङले जानकारी दिनुभयो । गाउँमा रहेका टोल समिति, शिक्षक, विद्यार्थी, वन समूह, आमा समूहलाई डढेलो रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

गुरुङका अनुसार वडा नं. ३ को पल्लोटारी, ढंगै, टपु, टारीकुना, थाकन सिउरुङ, वडा नं. ४ को डाँडागाउँ, गैरीगाउँ, छापा, मिप्रा, भित्ते जगत, वडा नं. ५ को उपल्लो चिप्ला, तल्लो चिप्ला, घेर्मु, खानीगाउँ, वडा नं. ७ को नयाँगाउँ, तराइचे, वडा नं. ८ को जलजले, सिमलचौर गाउँमा सचेतनामुलक कार्यक्रम भैसकेका छन् ।

वडा नं. २ को मयुँम, वडा नं. ५ को घेर्मु, छिचु, न्युरी, बडालविसौना, सन्जापु, वडा नं. ६ को बाहुनडाँडा, ठुलोबेसी, नाइचे, भिरपुस्तुन, वडा नं. ७ को ताराचोक, उस्ता, वडा नं. ८ को भुष्मे र वडा नं. ९ को लामागाउँमा सचेतामुलक कार्यक्रम सञ्चालन गर्न बाँकी छ ।

गाउँ गाउँमा सचेतना जगाउन कर्मचारीसँगै जनप्रतिनिधिहरु पनि खटिनुभएको छ । सिउरुङ र छापा गाउँमा अध्यक्ष अर्जुन गुरुङ नै पुग्नुभयो भने अन्य गाउँहरुमा त्यहीँका जनप्रतिनिधिहरु सम्मिलित भएको गाउँपालिकाको वन वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक एवं वडा नं. ४ का वडाअध्यक्ष वलबहादुर गुरुङले जानकारी दिनुभयो ।

नौ वडा मध्ये पाँच नम्बर वडाका गाउँहरु डढेलोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । वन क्षेत्रमा ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको छ ।

डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि डिभिजन वन कार्यालय लमजुङले पनि सचेतनामुलक कार्यक्रमहरु गरिरहेको जनाएको छ । अभियान अन्तर्गत सव डिभिजन कार्यालय र वन समूहबाट जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिरहेको छ ।

जिल्लामा करिब ९१ हजार हेक्टर वनक्षेत्र रहेकोमा वर्षेनी करिब पाँच हजार हेक्टर क्षेत्रफलमा डढेलो लाग्ने गरेको तथ्याङ्क छ । गतवर्ष पनि करिब ६० जंगलमा डढेलो लागेको थियो । यो वर्ष फागुन १ देखि ७ गतेसम्म डढेलो रोकथाम सप्ताहका रुपमा सचेतनाका कामहरु गरिरहेको डिभिजन बन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ३४२ सामुदायिक वन, १७३ कवुलियती वन र एउटा धार्मिक वन समितिले पनि आ–आफ्नो ठाउँमा सचेनाका कार्यक्रम गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गाउँ-गाउँमा डढेलो रोकथाम अभियान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545