Techie IT
मंगलबार, माघ १५,२०८१

अमेरिकी अनुदानका सबै परियोजना रोक्न सरकारलाई पत्र, एमसीसीबारे के आयो ?


चितवन । अमेरिकी सरकारले नेपाल सरकारसँग सम्झौता गरेर चलिरहेका एमसीसीबाहेकका अमेरिकी सहायता परियोजनाअन्तर्गतका साना-ठूला सबै परियोजना स्थगित भएका छन् ।

नेपाल सरकारलाई दुई दिनअघि अमेरिकी सरकारका तर्फबाट नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर हाल अमेरिकी सरकारको तर्फबाट सञ्चालित सबै परियोजना स्थगित गर्न भनेको हो ।

दूतावासले पठाएको औपचारिक पत्रमा चलिरहेका कार्यक्रमहरु ९० दिनका लागि स्थगित गर्न भनिएको बुझिएको छ । अमेरिकी सरकारका तर्फबाट सञ्चालित सबै परियोजना स्थगित गर्नु भनेकाले एमसीसी के हुने भन्ने अन्योल कायमै छ ।

९० दिनका लागि कार्यक्रमहरुको विश्लेषण गरी के-कसो गर्ने निर्णय दिने जानकारी पत्रमा लेखिएको छ । यद्यपि पत्रको बारेमा नेपाल सरकारका तर्फबाट कुनै पनि आधिकारिक भनाइ भने सार्वजनिक भएको छैन । करिब अढाई खर्ब रुपैयाँका परियोजनाहरु सरकारसँगको साझेदारीमा सञ्चालित छन् । त्यस्तै ४०० गैरसरकारी संस्थाले पनि अमेरिकी सरकारको अनुदानमा काम गरिरहेकोमा तिनीहरुलाई पनि पत्र पठाएर सबै कार्यक्रम रोक्न भनिएको छ ।

अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको भए पनि यस विषयमा परराष्ट्र मन्त्रालय मौन छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले अमेरिकी दूतावासबाट पत्र आए/नआएकोबारे बोल्ने अख्तियारी आफ्नो मन्त्रालयको नभएको बताए ।

‘मैले यो विषयमा बोल्न मिल्दैन’, नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता ढकालले भने, ‘यसबारेमा अर्थ मन्त्रालयमा समन्वय गर्नुहोला ।’

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अमेरिकी दूतावासबाट पत्र आएको जानकारी पाए पनि पत्रमा के के भनिएको छ भन्ने जानकारी नभएको बताए ।

उनले भने, ‘अमेरिकी दूतावासबाट पत्र आएको भन्ने सुनेको छु । मैले पत्रमा उल्लेख विषय हेर्न पाएको छैन, त्यसैले थप जानकारी दिन सकिनँ ।’

दूतावासले पठाएको पत्रमा एमसीसीबारे भने कोही उल्लेख नगरेको बताइन्छ । पत्रमा एमसीसीको विषयवस्तु उल्लेख नगरिएकाले अहिले नेपाल सरकारले एमसीसी परियोजना भने स्थगित गरेको छैन । भट्टराईले पनि एमसीसीअन्तर्गतका परियोजना भने यथावत सञ्चालनमा रहेको जानकारी दिए ।

अर्थ मन्त्रालयले यूएसएडअन्तर्गत सञ्चालित परियोजनाहरुमात्र रोकिने जानकारी प्राप्त भएको जनाएको छ ।

एमसीसी परियोजना कार्यालयका एक अधिकारीले आजको मितिसम्म एमसीसीको अनुदान तथा कार्यक्रम नरोकिएको र रोकिने जानकारी नभएको प्रस्ट पारेको छ ।

निकै बहसपछि नेपालले हस्ताक्षर गरेको एमसीसी परियोजना अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा २०८० साल भदौदेखि कार्यान्वयन आएको थियो । जसमा ९२ अर्ब बराबर रुपैयाँको एमसीसीअन्तर्गतका आयोजनाका सञ्चाला गर्ने सम्झौता भएको थियो ।

त्यतिमात्रै होइन उक्त परियोजनाका निम्ति ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम प्रदान गर्नेसमेत निर्णय भएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकी अनुदानका सबै परियोजना रोक्न सरकारलाई पत्र, #एमसीसीबारे के आयो ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:50 am5:42 pm +0545