Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सीमा क्षेत्रका बासिन्दामाथि फेरि धोका : बोर्डर पास लिएर जाँदा पनि नाका खुलेन


गोरखा : द्विपक्षीय वार्तामा चार वर्षदेखि बन्द रहेको रुइला र ङुइला नाका सेप्टेम्बर १२ बाट खुल्ने हुँदा नागरिकता लिएर आएमा प्रवेश गर्न दिने चिनियाँ पक्षले गोरखाको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी गरायो। सो सूचनाअनुसार चुमनुब्री गाउँपालिका २ स्योका २७ जना तिब्बती बजार जान भनेर एकदिनभर पैदल हिँडेर आधा बाटोसम्म पुगे। तर चिनियाँ पक्षले बोर्डर पास पनि लिएर आउन दोस्रो सूचना जारी गर्‍यो। साम्दोमा दुई दिनसम्म बसेर स्योका बासिन्दा फर्किए।

सो गाउँपालिकाका जनप्रतिनिधिहरु निरन्तर खटेर एकमहिनापछि बोर्डर पासको व्यवस्था गरे। बोर्डर पास र नागरिकता लिएर चुमनुब्री ७ छेकम्पारका बासिन्दा ङुइला नाका हुँदै तिब्बती बजार जान भनी हिँडे। तर यसपटक पनि चिनियाँ पक्षले उनीहरुलाई सीमा नाकाबाट फर्काइदिएको छ।

सीमा प्रशासन कार्यालय सिर्दिबासबाट बोर्डर पास प्रमाणपत्र र नागरिकता लिएर ङुइला नाका पुगेका चुमनुब्री ७ छेकमका छिरिङ पाल्जोर लामा र साङ्बो लामालाई सीमा नाकामा ड्युटीमा रहेका चिनियाँ सशस्त्र प्रहरीले फर्काइदिएको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए।

चिनियाँ अधिकारीहरुले नाका खुलेकाले बोर्डर पास र नागरिकता लिएर आउन लिखित, मौखिक सूचना गरेपछि गृहमन्त्रालयको अनुमति अनुसार जिल्ला प्रशासन कार्यालय गोरखा तथा सीमा प्रशासन कार्यालय सिर्दिबासले गत असोजको १६ गतेदेखि बोर्डर पास वितरण गर्न सुरु गरेको थियो। ‘बोर्डर पास नबनाउञ्जेलचाहिँ उताको स्याङ गाउँपालिका र प्रहरीले दुईदिन, तीन दिन बिराएर बोर्डर पास बनायौ ? भनेर फोन गरेर सोधिरहन्थे। तर अहिले बोर्डर पास बनाएर जाँदाचाहिँ हामीलाई नाका खुलेको कुनै जानकारी छैन भनेर त्यहाँको सशस्त्र प्रहरीले फर्काइदिएछ’, वडाअध्यक्ष लामाले भने, ‘उताबाट छिटो बोर्डर पास बनाएर आऊ भनेका बेला नेपाल सरकारले पनि बोर्डर पास बनाउन ढिला गरेको हो। तर बल्लतल्ल पास बनाएर जाँदा जान दिएन। हामीलाई त बिरालाले मुसा खेलाए झैँ गरे।’ आफूले फोन गरेर सोध्दा अब अर्को खबर गरेपछि मात्र आऊ भनेर जवाफ दिएका उनले बताए।

उता चुमनुब्री १ सामागाउँ, साम्दो नजिकको रुइला नाका पनि ठप्पै छ। रुइला नाकाका चिनियाँ अधिकारी भने सम्पर्कमै नआएका वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताए। ‘बोर्डर पास बनाइसकेर अब आउछौँ है भनेर सम्पर्क गर्न खोज्दा चिनियाँ अधिकारीले फोन रिसिभ गरेनन्। म्यासेज पठाउँदा पनि त्यसको जवाफ आउँदैन। हामी त हैरान भयौँ’, वडाअध्यक्ष लामाले भने, ‘उताबाट आऊ भनेका बेला बोर्डर पास बनाउन सकिएन। अहिले पास बनाएर जाँदा उताबाट बन्द ग¥यो। हामी कहिले नेपाल सरकारको तर्फबाट, कहिले चिनियाँ सरकारको तर्फबाट चेपुवामा पर्‍यौँ।’ अब हिउँ पर्ने सिजन सुरु भएकाले बैशाखअघि नाका खुले पनि आवतजावत गर्न नसक्ने उनले बताए।

धेरै दौडधुप गरेर बोर्डरपास बनाए पनि अहिले चिनियाँ पक्षले नाकाबाट आवतजावत गर्न नदिएको भन्दै वडा नं. २ का वडाअध्यक्ष मिङ्ग्युर दोर्जे लामाले गुनासो गरे। ‘कहिले जिल्ला प्रशासन कार्यालय, कहिले गृहमन्त्रालय धाउँदा धाउँदा बल्ल बोर्डर पास बनाउन पाएका थियौँ। यत्रो दुख गरियो तर अहिले बोर्डर पार गर्न पाइएन’, उनले गुनासो गरे।

उताबाट बारम्बार ताकेता गरेकाले हतार हतार गरेर बोर्डर पास बनाए पनि पछिल्लो पटक नाकाबन्दी नखोजेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। ‘पहिले सेप्टेम्बर १२ तारिखबाट नाका खुलेको छ। छिटो बोर्डर पास र नागरिकता लिएर आउनू भन्यो। हामीले बोर्डरपास ३८४ जनालाई बोर्डर पास बाँड्यौँ, तर अहिले फेरि नाकाबन्दी खुलाएन’, उनले भने, ‘अब फेरि चिनियाँ दूताबासबाट कुटनीतिक पहल गर्नुपर्ने भएको छ।’ हिउँ पर्ने सिजन लागिसकेकाले अब अर्को सिजनमा मात्र खुल्न सक्ने उनले बताए


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545