राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ
पोखरा (कास्की), माघ १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताउनुभएको छ । कास्की जिल्ला प्रशासन कार्यालयमा आज आफ्नो राष्ट्रिय परिचयपत्र लिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सबै नागरिकको हातमा परिचयपत्र पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘परिचयपत्र वितरणमा ढिलाइ भएको गुनासो आएको छ’ उहाँले भन्नुभयो, ‘गुनासोलाई सम्बोधन गर्नेगरी सकारले काम अघि बढाएको छ ।’
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा परिचयपत्र वितरणलाई सहज बनाइने बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।
मन्त्री गुरुङले करिब दुई वर्षअघि कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नुभएको थियो । अन्तर्राष्ट्रिय मापदण्डको डिजिटल कार्डको रूपमा प्रयोग गर्न सकिने परिचयपत्र बाहकको दस औंठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिएको हुन्छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कास्कीमा परिचयपत्र वितरणका लागि अभियान चलाइएको बताउनुभयो । उहाँका अनुसार ४ वटा गाउँपालिकामा अभियान सकिएर अहिले पोखरा महानगरपालिकामा अभियान चलिरहेको छ । पोखरा महानगरका १ देखि १२ वटा वडामा अभियान सकिएको छ भने अन्य वडामा जारी छ । कास्कीमा अहिलेसम्म २ लाख ७ सय १६ वटा राष्ट्रिय परिचयपत्रको कार्ड प्राप्त भएको छ । पाण्डेका अनुसार ७५ हजार ७ सय १८ वटा कार्ड वितरण भएका छन् ।
कास्की जिल्ला प्रशासन कार्यालयमा तीन ठाउँमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था मिलाइएको छ । एक ठाउँ थपेर ४ ठाउँबाट सेवा दिने योजना रहेको पाण्डेले बताउनुभयो । पाण्डेले पालिकाबाट नै परिचयपत्रको विवरण भर्ने र कार्ड वितरण गर्ने व्यवस्था मिलाउँदा जनतालाई सहज हुने बताउनुभयो ।
सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ । सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा र निवृत्तिभरण सुविधा छन् । राजस्वसम्बन्धी ९व्यक्तिगत आयकर दर्ता० सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्