अछाममा मृत भेटिएका दुई किशोरीको घटना रहस्यमय, २ जना पक्राउ
कैलाली । अछामको ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ मृत भेटिएका दुई किशोरीको घटना रहस्यमय बनेको छ ।
शुक्रवार देखि हराइरहेका ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो । शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थलबाट प्रहरीले किशोरीहरूको शव निरीक्षण गरेर फर्किदा सम्म पनि उनीहरूको मृत्यु कसरी भयो रु घटना भवितव्य हो या हत्या भन्ने विषयमा कुनै आधार पत्ता लगाउन सकेको छैन । परिवारका सदस्यहरूले भने उनीहरूको हत्या गरिएको दाबी गरिरहेका छन् ।
पोस्टमार्टमका लागि आइतबार साँझ शव जिल्ला अस्पताल अछाम ल्याएको छ । पोस्टमार्टम पछि मात्रै घटनाबारेका तथ्यहरू खुल्ने डिएसपी भण्डारीले जानकारी लिए ।
‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौ त्यसपछि केही कुरा बाहिर आउला ।’
घटना गम्भीर भएको हुँदा अछाममै पोस्टमार्टमका हुने भए पनि दुवै जनाको शव पोस्टमार्टमको लागि नेपालगन्ज पठाइएको छ ।
डिएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेका छन् ।
उनीहरूको अलग–अलग ठाउँमा फेला परेको डिएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् ।
‘बाटोदेखि करिब २० मिटरको दूरीमा मृतक ईश्वरको शव छ । उहाँको टाउको र निधारमा ठुलो घाउ छ । बुट्यानमा अड्किएको जस्तो देखिन्छ । उहाँको टाउको शरीरभन्दा तल छ । उहाँको शव भएको ठाउँभन्दा करिब १६ मिटरमाथि अर्का मृतक सरस्वतीको शव छ । उहाँको शव घोप्टो पल्टिएको छ । प्रहरीका अनुसार उहाँको खुट्टा भाँचिएको छ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
दुई किशोरीको शङ्कास्पद मृत्युले सिङ्गो गाउँ शोकमा छ । स्थानीयहरूले हत्याको आशङ्का गर्दै आफूहरू पनि असुरक्षित भएको महसुस गरेका छन् ।
मृतकमध्ये सरस्वती फुपू र ईशरा नातामा भदैनी पर्छन् ।
मृतक सरस्वतीकी आमा तारा खड्काले छोरीलाई हत्या गरिएको बताउँछिन् । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसमक्ष पनि उनले घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीलाई कारबाहीको माग उनले राखिन् ।
मृतक ईशराको भाउजू कृष्णा खड्काले पनि दुवै जनाको हत्या भएको बताउँछिन् । ‘एक जना मात्र भए पनि हामी भवितव्य भयो भन्थ्यौँ, दुई जना एकै प्रकारले कसरी मरे रु घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्नुपर्छ’ उनले भनिन् ।
घटनामा संलग्न भएको हुनसक्ने आशङ्का भएका व्यक्तिबारे पनि प्रहरीले छानबिन गरिरहेको छ । यसैक्रममा दुई जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाममा मृत भेटिएका दुई किशोरीको घटना रहस्यमय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्