Techie IT
मंगलबार, वैशाख ९,२०८२

‘क्वारेन्टाइन’ मा बस्दै वृद्धाश्रमका ज्येष्ठ नागरिक


सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् । ‘कोभिड–१९’ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी भेटघाट रोकिएको र उहाँहरुलाई घरभित्रै दूरी कायम गरी बस्न भनिएको कार्यालयले जनाएको छ ।

कर्मचारी दैनिक घर जाने र आउने गर्दा यहाँ भित्रका ज्येष्ठ नागरिकमा पनि रोग फैलनसक्ने भन्दै कार्यरत धेरै कर्मचारी यहीँ बस्न थालिएको प्रमुख देवी चालिसेले बताउनुभयो । चैत महिनाको शुरुदेखि नै नेपाली र विदेशी आगन्तुक दुवैलाई भित्र आउन नदिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु भित्र नै सुरक्षित बसिरहनु भएको छ, बाहिरी भेटघाट गर्नुभएको छैन ।” वृद्धाश्रमभित्र पहिलेदेखि सामाजिक दूरीमा खाटहरु रहेका छन् ।

जाडो भएकाले अघिल्लो महिनासम्म घाम ताप्न परिसरमा निस्कने भए पनि अहिले ज्येष्ठ नागरिक घरभित्रै बस्ने गरेका छन् । कुनै काम परेर बाहिर निस्कँदा पनि सकेसम्म दूरीमै रहन भनिएको प्रमुख चालिसेले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु पनि सजग भएर मानिरहनुभएको छ ।” अहिलेसम्म कसैमा पनि रोगको सङ्क्रमण नदेखिए पनि कुनै लक्षण देखिएमा छुट्टै राख्नका लागि तीन वटा बेड रहेको उहाँले बताउनुभयो ।

यहाँ रहेका ज्येष्ठ नागरिकलाई कार्यालयले हात धुनका लागि साबुनपानी, ह्याण्ड वास, सेनेटाइजर, मास्कलगायतका सामग्री उपलब्ध गराएको छ । उहाँहरुलाई कोभिड–१९ भनेको के हो र कसरी यसबाट बच्न सकिन्छ भनी सजग गराइएको कार्यालयले जनाएको छ । शुरुमा यसबारे जानकारी दिँदा ‘हामी मर्ने उमेरका मान्छेलाई के चिन्ता’ भन्ने गर्नुभएको उहाँले बताउनुभयो । अहिले बुबाआमा आफैँ दैनिक रेडियो सुन्ने र टेलिभिजन हेरेर रोगबारे धेरै कुरा बुझ्न थाल्नुभएको छ ।

उहाँले भन्नुभयो, “उहाँहरु बुझेरै यसो गर्नुपर्छ त्यसो गर्नु हुँदैन भन्ने हुनुभएको छ ।” यो वृद्धाश्रम नेपाल सरकारद्वारा सञ्चालित देशको एक मात्रै वृद्धाश्रम हो । यहाँ २५ जना कर्मचारी कार्यरत रहेकामा हाल १७ जना यहीँ बस्दै आएका छन् । पहिले यहाँ कार्यरत अधिकांश कर्मचारी राति घर गएर बिहान आउने गरेको प्रमुख चालिसेले बताउनुभयो । सामान्य अवस्थामा रातको समयमा नर्स, सुरक्षाकर्मी र सुसारे एकएक जना मात्रै रातमा बस्ने गर्दथे । कर्मचारी बाहिर–भित्र गर्दा रोगको सङ्क्रमण पनि सँगै आउनसक्छ भनी उहाँहरु पनि यहीँ बस्ने गर्नुभएको हो । यहाँ दैनिक आवश्यक कर्मचारी मात्रै यहाँ बस्ने गरेका हुन् । उहाँले भन्नुभयो, “त्योभन्दा बढी मानिस बस्नका लागि यहाँ स्थान पनि पुग्दैन ।”

कुनै पनि काम परेर कर्मचारी घर बाहिर जाँदा पनि आवश्यक सावधानी अपनाउने र आएपछि पनि सरसफाइपछि मात्रै भित्र प्रवेश गरिरहेको उहाँले बताउनुभयो । दैनिक आउने तरकारी, दूधलगायतका खाद्यन्नलाई पनि सुरक्षित गरेर मात्रै भित्र प्रवेश गराइन्छ । बृद्धाश्रममा अहिलेसम्म आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव नभएको प्रमुख चालिसेले बताउनुभयो । आवश्यक पर्दा मन्त्रालयसँगको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको हो । आमनागरिकललाई रासनमा समस्या आइरहँदा पनि बृद्धाश्रम भित्र भने यस्तो समस्या छैन । सरकारी खरिद नियमानुसार एक वर्षका लागि खरिद गर्ने गरी सम्झौता भएकाले त्यसको समस्या नआएको हो । आपूर्तिकर्ताले यहाँ आवश्यक खाद्यन्न आपूर्ति गरिरहेको प्रमुख चालिसेले बताउनुभयो ।

वृद्धाश्रमले सरकारले तोकेका खानेकुरा आपूर्तिकर्ताले ल्याउने गरेका हुन् । सरकारले नतोके पनि ज्येष्ठ नागरिकले चियासँग बिस्कुट खाने गरेका थिए । अहिले बाहिरबाट आगन्तुक नआउँदा बिस्कुट आउन छाडेको छ । अहिलेसम्म पहिलेको स्टक बाँकी भए पनि अब त्यो सकिन लागेको छ ।

उहाँले भन्नुभयो, “तत्काल दाताबाट नआउने भएकाले त्यसबारे हामी मन्त्रालयसँग कुराकानी गर्नेछौँ ।” वृद्धाश्रममा रहेको स्वास्थ्य विभागले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ । त्यसबाहेकका उपचारका लागि उहाँहरुलाई सम्बन्धित अस्पतालमा लगिन्छ । कोभिड–१९ को सङ्क्रमण कुनै व्यक्तिमा देखिएमा तत्काल तोकिएको अस्पताल लगिने उहाँले बताउनुभयो । यहाँ रहेको सवारीसाधन तयारी अवस्थामा राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #वृद्धाश्रमका ज्येष्ठ नागरिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545