Techie IT
मंगलबार, माघ १५,२०८१

खुर्सानी खेतीबाट लाखौँको आम्दानी


काठमाडौँ, माघ ३ गते । लमही नगरपालिका–७ गिधिनिया निवासी गीता चौधरी खुर्सनी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । दश कट्ठा जमिनमा खुर्सानी खेती गरेकी गीताले खुर्सानी बिक्री गरेर परिवारको खर्चसँगै बचत गर्दै आउनुभएको हो ।

व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ । सिँचाइका लागि पानीको सुविधासँगै बिक्रीका लागि समस्या नहुने भएपछि गत वर्ष चार लाख बढीको खुर्सानी बिक्री गरेको बताउनुहुन्छ ।

गाउँमा फुटकरमा सय रुपियाँ प्रतिकेजी र थोकमा व्यवसायीलाई दिदा ७०-८० रुपियाँका दरले बिक्री गर्दै आएको बताउनुभएकी चौधरीले यो वर्ष हालसम्म डेढ लाख मूल्य बराबरको खुर्सानी बिक्री गरिसकेको बताउनुभयो ।

उत्पादन भएको खुर्सानी बिक्री भइरहेको भन्दै चौधरीले भन्नुभयो, “अहिलेसम्म करिब एक लाख मूल्य बराबरको बिक्री भइसकेको छ । चैतसम्म उत्पादन लिने भएकाले चार लाख बढी रुपियाँ पुग्ने अनुमान छ ।”

अन्य तरकारी खेतीभन्दा खुर्सानी खेती गर्न सहजतासँगै लामो समयसम्म आम्दानी लिन सकिने भएकाले खुर्सानी खेती गर्न थालेको बताउनुभयो । सानो परिवारले पनि धेरै खेती गरेर आम्दानी लिन सक्ने भन्दै चौधरीले भन्नुभयो, “खुर्सानीबाट राम्रो आम्दानी भइरहेको छ । सानो परिवारले खुर्सानी रोपेर राम्रो फाइदा भइरहेको छ ।” खुर्सानी खेतीबाट लामो समयसम्म आम्दानी लिन सकिने र बिग्रिने समस्या नहुने भएकाले व्यावसायिक खेतीमा लागेको बताउनुभयो ।

गाउँमा २-४ कट्ठा जमिनमा खुर्सानी खेती गर्ने धेरै किसान भएपनि व्यवसायिक रुपमा ठुलो क्षेत्रमा थोरै मात्र किसानले खुर्सानी खेती गर्ने गरेको बताउनुभयो । आर्थिक अभावका कारण कुनै समय तीन जनाको परिवार पाल्नका लागि अरुको भर पर्नुपर्ने अवस्था भएपनि खुर्सानी, टमाटर लगायतको खेती गर्न थालेपछि बचत समेत हुन थालेको बताउनुहुन्छ ।

आर्थिक अभावका कारण कुनै दिन श्रीमान बिरामी पर्दा उपचार गर्ने गाउँमा रुपियाँ समेत नपाएको भन्दै चौधरीले भन्नुभयो, “अहिले घरमा समस्या पर्दा पैसा खोज्न अन्त जानुपर्ने अवस्था छैन ।” उहाँका अनुसार खुर्सानीबाट भएको आम्दानीले घर परिवारको खर्चसँगै बच्चालाई पढाउन सजिलो भएको छ । उत्पादन भएको खुर्सानी लमही, घोराही लगायतका बजारमा व्यवसायीले लैजाने गरेको बताउनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #खुर्सानी खेतीबाट लाखौँको आम्दानी


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
14°
Mostly Cloudy
6:50 am5:42 pm +0545