Techie IT
बिहीबार, माघ ३,२०८१

अर्बौं रकम प्रधानमन्त्री राहत कोषमा, भूकम्प प्रभावित पालमा


काठमाडौं । भूकम्प प्रभावितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अर्बौं रुपैयाँ जम्मा भएको छ, तर भूकम्प पीडितहरुको पाल त्रिपालमुनि छ ।

 

‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखानसँग मेल खान्छ भूकम्प प्रभावितको पीडा । जसको लागि भनेर अर्बाैं रुपैयाँ जम्मा भएको छ, उनीहरु नै त्रिपालमुनि दैनिकी बिताउन बाध्य छन् ।

पुनर्निर्माण तथा पुनःस्थापनाको लागि कोषमा अर्बौं रुपैयाँ जम्मा हुँदा डोटीका भूकम्प प्रभावितले साढे २ वर्ष पालमै बिताइसके । जाजरकोट भूकम्प प्रभावितहरुले पनि डेढ वर्षदेखि पालमै बिताइरहेका छन् ।

सरकारी निकायले भूकम्प प्रभावितको स्थायी आवासको लागि चासो नदिँदा उक्त रकम प्रयोगमा आउन नसकेको सरकारी कर्मचारीहरु नै बताउँछन् ।

२०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा विभिन्न संघसंस्था, व्यक्तिले रकम जम्मा गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार कोषमा २०८० कार्तिक १८ देखि २०८१ पुस २६ गतेसम्म १ अर्ब ९१ करोड ६७ लाख २५ हजार ६४१ रुपैयाँ जम्मा भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार बाढीपहिरो तथा भूकम्पीय क्षतिबाट १ लाख १९ वटा घर बनाउनुपर्नेछ । त्यसमध्ये डोटी र जाजरकोट भूकम्प प्रभावितको ९५ हजार स्थायी आवास बनाउनुपर्नेछ ।

डोटीमा साढे दुई वर्षपछि पुनर्निर्माण प्रकिया सुरु
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको साढे २ वर्षपछि डोटीमा बल्ल स्थायी आवासको लागि पुनर्निर्माण सुरु गरिने भएको छ ।

भूकम्प दिवसको अवसर पारेर बुधबारदेखि डोटी भूकम्प प्रभावितका लागि स्थायी आवास पुनर्निर्माण सुरु गरिएको हो ।

२०७९ कार्तिक २३ गते आएको भूकम्पमा ६ जनाले ज्यान गुमाएका थिए । दुई हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।

डोटी भूकम्प प्रभावितलाई स्थायी घर बनाउने प्रक्रिया सुरु गर्न साढे २ वर्ष लाग्यो । साढे दुई वर्षयता पालमै बसेका भूकम्प प्रभावितहरुमा बल्ल नयाँ घरमा बस्न पाउने आशा पलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले पश्चिम नेपाल भूकम्प एवं २०८१ को मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण योजना स्वीकृत गरेको थियो ।

उक्त योजना स्वीकृत भएसँगै डोटी भूकम्पबाट क्षति भई विस्तृत क्षति आंकलन भइसकेका घरहरुको पुनर्निर्माणको काम माघ २ गतेदेखि सुरु गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार बुधबार भूकम्प दिवसको अवसर पारेर डोटी भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु गरिएको प्रवक्ता भट्टराई बताउँछन् ।

जाजरकोटमा कहिले सुरु हुन्छ पुनर्निर्माण ?
डेढ वर्षअघि २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । थप ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको थियो ।

२०० भन्दा बढीले ज्यान गुमाएको जाजरकोट भूकम्पका प्रभावितहरुको पनि डेढ वर्षयता पालमै बास छ । अस्थायी आवास अनुदानको लागि भूकम्प प्रभावित पाँच जिल्लामा १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएको थियो । जाजरकोटमा ५० करोड, रुकुम पश्चिममा ५० करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा २ करोड रकम निकासा भएको थियो ।

भूकम्प प्रभावित परिवारलाई पहिलो किस्ताबापत २५ हजार र छानो छाउने तहसम्म पुगेपछि घर सम्पन्न भएपछि बाँकी २५ हजार गरी ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । अस्थायी आवासको लागि दिइएको अनुदानबाट बनाएको टहरोमा जाडो छल्न समस्या भएको भूकम्प प्रभावितहरु बताउँछन् । उनीहरु स्थायी आवासको पर्खाइमा छन् ।

बझाङ र जाजरकोट भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत क्षति आंकलनको प्रक्रिया पनि माघबाटै सुरु गरिने निर्णय भएको उनले बताए ।

उनले भने, ‘माघ २ गतेदेखि डोटी भूकम्पबाट प्रभावित भएका व्यक्तिहरुको पुनर्निर्माणको लागि सम्झौता प्रक्रिया अघि बढाउँछौं । माघ महिनाभित्र हामी जाजरकोट भूकम्पको क्षति भएका घरहरुको विस्तृत क्षति आंकलनको प्रक्रिया सुरु गर्छौं । अब हामी योजनाबद्ध तरिकाले जाँदैछौं भन्ने कुरा पनि बैठकबाट निर्णय भएको छ ।’

उनका अनुसार यसका लागि आवश्यक जनशक्ति व्यवस्थापनबारे छलफल भएको छ ।

स्थायी आवास निर्माणमा किन भयो विलम्ब ?
पश्चिम नेपाल भूकम्प एवं २०८१ को मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण योजना स्वीकृत नहुँदा भूकम्प प्रभावितको स्थायी आवास पुनर्निर्माणको काम अघि नबढेको स्वीकार्छन् प्राधिकरणका प्रवक्ता डा. भट्टराई ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा भूकम्प प्रभावितकै सहायताको लागि जम्मा भएको रकमसमेत प्रयोगमा ल्याउन नसक्दा भूकम्प प्रभावितहरु चिसो याममा त्रिपालमुनि रात कटाउन बाध्य भए ।

कोषमा जम्मा भएको रकम खर्च गर्न प्रधानमन्त्री स्वयम् गम्भीर नबन्दा रकम फ्रिज भएर बसेको कर्मचारीहरु बताउँछन् ।

प्राधिकरणका एक कर्मचारी भन्छन्, ‘प्रधानमन्त्रीले चासो दिनुभएको भए कोषमा भएको रकम भूकम्प प्रभावितका लागि खर्च हुन्थ्यो । यता त्यो रकम यतिकै जम्मा भएर बसेको छ, उता भूकम्प प्रभावितले पालमा बसिरहनुपर्‍यो ।’

भूकम्प प्रभावितको स्थायी आवासको लागि भने अर्थ मन्त्रालयले बजेट छुट्याउँछ । स्थायी आवासको लागि अर्थ मन्त्रालयसँग रकम कुरेर बसिरहेको प्राधिकरणले आफ्नै कोषमा जम्मा भएको रकम पुनर्निर्माणको लागि खर्च गर्न पाएको छैन ।

‘कोषमा भएको रकम खर्च गर्न नपाउँदा बैंकमा ब्याजको लागि राखेको जस्तो भएको छ । यता भूकम्प प्रभावित चिसोमा रात कटाइरहेका छन् । उनीहरुकै लागि भनेर जम्मा भएको रकम खर्च गर्न नपाउँदा बैंकमा ब्याजको लागि राखेको जस्तो भएको छ’, डा भट्टराईले भने ।

के के योजना भए स्वीकृत ?
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले स्वीकृत गरेको योजनामा डोटी, बझाङ र जाजरकोट केन्द्रविन्दु भएर गएका भूकम्पहरुका साथै २०८१ सालको मनसुनजन्य विपद्ले क्षति पुर्‍याएका निजी घर, सरकारी संरचना र पूर्वाधारहरुको पुनर्निर्माण कसरी गर्ने भन्नेलगायतका विषयहरु समावेश छन् ।

साथै बैठकले एक खर्ब एक अर्ब बराबरको पुनर्निर्माण तथा पुनःस्थापना योजना अघि बढाउने निर्णय गरेको छ । यसको कार्यान्वयन कसरी गर्ने भन्ने मुख्य विषय भएको प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसाल बताउँछन् ।

उनका अनुसार यो वर्षको बाढीजन्य क्षतिमात्र नभई २०७९ सालको डोटी भूकम्प र ८० सालको भूकम्पबाट क्षति भएको संरचनाहरुको पुनर्निर्माण कसरी गर्ने भन्ने कुरा अहिले एकमुस्ट खालको योजनाहरु तयार गरेर परिषद्समक्ष स्वीकृतिको लागि पेश गरिएको थियो ।

प्रत्येक क्षेत्रमा विद्यालय कति बनाउनुपर्ने, सडक कति बनाउनुपर्ने, पुल कहाँ कहाँ बनाउनुपर्ने, स्वास्थ्य संस्था कति बनाउनुपर्ने हो, बनाउने कसले हो, पैसा कसरी दिनेलगायतका कार्यान्वयन गर्ने मोडालिटी र फाइनासिङ मोडालिटी योजनामा समावेश छ ।

२०७९ सालमा गएको डोटी भूकम्प र त्यसपछिको पुनर्निर्माण प्रकिया माघ २ गतेदेखि नै सुरु गर्न प्राधिकरणले कसकसको घर बनाउनुपर्ने हो, लाभग्राही पहिचान गरेर पालिकामा पठाएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पनि पठाइएको प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अर्बौं रकम प्रधानमन्त्री राहत कोषमा, #भूकम्प प्रभावित पालमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Haze
6:54 am5:32 pm +0545