Techie IT
आईतबार, वैशाख ७,२०८२

होलीको नाममा जथाभावी नगर्न प्रहरीको आग्रह, शंका लागे १०० मा सम्पर्क गर्न अनुरोध


चितवन । होली पर्वको नाममा कुनै पनि उच्छृंखल क्रियाकलाप नगर्न आमनागरिकलाई प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अपरिचित मानिसहरुको समूहमा होली नखेल्न र उच्छृंखल गतिविधि नगर्न सार्वजनिक अनुरोध गरेको हो ।

सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले होली मनाउन सुझाउँदै प्रहरीले आत्मीयरुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र खेल्न भनेको छ । कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नछ्याप्न पनि चितवन प्रहरीको आग्रह छ ।

त्यस्तै, महंगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजान सम्पूर्णलाई सुझाव दिएको प्रहरीले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन नचलाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, बार नभएको छत तथा सडकमा होली नखेल्न पनि सुझाएको छ । भीडभाड हुने स्थानमा नजान आग्रह गर्दै प्रहरीले भनेको छ, ‘भीडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा चोरीजस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुँदा सावधान रहनुहोला, प्रहरीद्वारा जारी सूचनामा भनिएको छ ।’

नियमविपरीत कार्य गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिँदै चितवन प्रहरीले शंका लागेमा तुरुन्त प्रहरीको पैसा नलाग्ने नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय चितवनको ९८५५०९०१३३ मा सम्पर्क गर्न भनेको छ । आउँदो सोमबार पहाडी जिल्लामा र मंगलबार तराईमा होली मनाइँदै छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545