Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमणको टोली तय, भदौ ३० देखि असोज ४ सम्म भ्रमण


काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा जाने टोली तय भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी गराएका हुन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्डसहितको प्रतिनिधिमण्डल भदौ ३० मा प्रस्थान गर्नेछ ।
मन्त्री साउदका अनुसार प्रधानमन्त्री भदौ ३० देखि असोज ४ ९तदनुसार १६ देखि २१ सेप्टेम्बर २०२३० सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने कार्यक्रम रहेको छ । भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल छन् ।

नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीहरू लगायत नेपालबाट मिडिया प्रतिनिधिहरु समेत रहने उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८ औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने मन्त्री साउदले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड असोज ४ गते चीनतर्फ लाग्ने कार्यक्रम छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा दूरगामी महत्व राख्ने दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीलगायतका सवालमा सम्बोधन गर्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई संयुक्त राष्ट्रसङ्घका महासचिवबाट निमन्त्रणा भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल प्रधानमन्त्री दाहालको नेतृत्वमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिवलगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी रहनेछन ।
प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारीलगायत प्रतिनिधि रहनेछन् । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८आँै उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख वा उच्च राजनीतिक सहभागिता हुने राष्ट्रसङ्घीय उक्त मञ्चमा नेपाल सरकारको विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौती प्रस्तुत गर्ने अवसरसमेत प्राप्त हुनेछ । प्रधानमन्त्री दाहालले विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रि भोजमा सरिक हुने कार्यक्रम छ ।
प्राथमिकताका आधारमा कार्यसूची तयार हुँदै

परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न विदेश भ्रमणका कार्यसूचीहरु प्राथमिकताका आधारमा तयार भइरहेको बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै उनले सबै मन्त्रालयबाट सुझाव आउनेक्रम जारी रहेको र प्राथमिकताका आधारमा कार्यसूची तयार भइरहेको बताए ।
“चीन भ्रमणका विषयमा सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरिएको छ, दुईपक्षीय र बहुपक्षीय छलफल भइहरेको छ”, मन्त्री साउदले भने, “के–के विषय कार्यसूचीमा रहने र कुन–कुन विषयमा सम्झौता गर्ने भन्ने विषयमा अन्तिम भएको छैन, तयारी हुँदैछ ।” भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्रमन्त्रीसँग भेट गरी थप छलपल गर्ने तयारी रहेकोसमेत समितिलाई जानकारी गराए । समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मित्रराष्ट्रसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यलाई पनि विदेश भ्रमणमा प्रतिनिधित्व गराउनुपर्ने बताए ।

समितिका सदस्यहरु डा धवलशम्शेर जबरा, महन्थ ठाकुर, शिशिर खनाल, प्रभु शाह, वर्षमान पुन, प्रेम सुवाल, एकनाथ ढकाल, सुनिता बराल, छिरिङ यामु लामाले प्रधामन्त्रीको आगामी विदेश भ्रमण र नेपालको कालापानी, लिम्पियाधुरा र कालापानीसहितको राजनीतिक तथा प्रशासनिक नक्सा छिमेकी राष्ट्रमा पुगेको वा नपुगेकाबारेमा जिज्ञासा राखेको थियो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन यही भदौ ३० गतेदेखि असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ भने उतैबाट चीन जाने कार्यक्रम तय भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545