Techie IT
आईतबार, वैशाख ७,२०८२

गैरआवासीय नेपाली संघमा शर्मा, श्रेष्ठ, केसी, थापा र अधिकारीसहित पाँच अध्यक्षका उम्मेदवार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १७ देखि २० सम्म तय भएको निर्वाचनका लागि ४२२७ मतदाता कायम गरिएको छ । एनआरएनए निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले सचिवालयले उपलब्ध गराएको विवरणका आधारमा अन्तिम सूची सार्वजनिक गरिएको बताए । निर्वाचन समितिले असोज १४ गते नै मतदाता (डेलिगेट्स) को अन्तिम सूची प्रकाशित गर्नुपर्ने भएपनि थप छानबिन गर्नुपरेको भन्दै समय लिएर मंगलबारमात्रै प्रकाशित गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाताको प्रारम्भिक सूचीमा ४१९२ जनाको नाम समावेश गरेकामा अन्तिम नामावली सार्वजनिक गर्दा केही छुटेका संख्यासमेत थपेर प्रकाशित गरिएको छ । एनआरएनएको कार्यबाहक अध्यक्ष बद्री केसीको प्रत्यक्ष हस्तक्षेपका कारण असोज १४ गते नै मतदाता ९डेलिगेट्स० को अन्तिम सूची प्रकाशित गर्न ढिलाई गरि केही आफू निकटका ब्यक्तिलाई थपेर प्रकाशित गरिएको छ ।

निर्वाचनका लागि हालसम्म पाँच जनाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उपाध्यक्षद्वय आरके शर्मा, महेश श्रेष्ठ , अध्यक्ष बद्री केसी, अध्यक्ष रविना थापा र उपमहासचिव विनय अधिकारीले उम्मेदवारी घोषणा गरिसकेका छन । उपाध्यक्ष आरके शर्माले कर्मभूमि कतारको रेडिसन ब्ल्यूबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन भने डा केसीले अनलाइन जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका छन । उम्मेदवारी दिएका उम्मेदवारहरुले आ–आफ्नो टिम बनाएर अगाडी बढिरहेका छन् ।
यस्तै उपाध्यक्ष महेश श्रेष्ठले ललितपुरको होटल हिमालयबाट उम्मेदवारी घोषणा गर्दा रविना थापाले पनि काठमाडौँको होटल रेडिसनबाट औपचारिक समारोहमार्फत उम्मेदवारी घोषणा गरेकी हुन । यस्तै अधिकारीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार गरिरहेका छन ।
यससँगै एनआरएनएको ११ औँ  विश्वसम्मेलन आउन अब दुई सातामात्रै बाँकी रहँदा चुनावी माहोल ह्यात्तै बढेको छ । उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन जोडतोडका साथ जुटिरहेका छन । यद्यपि निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । आरके,श्रेष्ठ र केसीलाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ ।

निर्वाचनका लागि यसपटक उम्मेदवारी मनोनयन विद्युतीय माध्यमबाट नै पेश गर्न सकिने व्यवस्था समेत गरिएको छ । विगतमा काठमाडौँमै भेला भएर उम्मेदवारी दिने प्रचलन रहेको थियो । विद्युतीय माध्यमबाट मनोनयन पेश गर्नेको हकमा प्रस्तावक र समर्थकसहित अनिवार्यरुपमा उपस्थित भइ सनाखत गराउनुपर्नेछ । भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ । भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ । मनोनयन दर्तापछि असोज २९ गते उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ । सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोधको समय दिइएको छ भने त्यसपछि असोज ३० मा मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ ।

त्यसपछि असोज ३० मै उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिनेछ भने सोही दिन मनोनयनपत्र फिर्ताको समय पनि दिइनेछ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदानको प्रक्रिया सुरु गरिनेछ । जसअनुसार विद्युतीय माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई नामावली उपलब्ध गराएर त्यसको भोलिपल्ट अर्थात कात्तिक १ गते डेमो निर्वाचन पनि गराइनेछ । त्यसपछि कात्तिक २ मा औपचारिक रुपमा मतदान हुनेछ । भौतिकरुपमा उपस्थित हुनेका लागि होटल सोल्टीमा आवश्यक व्यवस्था मिलाइएको संघले जनाएको छ । मतगणना र घोषणापनि होटल सोल्टीमै हुनेछ ।

संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ । यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ । यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ । सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत ढुंगानाले बताए ।

निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए । उनका अनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् । यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ ।

यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गैरआवासीय नेपाली संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545