Techie IT
शुक्रबार, वैशाख ५,२०८२

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा


नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् ।

यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए ।

 

उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए ।

शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए। निर्माणाधीन पुलमध्ये आठवटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । “अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ”, इन्जिनियर दराईले भने, “कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ ।”

 

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुईन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो । आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ ।

“सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, “बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ ।”


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545