पुरुष यौनाङ्गको क्यान्सर
पुरुष यौनाङ्गको छाला वा तन्तुका कोष असामान्य वृद्धि भएर यौनाङ्गको क्यान्सर लाग्छ । प्रभावित पुरुषले सुरुमा आफ्नो यौनाङ्गमा गिर्खा पलाउने, घाउ (अल्सर) आउने, रगत मिश्रित स्राव एवं गनाउने स्राव बग्ने जस्ता लक्षण देखिन्छ । कतिपय अवस्थामा बोसो बढेर मासु पलाएको भन्ठानेर गलत उपचार गराइरहेको हुन्छ तर त्यो यस्तो क्यान्सर हुन्छ ।
कति छ समस्या
त्यसो त यो क्यान्सर दुर्लभ रोगमध्ये एक हो । दुर्लभ भए पनि लिङ्गमा क्यान्सर भएका बिरामी र मृत्युको सङ्ख्या विश्वमा लगातार बढिरहेको छ । ब्राजिलको एक अविकसित प्रान्त मारान्हाउमा प्रतिलाखमा ६.१ पुरुषमा यो क्यान्सर देखिएको छ ।
पछिल्लो अध्ययन अनुसार ब्राजिलमा पुरुष यौनाङ्गको क्यान्सरको दर धेरै छ । अर्थात् प्रतिलाख मानिसमा २.१ प्रतिशतमा यो क्यान्सर पाइएको छ । जबकि अमेरिकामा प्रतिलाखमा एक प्रतिशत, बेलायतमा प्रतिलाखमा ०.८२ प्रतिशत र अस्ट्रेलियामा साढे दुई लाखमा एक जनामा यो क्यान्सर हुने गरेको छ ।
यसरी विकसित देशमा विरलै हुने यो क्यान्सर औसतमा भन्नु पर्दा प्रतिलाख पुरुषमा ०.३ देखि १ प्रतिशत देखिने गरेको छ तर दक्षिण अमेरिका, अफ्रिका, एसियामा देखिने सबै खालका क्यान्सरमध्ये १० प्रतिशतसम्म यो क्यान्सर पाइएको छ । ग्लोबल क्यान्सर रजिस्ट्रीको पूर्वानुमान अनुसार सन् २०५० सम्म विश्वभर पुरुष यौनाङ्गको क्यान्सरका बिरामी ७७ प्रतिशतले बढ्ने अनुमान छ ।
कारण/जोखिम
पुरुष यौनाङ्गको टुप्पालाई छालाले ढाकिराखेको हुन्छ । जसलाई अग्रचर्म भनिन्छ । यो अग्रचर्म सजिलै उघार्न र फर्काउन मिल्ने हुनु पर्छ तर यही अग्रचर्म मोटो हुनु, फाइमोसिस (छाला उघार्न गाह्रो हुनु), त्यसमा जीर्ण खालको सुजन हुनु (छाला फर्काउन गाह्रो हुनु) पुरुष यौनाङ्गको क्यान्सरका लक्षण हुन सक्छन् । फाइमोसिस कारक र लक्षण दुवै हो भने यसले क्यान्सर गराउने जोखिम दुई गुणा हुन्छ ।
सानै उमेरमा गरिएको सर्कमसिजन (अग्रचर्म कटान) ले आंशिक बचावट गर्छ । सर्कमसिजन गरेपछि फाइमोसिसको सम्भावना घट्छ भने स्मियग्मा र एचपिभी सङ्क्रमणको सम्भावना पनि कम हुन्छ ।
यौनाङ्गको टुप्पा र अग्रचर्मबीचको भाग ओसिलो र न्यानो हुने तथा त्यहाँ रहेका ग्रन्थीबाट स्राव (जसलाई चिकित्सा भाषामा स्मियग्मा भनिन्छ) उत्पादन भइरहने हुनाले रोगाणु वृद्धि हुन उपयुक्त वातावरण हुन्छ । जसले यौनाङ्गको अग्रचर्म उघारेर राम्ररी सफा गर्दैनन् त्यस छालामुनि बारम्बार ब्याक्टेरियाको सङ्क्रमण भइरहे यो क्यान्सरको सम्भावना बढ्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार स्मियग्मा आफैँमा क्यान्सरको कारक तत्व होइन तर यसले यौनाङ्गको सुजन गराई कालान्तरमा क्यान्सर गराउन भूमिका खेल्छ ।
विज्ञहरूका अनुसार यसका अन्य कारणमा सानै उमेरमा यौनसम्पर्कको सुरुवात, बहुयौन साथी, एचपिभी सङ्क्रमण, धुमपान, परावैजनी किरण, कोन्डाइलोमाटा एक्युमिनाटा हुन् । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले महिलामा पाठेघरको मुखको क्यान्सर निम्त्याए जस्तै यसले पुरुषमा यौनाङ्गको क्यान्सरको जोखिम बढाउँछ । एचपिभी सङ्क्रमणका कारण यो क्यान्सर हुने जोखिम आठ गुणाले बढ्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकी पुरुषमा यो क्यान्सर हुनेमध्ये ४० प्रतिशतमा एचपिभी जिम्मेवार पाइएको छ ।
एचपिभीका कारण यौनाङ्गमा मुसाको समस्या पनि आउँछ । पुरुष यौनाङ्गको क्यान्सर हुनेमध्ये आधामा यौनाङ्गमा मुसाको समस्या पनि पाइयो । धुमपान एवं सुर्ती सेवनबाट डेढदेखि छ गुणा जोखिम छ । सोरियासिस नामक छालाको सङ्क्रमण भएकामा परावैजनी किरणबाट गरिने उपचारबाट यो क्यान्सरको जोखिम रहन्छ । छालामा सेतो दाग आउने समस्या (लाइकेन स्क्लेरोसिस) ले पनि यौनाङ्गको क्यान्सर बढाउँछ ।
त्यसै गरी यौनाङ्गको घाउ, चोटका कारण तीन गुणा बढी तथा एलर्जी रियाक्टिभ आथ्र्राइटिसका बिरामी, मधुमेह भएकामा चार गुणा बढी जोखिम देखिएको छ । यो क्यान्सरका बिरामीको सङ्ख्या बढ्नुको अर्को कारण बुढ्यौली पनि हो । यो क्यान्सरबाट पीडित ८० प्रतिशत मानिस ५५ वर्ष उमेरमाथिका छन् ।
लक्षण
पुरुष यौनाङ्गको क्यान्सरको लक्षण प्रायः त्यसमा भएको घाउबाट सुरु हुन्छ । जुन निको हुँदैन र लिङ्गबाट धेरै दुर्गन्धित स्राव भइरहन्छ । प्रभावित भागमा रातोपना, यौनाङ्गमा टुप्पाको र भित्री छाला बाक्लो हुने, घाउ (अल्सर) बन्ने, औँला आकारको मासु पलाउने, पिसाब पोल्ने हुन्छ । इन्टरनेसनल सोसाइटी फर युरोलोजिकल प्याथोलोजीका अनुसार पी– १६ इम्युनोस्टेनिङको प्रयोगबाट यौनाङ्गको क्यान्सरको निदान र वर्गीकरणमा सहज हुन्छ ।
उपचार
यस क्यान्सरको उपचार शल्यक्रिया (वाइड लोकल रिसेक्सन भनेर स्वस्थ तन्तु पनि आउने गरी, माइक्रोसर्जरी, लेजर, सर्कमसिजन वा यौनाङ्ग नै काट्ने) तथा रेडियोथेरापी, केमोथेरापी एवं बायोलोजिकल थेरापी (इम्युनोथेरापी) बाट गरिन्छ ।
क्यान्सर सुरुको अवस्थामै पत्ता लाग्यो भने शल्यक्रियाद्वारा गिर्खा हटाइन्छ । उपचार गर्न ढिलाइ गर्यो भने लिङ्गको सम्पूर्ण वा केही भाग काट्नु पर्ने हुन सक्छ । कतिपय अवस्थामा अण्डकोष पनि काट्नु पर्दछ । कतिपय बिरामीको लिङ्ग पूरै काट्नुपर्ने हुन्छ । जसले गर्दा उनीहरूको जीवन पूर्ण रूपमा परिवर्तन हुन्छ । लिङ्गको आंशिक भाग काट्दा लिङ्गबाट पिसाब बगिरहन्छ । यद्यपि लिङ्गको पूरा भाग निकाल्दा मूत्रनली, मलद्वार, अण्डकोषबीचको भागतर्फ मोडिन्छ । रोग बल्झिएको अवस्थामा रेडियोथेरापी वा केमोथेरापीमार्फत उपचार गरिन्छ ।
रोकथाम
एचपिभी खोप (गार्डासिल वा सर्भारिक्स) लगाएर, कन्डम प्रयोग गरेर, लिङ्गको सरसफाइ गरेर, धुमपान बन्द गरेर तथा सर्कमसिजन गरेर यस क्यान्सरबाट बच्न सकिन्छ । यो क्यान्सर एचपिभी भाइरससँग सम्बन्धित भएकाले एचपिभी खोप निकै प्रभावकारी उपाय हुन सक्छ । यो क्यान्सर र यौनजन्य सङ्क्रमणबीच सम्बन्ध भएकाले यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्ने र हरेक पुरुषले यौन सम्पर्कपछि आफ्नो यौनाङ्गको सरसफाइ गर्न आवश्यक छ ।
लिङ्गको टुप्पोमा पानी भरिएर औँठी जस्तो आकार बन्ने समस्या (पाराफाइमोसिस) भएका व्यक्तिले सर्कमसिजन भनिने शल्यक्रिया गरेर लिङ्गको टुप्पो हटाउन सकिन्छ । यसले क्यान्सरको जोखिम पनि कम गर्छ ।
बाँच्ने सम्भावना
ब्रिटिस क्यान्सर रिसर्चका अनुसार लिङ्गको क्यान्सर भएको पत्ता लागेका पुरुषमा यदि लिम्फनोड (क्यान्सर प्रभावित भागको सन्निकट गाँठो) मा फैलिसकेको छैन भने अर्को पाँच वर्षसम्म बाँच्ने सम्भावना ९० प्रतिशतभन्दा बढी हुन्छ ।
के हो सर्कमसिजन ?
अग्रचर्म कटान शल्यक्रियालाई चिकित्सा भाषामा सर्कमसिजन भनिन्छ । ल्याटिन भाषामा सर्कमको अर्थ वरिपरि र सेडेरको अर्थ काट्नु भन्ने बुझिन्छ । लिङ्गको फेदमा चारैतिर सुई लगाएर वा लिङ्गमै मलम लगाई लट्ठ्याएर यो शल्यक्रिया गरिन्छ । प्रायःजसो बाल्यकालमै र २० वर्षको आरम्भसम्ममा गर्नुपर्ने अग्रचर्म कटानको शल्यक्रिया विश्व स्वास्थ्य सङ्गठनका अनुसार ३० प्रतिशतले १५ वर्षमुनि नै गर्छन् । जसमध्ये ७० प्रतिशत मुसलमान धर्मावलम्बी छन् ।
यो शल्यक्रिया गराएकामा साधारणतया रक्तश्राव, सङ्क्रमण र पिसाब बग्ने प्वाल साँघुरिने बाहेक खासै गम्भीर जटिलता हुँदैन । अग्रचर्म कटानको शल्यक्रियाले यौन दुर्बलता घटाउँछ वा यौन सन्तुष्टि बढाउँछ भन्ने मिश्रित प्रतिक्रिया छ ।
अफ्रिकामा गरिएको अध्ययन अनुसार अग्रचर्म कटानको शल्यक्रियापछि समलिङ्गी पुरुषमाझ एचआइभी सर्ने सम्भावना ३८ देखि ६६ प्रतिशतले कमी आएको देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले एचआइभी व्याप्त रहेका मुलुकमा अग्रचर्म कटान शल्यक्रियालाई एचआइभी सङ्क्रमण नियन्त्रणको एउटा रणनीतिका रूपमा लिएको छ ।
त्यसै गरी अग्रचर्म कटान शल्यक्रियाले यौनाङ्गमा मुसा आउने समस्यामा २८ प्रतिशतले घट्ने र पुरुष यौनाङ्गको क्यान्सर एवं पिसाब नली सङ्क्रमणको जोखिम पनि कम हुने पाइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #पुरुष यौनाङ्गको क्यान्सर
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्