Techie IT
बिहीबार, माघ ३,२०८१

क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा


काठमाडौँ, माघ ३ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा सरेको छ । बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्तरुपमा सो भवन उद्घाटन गर्नुभएको हो ।

करिब १७ करोड लागतमा निर्माण भएको यो भवनको भूई तलमा आकस्मिक विभाग छ । माथिल्लो तलमा भने प्रतिष्ठानले एमबिबिएसको कक्षा सञ्चालन गर्ने निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिनुभयो । यसै वर्षदेखि प्रतिष्ठानले ५० एमबिबिएसमा ५० सिट पाएको छ । जसमा ४६ विद्यार्थी भर्ना भएका छन् ।

उद्घाटनलगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ । सिनेटपछि प्रथम दीक्षान्त समारोह हुँदै छ । समारोहमा प्रतिष्ठानबाट पहिलो र दोस्रो ब्याचबाट पास आउट भएका ४३ विद्यार्थी दीक्षित हुने छन् ।

मेडिकल विज्ञान सङ्काय पोस्टग्राजुएट (चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी÷एमएस) का प्रथम र दोस्रो ब्याचका क्रमशः १७ र २६ विद्यार्थी बिहीबार दीक्षित हुने प्रतिष्ठानका शाखा अधिकृत सुशीलकुमार अर्यालले बताउनुभयो ।

२०७६ फागुनबाट शैक्षिक कार्यक्रम सुरु गरेको प्रतिष्ठानमा अहिले स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतिरोग, हाडजोर्नी, रेडियोलोजी र एनेस्थेसिया गरी सात विषयको पढाइ हुन्छ ।

प्रतिष्ठानले बिएस्सी नर्सिङ र बिएनएसको पढाइ पनि थालेको छ । यी विषयमा अहिले एक सय २१ विद्यार्थी छन् । ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२’ मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mostly Cloudy
6:54 am5:32 pm +0545