Techie IT
मंगलबार, माघ १५,२०८१

इजरायल र हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति


गाजा सिटी (प्यालेस्टिनी भू–भाग), माघ १४ गते । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ ।बन्धक र कैदी आदानप्रदानका लागि थप कूटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजापट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन् ।

इजरायल–हमास युद्धले गाजापट्टीलाई तहसनहस पारेको छ र यसका लगभग सबै बासिन्दालाई विस्थापित गरेको छ । गाजामा चलेको १५ महिनाभन्दा बढीको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले एक सम्झौता अन्तर्गत थप बन्धक–कैदी अदला–बदलीका लागि मार्ग प्रशस्त भएको छ ।

हमासले नागरिक महिला बन्धकहरूलाई रिहा गर्न असफल भएको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूको ठुलो भीडलाई उनीहरूको घर फर्कनबाट रोक्दै आएको थियो ।

हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी गृह मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनीहरूको भीड सोमबार बिहानैदेखि उत्तरतर्फ जान थालेको छ ।

“विस्थापित प्यालेस्टिनीहरूको बाटो खुल्न थालेको छ’’, ती अधिकारीले भने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार तीन जना र शनिबार अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको जनाएको छ ।

हमासले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त सहमतिको पुष्टि गरेको छ ।

यसैबीच प्यालेस्टिनी नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली’ गर्ने योजनाको निन्दा गर्दै युद्धग्रस्त क्षेत्रका बासिन्दालाई जबर्जस्ती विस्थापित गर्ने कुनै पनि प्रयासको प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा ‘विध्वंसस्थल’ बनेको बताउँदै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीलाई बाहिर निकाल्ने विषयमा कुरा भएको बताउनुभएको थियो ।

“इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु”, ट्रम्पले शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो, “तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए । मलाई थाहा छैन तर त्यहाँ केही हुनुपर्छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

शनिबार ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताउनुभएको थियो ।

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा रहेका प्यालेस्टाइनी नेता महमुद अब्बासले गाजाबाट प्यालेस्टाइनीहरुलाई विस्थापित गर्ने उद्देश्यले सञ्चालित कुनै पनि परियोजनाको कडा अस्वीकार र भर्त्सना गर्नुभएको छ ।

हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले एएफपीसँग भन्नुभयो, “प्यालेस्टिनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्नेछन्, जसरी उनीहरूले ‘दशकौंदेखि विस्थापन र वैकल्पिक मातृभूमिका लागि’ यस्तै योजनाहरू गर्दै आएका छन् ।”

गाजामा हमाससँग मिलेर लडेको इस्लामिक जिहादले ट्रम्पको विचारलाई ‘निन्दनीय’ भनेको छ ।

इस्लामिक जिहादले भनेको छ, “प्यालेस्टिनीहरूका लागि गाजाबाट उनीहरूलाई अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । यसले सन् १९४८ मा इजरायलको स्थापनाको समयमा प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो सम्झनाहरू जगाउनेछ ।

“हामी ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौं, जे सुकै भए पनि हामी प्यालेस्टाइन वा गाजा छोड्नेछैनौं,” गाजाका विस्थापित बासिन्दा रशाद अल–नाजीले भन्नुभयो ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले युद्धविराम सम्झौताको विरोध गर्दै गाजामा इजरायली बस्ती पुनः स्थापनाका लागि समर्थन जनाउनुभएको छ ।

अरब लिगले उक्त प्रस्तावलाई अस्वीकार गर्दै प्यालेस्टिनी जनतालाई आफ्नो भूमिबाट विस्थापित गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ ।

लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जबर्जस्ती विस्थापन र आफ्नो भूमिबाट मानिसहरूलाई निष्कासन गर्नुलाई जातीय सफाया मात्र भन्न सकिन्छ।”

जोर्डनका विदेशमन्त्री अयमान सफादीले भन्नुभयो, “प्यालेस्टिनीहरूको विस्थापन योजनामा हाम्रो दृढ अस्वीकृति छ र स्थानान्तरण  हुनेछैन। जोर्डन जोर्डनका लागि हो र प्यालेस्टाइन प्यालेस्टिनीका लागि हो ।

इजिप्टको विदेश मन्त्रालयले प्यालेस्टाइनको ‘अविभाज्य अधिकार’ को कुनै पनि उल्लङ्घनलाई अस्वीकार गरेको जनाएको छ । इजरायलले बन्धक बनाइएकी एक महिला अर्बेल येहुदको रिहाई नभएसम्म प्यालेस्टिनीलाई आवतजावतमा रोक लगाउने बताएको थियो ।

नेतन्याहूको कार्यालयका अनुसार उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

हमासले उत्तरमा फर्कन रोक्नु पनि युद्धविरामको उल्लङ्घन भएको बताउँदै येहुदको रिहाइका लागि आवश्यक सबै ग्यारेन्टी प्रदान गरेको जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले सोमबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि पैदल र बिहान ९ बजे कारमा फर्किन अनुमति दिइने बताउनुभएको छ ।

गाजा युद्धविरामको पहिलो चरणमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनीको बदलामा ३३ जना बन्धकलाई छ हप्तामा चरणबद्ध रूपमा रिहा गरिने सहमति भएको छ र सम्झौताका बुँदा अनुसार अन्यथा नभएमा यो आदानप्रदान सुनिश्चित गरिएको छ ।

पछिल्लो पटक भएको अदलाबदलीमा चार जना इजरायली महिला बन्धक, सबै सैनिक र २०० जना कैदी, लगभग सबै प्यालेस्टिनीलाई शनिबार रिहा गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #इजरायल र हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:50 am5:42 pm +0545