Techie IT
शनिबार, वैशाख ६,२०८२

टोटनह्यामविरुद्धको खेलमा खेलाडीलाई नियन्त्रण गर्न नसकेको भन्दै सिटीमाथि कारबाही


लण्डन । आइतबार प्रिमियर लिगमा टोटनह्यामसँगको खेलमा खेलाडीहरूलाई नियन्त्रण गर्न नसकेको भन्दै फुटबल एसोसिएसन (एफए) ले म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ । सो खेलमा सिटी ३–३ गोलको बराबरी खेल्न बाध्य भएको थियो ।
इन्जुरी समयमा ज्याक ग्रिलिस गोल गर्न अघि बढिरहेका बेला रेफ्री साइमन हुपरले फ्रिकिक दिने निर्णय गरेपछि खेलाडीहरूले उनलाई घेरेर विरोध जनाएका थिए । हुपरले सुरुमा सिटीलाई ‘एडभान्टेज’ दिए पनि पछि खेललाई रोकेर फ्रिकिक दिने निर्णय गरेका थिए

सिटीले बिहीबारसम्म यसबारे जवाफ दिनुपर्नेछ । एफएले एक विज्ञप्ति जारी गर्दै साबिक विजेता टोलीले खेलाडीहरूले गलत तरिकाले व्यवहार नगरुन् भनेर सुनिश्चित गर्न नसकेको बताएको छ ।

स्ट्राइकर अर्लिङ हालान्डसहितका खेलाडीहरूले रेफ्री हुपरलाई घेरेका थिए । उनले खेलपछि पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सामाजिक सञ्जाल एक्समा सो घटनाको क्लिप सार्वजनिक गर्दै उनले आपत्तिजनक भाषाको प्रयोग गरेका थिए । एफएले यसबारे थप कारबाही नगर्ने भएकाले हालान्डले व्यक्तिगत कारबाहीको सामना भने गर्ने छैनन् ।

सिटी प्रियिमर लिगमा बराबरीमा रोकिएको लगातार तेस्रो खेल हो । यसअघि टोली लिभरपुल र चेल्सीसँग बराबरी खेल्न बाध्य बनेको थियो । सिटी अहिले तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको आर्सनलभन्दा टोली ३ अङ्कले पछि परेको छ ।


क्याटेगोरी : समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545